पोखरा २८ भदौ
कास्कीका कांग्रेस नेता रामजी पौडेल ‘बादल’ हत्याका सबै आरोपीहरुलाई कास्की अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । नरिश्वर भण्डारीको एकल इजलासले हत्यामा संलग्न चार र सहयोगी पाँच जना गरि ९ जनालाई मुद्धाको किनारा नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो । कांग्रेस नेता बादलको गत साउन २८ गते राती आफ्नै कार्यकर्ताहरुले हत्या गरेका थिए ।
हत्याको आरोपमा थुना पर्नेहरुमा लेखनाथ १६ का ३१ बर्षीय राजु रानाभाट, लेखनाथ १२ का २५ बर्षीय विश्वास गौतम, तनहुँ थप्रेक घर भई लेखनाथ १३ बस्ने ३० बर्षीय प्रकास गुरुङ र सातमुहानेका अशोक गुरुङ रहेका छन् । यसैगरी घटनामा प्रत्यक्ष संलग्न भएका अभियूक्तहरुलाई लुकाउन, छिपाउन र भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका नवलपरासी सुनवलका ३१ को भरत पौडेल,रुपन्देही सिद्वार्थनगर १ बेलहियाका ३४ बर्षीय विरेन्द्र कुमार रानामगर, स्याङ्जा विचारी चौतारा घर भई हाल नवलपरासी गऔडाकोट बस्ने २३ बर्षीय रविन क्षेत्री, नवलपरासी पिठौली–६ घर भई हाल गैडाकोट बस्ने ३४ बर्षीय मिन बहादुर घले र तनहुँ शुक्लागण्डकी ३ का ३५ बर्षी चन्द्र बहादुर थापालाई थुनामा राख्ने अदालतले आदेश दिएको हो ।
प्रहरीले गत भदौ १० गते नेता बादलका हत्यामा संलग्न र सहयोगी ९ जनालाई पक्राउ गरी मुद्धा दाएर गरेको हो । हत्याको आरोपमा पक्राउ परेका लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने भने निर्दोष ठहरिएको भन्दै केही दिन अघि हिरासत मुक्त भएका थिए । हत्यामा सम्लग्न अन्य अभियुक्तहरुको पनि खोजी भैरहेको कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए ।
Comments are closed.