कविताः २०७२–१–१२

994191_434791623354208_2205405146343467068_n11024689_833247360079156_7868779522997538776_n copy

–शिव पलाँस

हेर्दादेर्दै
इतिहास गर्ल्याम्म ढलेको छ
आकासबाट
भूईमा पछारिएर अचानक
रक्ताम्य लडिरहेको छ
मेरो प्यारो धरहरा

खण्डहर रोइरहेछ
मन्दिरहरुको शहर
देवीहरु बेखवर भएका छन्
देवताहरु बेखवर भएका छन्

भूकम्पमा च्यापिएको घाईते पहाड
अभिशप्त छ
कालो आकास ओढेर उभिन
सिंहदरबार तिर फर्केर उसले
जिन्दगीको भिख मागिरहेको छ
भावशून्य सिंहदरबार
गोहीको आँशु रोइरहेको छ

बुढो बाउ
जवान छोरालाई सुताएर
आगो दन्किएको चितामाथि
फर्किरहेको छ
आफ्नै घरको भग्नावशेष तिर

सिङ्गै देश भोकहरुको शिकार भएको छ
रोगहरुको शिकार भएको छ
शोकहरुको शिकार भएको छ

सरकार यसरी अत्तालिएको छ
मानौं,
भूँईचालोले लछारेका जिन्दगीहरु
सत्ताको साँचो खोस्न लागिरहेछन्

तर, होईन
उनीहरु त केवल
एक घुट्को पानी
एक मुठ्ठी चिउरा
र, एउटा त्रिपाल मात्र मागिरहेछन् ।।

स्याङ्जा, किचनास– ९, हाल–पोखरा

Comments are closed.