-पर्त्थ्याेदास प्रमिल
गरिवी
…..
एकहुल गरीबहरु
आँखा चिम्म गरेर
ओहर–दोहर गरिरहन्छन सडक पेटीमा
यिनीहरुले
संगाल्नै पाएनन्
लबेदाको फेरबाट चियाईरहेको पुसको स्पर्श
आभाबको उपियाँले टोक्दाको दुखाई
रात रातभरी शितको सिरकको न्यानो
अनुभब गर्नै पाएनन्
झुपडीबाट दरबार पसेको सपनाको मज्जा
कानको लोतिमा शितको हिरा लगाउँदाको गौरब
माटोको सुगन्धमा, आशा रोप्दाको उन्माद
कहिल्यै बुझ्नै पाएनन्
भरी पेट खाएको दिनको दुःख
जिन्दगिभर सम्मै–सम्मो हिँडिरहे
भोग्नै पाएनन् उकालो हिड्दाको थकाई
यिनीहरु
जन्मदै गरिब जन्मिए
गरिब नजन्मेको भए
बुझ्न सक्ने थिए
अलिकति भएपनि सम्पन्नताको भ्रम
र सबैभन्दा बढी आँसुको मूल्य
हो यस्तै यस्तै
एकहुल गरीबहरु
आँखा चिम्म गरेर
ओहर–दोहर गरिरहन्छन सडक पेटीमा
कसैले
किन्न खोजेको भेट्यौ भने रुमानी अनुभबहरु
मेरो ठेगानामा पठाईदिनु
मलाई भन्न मन छ
के गर्छौ,
तिमीहरु जन्मदै गरिब जन्मियौ
Comments are closed.