करौडौंको सम्पत्ति झण्डै झ्वाम

मृत्यु भईसकेकी हर्षकुमारी भन्दै नामसारी गर्न खोज्दा फन्दामा


kirte-aamachhoraऋषिकान्त पौडेल/ पोखरा १९ चैत्र ।
प्रहरी अधिकारीहरु भन्ने गर्छन्, जस्तोसुकै अपराध गर्ने अपराधि पनि कहिँ न कहिँ चुकेको हुन्छ । प्रहरीको यो भनाईलाई सत्य सावित गर्दै ठगी धन्दाको एउटा गिरोहले अपराध कर्म गर्ने क्रममा चुक्न पुग्दा पोखराका एक व्यक्तिको करोडौं रुपैयाँ पर्ने सम्पत्ति ठगी हुनबाट अन्तिम अवस्थामा जोगिएको छ । सम्पूर्ण कागजपत्रहरु किर्ते गरी अर्कैको जग्गा नामसारी गर्न ठिक्क परेका बेला मालपोत कार्यालय कास्कीका अधिकारीको शंकाको घेरामा पर्दा उक्त गिरोह प्रहरीको फन्दामा त प¥यो नै जग्गाका असली धनीको कम्तिमा ३० करोड पर्ने पुख्र्यौली सम्पत्ति समेत जोगियो ।
बुधबार रामेछाप स्थायी घर भएकी ७० वर्षिया गंगामाया कार्कीलाई दुई वर्षअघि नै मृत्यु भएका पोखरा–४, गणेशटोलका कृतिकुमार बाटाजुकी नक्कली श्रीमती हो भन्दै ठगी गिरोहले उनको नाममा पोखरा–१७ मा रहेको ६ रोपनीभन्दा बढी जग्गा नामसारी गर्न खोजेको थियो । गिरोहमा कार्कीका छोरा सूर्य भनिने टेकबहादुर कार्कीसहित अन्य पाँचजना रहेको प्रहरीले बताएको छ । जसमध्ये कार्की र अन्य दुई महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य तीन जना फरार रहेका छन् । तीमध्ये दुईजना पोखरा र काठमाडौंमा घरजग्गाको दलाली काम गर्दै आएका व्यक्ति भएको पनि बताईएको छ । उनीहरुको नाम र ठेगाना भने प्रहरीले अनुसन्धानका लागि भन्दै गोप्य राखेको छ ।
बाटाजुको विरौटामा रहेको कित्ता नम्बर ३२९४, ३२९६, ३३०५, ३३०७ को जग्गामा कुदृष्टि लगाउने योजना उनीहरुले पहिल्यै बनाएको हुनसक्ने अनुमान गरिएपनि गत १३ गते औपचारीक रुपमा आपसी छलफल गरेका थिए । पोखराका एक जना दलाल र काठमाडौंका अर्का एक दलालबीच जग्गा ठग्ने योजना भएपश्चात् काठमाडौंमा भेटेर थप सल्लाह गरेका थिए । त्यसपछिको तीनदिनसम्म नक्कली नागरीकता, नाता प्रमाणित, नगरपालिकाको किटानी सिफारीसपत्र लगायतका कागजहरु लेकसाईडको एक होटलमा बसी तयार पारेका थिए ।
सबै किर्ते कागजपत्र तयार पारिसकेपछि बुधबार मालपोत कार्यालय कास्कीमा बाटाजुकी मृत्यु भईसकेकी श्रीमती हर्ष कुमारी बाटाजुको नाममा जग्गा नामसारी गर्न गिरोह कार्यालय पुगेका थिए । मोठ, दर्ता भिडाउने सबै काम सकेर मालपोत अधिकृतको तोक सिफारीस लिने क्रममा उनीहरु फन्दामा परेका थिए । “सबै कागजपत्र हेरेर सिफारीस गर्ने क्रममा नगरपालिकाको सिफारीस पत्रमा शंका लाग्यो । जहाँ केहिदिन अघि सरुवा भएर गएका कार्यकारी अधिकृत महेश बरालको १८ गते गरेको हस्ताक्षर थियो ।” मालपोत अधिकृत केशवराज आचार्यले भने, “श्रावण महिनादेखि सुरु हुने आर्थिक बर्षको नौ महिनामा पत्रको चलानी नम्बर जम्मा एक सय ५४ मात्रै थियो जसले नक्कली हो भन्ने पुष्टी नै भयो र प्रहरीमा तत्काल खबर गरेँ ।”
नगरपालिकाका पछिल्ला लेटरप्याड लगायतसँग गिरोहले संलग्न गरेका कागज भिडाउँदा दुरुस्त नभेटेपछि सबै प्रक्रिया रोकिएको थियो । “जग्गा नामसारी गर्नका लागि आवश्यक सबै कागजपत्र थिए, चलानी नम्बर र कार्यकारी अधिकृतको सहि ख्याल नगरेका भए ठगहरु सफल समेत हुनसक्थे ।” अधिकृत आचार्यको भनाई थियो ।
गिरोहमा रहेका व्यक्तिमध्ये केहि ट्रेकिङ गाईड रहेका प्रहरीले जनाएको छ । मालपोत अधिकृतको शङकामा पर्नासाथ त्यहाँबाट उम्कीएका उनीहरुमध्ये गंगामायालाई काठमाडौं जाने सुरसार गरिरहेका बेला प्रहरीले लेकसाईडबाट पक्राउ गरेको थियो । पछि उनकै सूचनाका आधारमा टेकबहादुर र अन्य एक समातिए पनि तीनजना फरार भएको प्रहरी निरीक्षक देवी पौडेलले जानकारी दिए ।
ठगी हुनबाट जोगिएको बाटाजु परिवारका अन्य जग्गा अंश मुद्धाको विवादका कारण रोक्कामा रहेको भएपनि उक्त जग्गा भने कहिँ कतै रोक्का थिएन । यो परिवारको जग्गा तथा सम्पत्तिका बारेमा नजिकबाटै नियालिरहेका कुनै व्यक्ति समेत घटनामा संग्लन रहेको अनुमान गरिएको छ ।

