-अमृत सुवेदी‘गुराँस’
भोक,
………
भोक, मेरै घरको धुरीवाट कराउँछ
चिच्याउँछ आँटीको भकारीबाट
चिसो चुलोमा बसेर रमाउँछ,
रित्तो थाल बजाउँदै भित्र–बाहिर गर्छ
र, बिउँझाउँछ, निदाएका नानीहरुलाई !
भोक, पुरानो सन्दुकमा कब्जा जमाउँछ
अनि देखाउँछ साहूको तीन पुस्ते तस्मुक
र भन्छ,
म तेरी आमाको चाउरी परेका गालाका रेखाहरु
आँशुले बनेका धर्साहरु–
धाँजा फाटेका कुर्कुच्चाहरु
औंठा छाप लाउँदालाउँदा, खिएका औंलाहरु
सब ठिकठिक बनाउँन त नसकुँला
तर अलिकति बाँकी रगत सुकाइदिन सक्छु
तन्तनी पिइदिन सक्छु,
हुकँदै गरेका तेरा ननीहरुको तातो रगत !
भोकले अझै धम्की दिन्छ
अलिकति अरु बढाँए भने भोकको क्षेत्रफल
तेरो, घर, घर रहँदैन,
परिवार, परिवार रहँदैन
आफन्त, आफन्त रहँदैनन्
र,
भोली नरहन पनि सक्छे
आज मेरी हो भनेर गर्व गर्ने
तेरो संगिनी तेरै बहुपासमा !!
Comments are closed.