काममा विश्वास गर्ने युवा

mangal‘जाँगर र मेहनत हुनुपर्छ । सानै लगानीबाट व्यवसाय सुरु गरेपनि सफलता हात पार्न सकिन्छ । त्यही बाटोलाई मैले पछ्याएको हुँ’ पोखरा शान्तिनगरमा रहेको ‘स्पेस डेकोर इन्टिरियर, आर्किटेक्ट’का संचालक इन्टिरियर डिजाइनर मंगल लामाले पोखरा हटलाइनलाई भने । सर्लाहीमा जन्मेर पोखरालाई कर्मथलो बनाएका इन्टिरियर डिजाइनर मंगल लामा भाग्यमा होइन र श्रममा विश्वास गर्छन् । यतिबेला घर तथा भवन निर्माणको डिजाइनदेखि लिएर सम्पूर्ण निर्माण काम गर्न उनलाई भ्याईनभ्याई छ । लामो समय कन्ट्रक्सन क्षेत्रमा विताएका युवा मंगलसँग मजदुरदेखि इन्टिरियर सम्मको अनुभव छ ।
कामप्रतिको लगाव र मेहनत गर्ने हो भने केही कुरा असम्भव हुँदैन भन्ने उनलाई लाग्छ । उनले लामो समय काठमाडौं रही ठेकेदारकोमा मजदुरीको काम गरे । समयलाई बुझ्न सक्ने मंगलले कामसँगै पढाईलाई पनि निरन्तरा दिँदै थिए । ठेकेदारसँग काम नभएपछि उनी ठूलो सपना लिएर पोखरा आएका थिए । यहीँ कन्ट्रक्सनको कामसँगै बडो मेहनतका साथ इन्टिरियर डिजाइनिङको अध्ययन पनि पुरा गरे । लामो समय यही क्षेत्रमा अनुभव बटुलेका लामालाई पढाइवाट सर्टिपिकेट मात्र मिलेन ठूलो उर्जा तथा काम गर्ने जोस र जाँगर पनि मिल्योे ।
पोखरामा काम गर्दै जाने क्रममा एक दिन मंगलको भेट भयो आर्किटेक्ट स्मिता पराजुलीसँग । एउटै क्षेत्रको भएकाले दुवै जनाको यूवा जोस र जाँगर व्यावसायिक रुपमा स्पेस डेकोरको नामवाट सुरु भयो । मंगलले पनि आफ्नो ९ बर्षदेखिको अनुभवलाई व्यवसायिक रुपमा अघि बढाउन तर्फ लागे । स्मितालाई पनि आफ्नो ज्ञान र सिप उजागर गर्ने ठाउँ मिल्यो । करिव १५ लाखको लगानीमा झण्डै एक बर्ष पहिले मात्र स्पेस डेकोर खुलेको हो । लामो अनुभवले गर्दा स्पेस डेकोर संचालनमा आएको छोटो समय मै उनीहरुले धेरैको माया र साथ पाएका छन् । जसले गर्दा उत्साह थपिएको छ । पोखराका दर्जनौं घर तथा व्यावसायिक प्रतिष्ठानको डिजाइन तथा निर्माण गरिसकेको यो जोडि अहिले स्पेस डेकोर मार्फत दर्जनौं घर तथा होटलहरुको काम गरिरहेका छन् । लामा home-dockarभन्छन्, ‘हामीले ‘स्पेस डेकोर’ स्थापना गरेको छोटो समयमा नै धेरैको साथ र माया पाएका छौं । यो हाम्रो कामले दिएको प्रतिफल हो ।’
घर तथा भवन बनाउँदा आचारसंहितालाई ख्याल गर्दै प्राविधिकहरूको रेखदेखमा आर्किटेक्टले भवनको डिजाइन तयार गर्ने र त्यसलाई इन्टिरियल तथा सबै पक्षको समन्वयमा आकर्षक, कलात्मक र बलियो बनाउन आँफुहरु लागि पर्ने लामाको भनाई छ । दुःख र मेहनतले कमाएको पैसालाई सहि तरिकाबाट सदुपयोग गर्न सुझाउँछन् लामा । घर तथा व्यवसायिक भवन बनाउँदा व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने उनको भनाई छ । उनको यही क्षेत्र र ‘स्पेस डेकोर’ लार्ई अझ व्यावसायिक र व्यवहारिक बनाउने सोंच छ ।

 

Comments are closed.