शब्द -अमृत सुवेदी/तस्विर-सञ्जय शाक्य
पोखरा ९ असोज
प्रत्येक शनिबार केही न केही साहित्यिक कार्यक्रम हुने पोखरामा यो शनिबार पनि एक अलग्गै साहित्यिक कार्यक्रमले माहोल ततायो । धेरै साहित्यिक र अलि फरक खालको भव्य कार्यक्रम हुने शहरका रुपमा चिनिने पोखरामा यसपटक पनि त्यस्तै नयाँ र फरक स्वादको कार्यक्रम थियो । कार्यक्रम हो ‘कविता कन्सर्ट’ । ‘साङ्गेतिक कन्सर्ट’हरुलाई बढी देखेका पोखरेलीले ‘कविता कन्सर्ट’को कौतुहलतालाई मेट्न पाए । पोखरामै पहिलोपटक कविता र संगीतको समिश्रणमा भएको ‘कविता कन्सर्ट’मा उल्लेख्य दर्शकहरु उपस्थित थिए ।
नेपाल रिपोर्टस् डटकमको प्रस्तुति तथा सहकार्यमा भएको कार्यक्रमको मुख्य आकर्षण थिए, तिन कविका कविता र लक्ष्य ब्याण्डको संगीत । पोखराका दुई कवि ईश्वरमणी अधिकारी, सरस्वती प्रतिक्षा र चर्चित कविता ‘बिसे नगर्चीको बयान’ का कवि श्रवण मुकारुङले पोखरेली दर्शकलाई कविताको भरपुर स्वाद चखाए ।
इभेन्ट संयोजक सञ्जय मल्लले कार्यक्रमको सहजीकरण सुरु गरे अनि कार्यक्रम संयोजक उपेन्द्र पौडेलले कार्यक्रमको बारेमा जानकारी गराए पश्चात दर्शक कविता सुन्न आतुर देखेन्थे । प्रमुख व्यक्तित्वका रुपमा उपस्थित कवि तीर्थ श्रेष्ठले पोखरामा भएको यस्तो खालको कार्यक्रमले कवि र कविताको सम्मानको संस्कृति बढाउने मात्र नभई पोखराकै उचाई र व्यावसायिकतामा पनि जोड दिने बताए ।
कवि ईश्वरमणी अधिकारीले धरहरा चढ्ने सपना र भूकम्पपछिको धरहराको अवस्थाका विषयमा लेखिएको ‘धराहराको रहर’ प्रेमील कविता कार्यक्रमको सुरुमै संगीतमा वाचन गरेपछि अन्त्यसम्मै दर्शकले नयाँनयाँ कविताको फरकफरक स्वाद लिए । कवि अधिकारीले ‘धरहराको रहर’सँगै ‘बा डराएको दिन’ ‘मित्र’, ‘समयको स्केच’ लगायत दुई कविता संगीतमा र दुई कविता विना संगीतमा वाचन गरे ।
दोस्रो नम्वरमा कविता वाचनका लागि मञ्चमा उभिएकी पछिल्लो समयकी प्रखर कवि प्रतिक्षाले ‘किरिया बसेकी स्वास्नीमान्छे’ वाचन गरेपछि दर्शक दिर्घाको तालीले हल गुञ्जियो । ‘पहेँलो’, ‘तथागत मलाई उत्खनन गर’ र ‘किनारा’ लगायतका कविता वाचन गरेकी प्रतिक्षाले दर्शकदिर्घाको साथ पाइरहिन् । कार्यक्रमको नियम अनुसारनै उनले पनि लक्ष्य ब्याण्डको संगीतमा दुई कविता र बिना संगीतमा दुई कविता वाचन गरिन् । काविताका बिचबिचमा समेत लक्ष्य ब्याण्डले स्थानीय बाजाको नयाँ संगीतको स्वाद चखारहे ।
अन्तिमसम्म दर्शक दिर्घाको पर्खाईमा थिए, कवि श्रवण मुकारुङ । सर्ट, पाइन्ट र ज्याकेट लगाएर अन्तिम कविका रुपमा मञ्चमा उभिएका कवि मुकारुङले मधुरो स्वरमा कार्यक्रमलाई सम्बोधन गर्दै कविता वाचनको सुरुमै आमालाई सम्झिए । पहिलो कवितालाई नै दर्शकले रुचाए र तालीसँगै वाहवाही गरे । यससँगै ‘भानुभक्त’ ‘भूपू गोर्खाको नाममा’ र पाेखरा बाहिरका बहुचर्चित कविता ‘बिसे नगर्चीको बयान’ कविता वाचन गर्दासम्म दर्शकको हौसला र माया पाइरहे । लक्ष्य ब्याण्डको संगीतसँगै सुरु भएको कार्यक्रम व्याण्डको संगीतबाटै समापन भयो ।
मोफसलमा पहिलोपटक यस प्रकारको कार्यक्रम गरिएको भएपनि कार्यक्रम सफल भएको इभेन्ट संयोजक मल्ले बताए । ‘यो नयाँ कार्यक्रम नभएपनि फरक किसिमको इभेन्ट गर्ने एउटा प्रयास हो’ कार्यक्रम संयोजक पौडेलले भने, ‘सधैं केही न केही फरक साहित्यिक कार्यक्रम भैरहने पोखरामा यो कार्यक्रमले साहित्यप्रेमीलाई पक्कै पनि फरकपनको अनुभूती गराउन सफल भएको छ ।’
Comments are closed.