बर्षकै ठूलो परिमाणमा लागूऔषध बरामद

Untitled-2लागूऔषध नियन्त्रण कार्यालय पोखराले यो आर्थिक बर्षकै ठूलो परिमाणको अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराले बिहीबार १५ लाख बराबरको अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रुपन्देही सिद्धार्थ नगरपालिकाका हजरत अली मुसलमान, निजामुद्धिन अहम्मद, बृजमोहन गिरी र भारत बनारस लोटिया घर भई पोखरा १५ रामबजार बस्ने शिवकुमार बाँनिया रहेको गण्डकी अञ्चल प्रहरी कार्यालय पोखराका प्रमुख बलराम शर्मा पौडेलले जानकारी दिए । पक्राउ परेका चारै जनालाई बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनीक गरेको छ । अली मुसलमान र अहम्मद साथबाट नर्फिन ६ सय थान, डाईजापाम ५ सय ८० थान, फेनरागन ६ सय २० थान सहित लु १ च ५११७ नम्वरको अल्ट्रो नीजि कार बरामद गरेको छ ।
त्यस्तै, बानियाको साथबाट नर्फिन ६० थान, डाईजापाम ६० थान र फेनरागन २० थान बरामद भएको पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए । लागूऔषध नियन्त्रण ब्यूरो पोखराका प्रहरी निरीक्ष्क मदन कुँवरको नेतृत्वमा गएको टोलीले निजी कारमा लुकाएर ल्याउँदै गरेको १९ सय ४० थान अवैध लागूऔषध बरामद गरेको थियो । सुराकीका आधारमा पहिले बानियाँलाई पक्राउ गरिएको उसैको माध्यमबाट ठूलो परिमाणमा अवैध लागुऔषध भित्रिँदैछ भन्ने जानकारी कुँवरको टोलीले थाहा पाएको थियो । रातो जेब्रा झोलाभित्र लुकाएर काखमा राखेर ल्याउँदै गर्दा उनीहरु समातिएका थिए । बरामद गरिएको लागुऔषधको बजार मूल्य करिब १५ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । पोखरामा उनीहरुले एक सेटको २५ सय रुपैयाँ भन्दा बढीमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । उक्त परिणामको लागूऔषध करिब सात सय जना प्रयोगकर्तालाई पुग्ने अनुमान छ । पोखरामा करिब ६ हजार लागुऔषध प्रयोगकर्ता रहेको अनुमान छ ।

Comments are closed.