कम्युनिष्ट हारे राजतन्त्र फर्कने खतरा ः अधिकारी, पैसाको बलमा चुनाव जित्ने कांग्रेसको सपना पूरा हुन दिन्नौं ः करण

पोखरा, २० कात्तिक

 

 

कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार तथा एमालेका युवा नेता रविन्द्र अधिकारीले अबको चुनावमा कम्युनिष्टले हारे देशमा राजतन्त्र फर्कने खतरा रहेको बताएका छन् । कास्की २ को प्रदेश नम्बर २ मा बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले मंसीर १० र २१ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको चुनावमा बाम गठबन्धनले हारे देशमा कांग्रेसले संवैधानिक राजतन्त्र फर्कने खतरा रहेको बताएका हुन् । यस पटकको चुनावमा बाम गठबन्धनले जित्नैपर्ने बताउँदै उनले भने,‘यो चुनावमा बाम गठबन्धनले हा¥यो भने संवैधानिक राजतन्त्र फर्कने खतरा छ, धार्मिक शासन फर्कने खतरा छ, अर्थात प्रतिगमन फर्कने खतरा छ, त्यसैले बाम गठबन्धनले जित्नै पर्छ ।’

 

अधिकारीले बुर्जुवा कांग्रेसले भनेको मानवअधिकार र कम्युनिष्टले भनेको मानवअधिकारमा आकाश जमिनको फरक रहेको भन्दै अधिकारीले भने,‘कांग्रेसले भनेको मानव अधिकारमा धनीले धन जोडी राख्ने तर गरीबले खान नपाउने हुन्छ, कम्युनिष्टले भनेको मानव अधिकारमा समान तरिकाले खाने, बस्ने, हिंडडुल गर्ने, अनि योग्यता अनुसारको काम पाउँछ, काम अनुसारको दाम पाउँछ ।’

 

सामाजिक न्यायसहितको समाजवादमा बाम गठबन्धन जान खोजेको स्पष्ट पार्दै उनले बाम गठबन्धनले बहुमत ल्याएर सरकार बनाएमा अबको ५ वर्षमा देशमा कायापलट हुने दाबी गरे । जनताले भोट हालेर बाम गठबन्धनलाई जिताएमा विगतको २५–३० वर्षमा हुन नसकेको विकास ५ वर्षमै गर्ने उनको दाबी थियो । स्थिरता ल्याएर समृद्धी र विकासमा फड्को मार्न बाम गठबन्धन भएको बताउँदै उनले भने,‘जबसम्म स्थिरता आउँदैन, तबसम्म समृद्धी आउँदैन, विकास आउँदैन अनि समाजवाद आउँदैन, त्यसैले स्थिरता हुँदै समृद्धी, विकास र समाजवादसम्म पुग्नको लागि बाम गठबन्धन गरेका हौं ।’

 

अधिकारीले आफ्ना प्रतिष्पर्धा कांग्रेस उम्मेद्वार देवराज चालिसेले २ पटक भन्दा धेरैपटक उठ्न नमिल्ने तर्क गरेकोप्रति कटाक्ष गर्दै जवाफ फर्काएका छन् । राम्रो गर्नेलाई जनताले पटक÷पटक निर्वाचित गर्ने तर काम गर्न नसक्ने गफ मात्र गर्नेलाई जनताले एकपटक पनि नजिताउने भन्दै उनले भने,‘मलाई देवराजले जिताका हुन् र ? मलाई उनले भोट दिएका हुन् र ? जनताले जिताका हुन्, फेरी पनि जिताउँछन्, गर्न नसक्नेलाई जनताले एकपटक पनि मत दिदैनन्, तर गर्न सक्नेलाई पटक÷पटक जिताउँछन् ।’

 

कास्कीमा विकास नआएको भन्दै चालिसेले भाषण गरेको सुनेको भन्दै अधिकारीले आफूहरु झुट बजेटको पक्षमा नभएको बताए । आफू निर्वाचित भएपश्चात कास्कीमा पहिलेको भन्दा तीन गुणा बजेट बढेको दाबी गर्दै त्यसले शिक्षा, स्वास्थ्य र रोजगारीमा बृद्धि ल्याई आर्थिक बृद्धिदर पनि ४ प्रतिशत बढेको दाबी गरे । तर कांग्रेसले जस्तो झुट बजेट एउटैमा खन्याउन आफूहरु तयार नभएको र त्यसले सामाजिक न्याय नगर्ने उनले तर्क गरे । समान न्यायको आधारमा अब पोखराको मूख्य क्षेत्र भन्दा ग्रामिण क्षेत्रको विकासमा अब आफूहरु लाग्ने उनले बताए ।

 

