कांग्रेसले संविधान ल्याउन चाहेन भन्ने अनावश्यक भ्रम फैलाईयो –थापा

 पोखरा, बैशाख ६ गते-

कांग्रेसले संविधान ल्याउन चाहेन भन्ने अनावश्यक भ्रम फैलाईयो –थापा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद गगन थापाले प्रतिपक्षी दलहरुले संविधान निर्माणका विषयमा अनावश्यक भ्रम फैलाईरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस पोखरा नगर कार्यसमितिको आयोजनामा शनिबार पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाल् माओवादी लगायतका दलले फैलाएको भ्रम सद्भाव भड्काउन उद्धत रहेको बताए । । “एमालेसहित प्रतिपक्षीहरुले कांग्रेसले संविधान निर्माण गर्न चाहेनन् भनेर जुन किसिमको भ्रम बाहिर फिँजाउन खोजिएको छ यसले आपसमा मिलेर रहेका समुदायबीचमै सद्भाव बिगार्नुबाहेक केही हुँदैन ।” थापाको आक्रोश थियो ।

संविधानमा के लेख्ने भन्ने बिषयमा सबैदलहरु एकै ठाउँमा आईपुगेपनि बाँकी रहेका विषयलाई कसरी टुङग्याउने भन्ने सवालमा कुनै कुरा हुन नसकेको थापाले जानकारी दिए ।

“सहमती हुन नसकेका विषयबारे संविधानसभामा कुनै कुरा उठ्दैन तर बाहिर भने यो भएन, उ भएन भनेर माओवादी लगायतले समुदायलाई उत्तेजक बनाउने काम भैरहेको छ ।” अहिले दलहरुबीच देखिएका सबै विवादलाई काँग्रेसले नै निस्तेज पार्ने दावी गर्दै थापाले यसको प्रमुख दायीत्व पनि कांग्रेसमै रहेको प्रस्ट पारे । विभिन्न राजनीतिक अभिष्ट पूरा गर्ने नाममा माओवादी लगायत दलहरुले देखाएको हर्कतले मुलुक संकटमा पर्ने खतरा बढेको उनको तर्क थियो ।

प्रतिपक्षी दलहरुले जातीय आधारमा दश प्रदेशको प्रस्ताव ल्याएर मुलुकको आपसी जातीय सद्भाव विथोल्न खोजेकाले यो विषय काँग्रेसलाई किमार्थ मान्य नहुने थापाले जिकिर गरे । जातीय आधारमा प्रदेश छुट्याएर संघियतामा जाने कुरा सम्भव नै नभएको र सम्भव नभएको कुरामा काँग्रेसले कुनै तर्क समेत नगर्ने उनको भनाई छ । तर विगतको आन्दोलन, उपलब्धीलाई संस्थागत गर्नका लागि संविधान जारी हुनैपर्ने उनको ठम्याई थियो ।

एक अर्को प्रसंङगमा बोल्दै थापाले काँग्रेस पार्टीमा देखिएको गुटगत राजनिती बन्द हुनुपर्नेमा जोड दिए । लामो ईतिहास बोकेको पार्टी पार्टीकै रुपमा हुनुपर्ने उल्लेख गर्दै उनले गुटगत संस्कारको अन्त्य गर्न नेतृत्वलाई आग्रह समेत गरे ।

सभासद यज्ञबहादुर थापाले प्रक्रियाबाट गएर भएपनि मुलुकमा नयाँ संविधान जारी हुनुपर्ने बताए । काँग्रेसका नगर सभापति विष्णुहरी बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल, सोभियत अधिकारी, सभासदहरु शारदा पौडेल, वृन्दा राना नगर सचिवहरु धर्मदत्त ढुङगाना, रामेश्वर मल्ल लगायतले बोलेका थिए ।

Comments are closed.