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ करणले पैसाको बलमा कांग्रेसले चुनाव जित्ने सपना देखेको आरोप लगाउँदै उक्त सपना कहिल्यै पूरा नहुने ठोकुवा गरे । उनले भने,‘कांग्रेसले पैसाको बलमा चुनाव जित्ने सपना देख्दैछ, पैसाको बलमा चुनाव जित्ने सपना पुसको महिनामा सुतेको मान्छेलाई चिसो पानी खन्याएजस्तो मात्र हो, त्यो कहिल्यै पूरा हुन सक्दैन ।’

 

उम्मेद्वार करणले कसैको नीजि सम्पति खोस्नको लागि नभई समानताको लागि समाजवाद ल्याउन खोजेको स्पष्ट पारे । उनले भने,‘समाजवाद भनेको समानता हो, विभेदको अन्त्य हो, समृद्धी प्राप्ती हो, कसैको नीजि सम्पती खोस्नको लागि हैन ।’ त्यो समाजवाद प्राप्ती स्थिर सरकार चाहिने भएकाले बाम गठबन्धनलाई दुई तिहाई मतले जिताउनुपर्ने उनले बताए । उनले नेपालको संविधानमा लेखिए अनुसारकै समाजवादमा बाम गठबन्धन जान खोजेको बताउँदै उनले कांग्रेसले समाजवाद र साम्यवादलाई भ्रष्टीकरण गरेर बदनाम गर्न खोजेको आरोप लगाए ।

 

करणले कास्की २ को प्रदेश क्षेत्र नम्बर २ खास र कोर ठाउँ भएकाले यसलाई कोरलाबाट पोखरा, केरुङबाट पोखरा, सुनौलीबाट पोखरा सिधै आउने द्रुत मार्ग निर्माण गर्ने आफूहरुको लक्ष्यरहेको बताए । पोखरामा भएका तालहरु, गुफाहरु, हिमाललगायतलाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरेर त्यसको समुचित विकास गर्दै पर्यटन व्यवसायमा छलाङ मार्न सकिने बताए । उनले पोखराका हरेक घरमा पानीको ट्रयाङकर र दमकल पुग्न सक्नेगरी पोखरा सहरलाई ब्यबस्थित गरिनुपर्ने र त्यसका लागि आफूले योजना बनाइरहेको बताए ।

 

कास्की २ को प्रदेश नम्बर १ का उम्मेद्वार कृष्ण थापाले कांग्रेसले लोकतन्त्रलाई पैसामा विक्री गरिरहेको आरोप लगाए । चुनावका लागि दिइएको टिकट पैसामा किनबेच भएको स्वयम् कांग्रेसकै नेता÷कार्यकर्ताले भनेको बताउँदै यसले प्रजातन्त्रको मूल्य र मान्यताको खिल्ली उडाएको बताए । उनले कांग्रेस विकास विरोधी भएकोसमेत आरोप लगाए । आफूले न्यूरोडको बाटो चक्ल्याउन खोज्दा किन चक्लाउने ? भन्दै भाँजो हालेको स्मरण गर्दै कांग्रेसले कहिल्यै विकासको नेतृत्व लिनै नसक्ने जिकिर गरे ।

 

उनले सबैलाई आवास उपलब्ध गराएर कास्कीलाई सुकुम्बासीमुक्त क्षेत्र बनाउने उद्घोषसमेत गरे । थापाले अर्मलामा गुरुङ संग्रहालय, बाटुलेचौर गुफा क्षेत्र र वन क्षेत्रलाई चिडियाघर क्षेत्र बनाउने, कालीखोला र सेती नदीमा चक्रपथ बनाएर पर्यटन प्रवद्र्धन गर्दै आम्दानीको श्रोत बढाउने बताए ।

 

बाम गठबन्धनका तर्फबाट समानुपातिक उम्मेद्वार तथा नेकपा एमालेका निर्वाचन कमिटीका केन्द्रीय अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ले बाम गठबन्धन गरेकोमा चित्त नबुझेकाहरुलाई सानो चित्तनबनाउन आग्रह गरे । उनले अहिले जनवादको कुरा गर्ने समय नभएकाले केन्द्रीयता लागू गर्न कार्यकर्तालाई निर्देशन दिदै बाम गठबन्धनको पक्षमा मतदान गरेर बिजयी गराउन अपिल गरे ।

 

यसैबीच, कास्की २ को प्रदेश नम्बर २ को बाम गठबन्धनको सोमबार भएको भेलाले एमालेका दानबहादुर बानिया संयोजक र माओवादी केन्द्रका नवीन अधिकारी सहसंयोजक रहेको कास्की २ को प्रदेश नम्बर २ निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सो निर्वाचन परिचालन कमिटीमा सो क्षेत्रमा रहेका दुवै पार्टीका केन्द्रीय सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका वडाध्यक्ष तथा सदस्यहरु रहने जनाइएको छ ।

 

त्यस्तै, माओवादी केन्द्रका बिपीन आचार्यको संयोजकत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । सो समितिका दुवै पार्टीका जिल्ला कमिटीका सदस्यहरु, पार्टीका वडाध्यक्ष तथा सदस्यहरु रहेको जनाइएको छ ।

Comments are closed.