काम पुजा हो, सफलताका लागि निरन्तरको लगनशिलता, धैर्यता र लगाव चाहिन्छ – ऋषिराम भण्डारी, अध्यक्ष, लेखनाथ हार्डवयर एशोसियसन भण्डारी

Rishi-Ram-Bhandari-390x351

निरन्तरको लगनशिलता, मेहनत र धैर्यता एवं कामप्रतिको लगावले नै व्यवसायिक सफलता हासिल गर्न सकिन्छ । कामलाई पुजा मान्यो भने पनि त्यसले भविश्यको डोरेटो निर्माण गर्छ भन्ने भनाई लेखनाथका युवा व्यवसायी ऋषिराम भण्डारीको जीवनमा ठ्याक्कै मेल खान्छ । २५ बर्ष अगाडी सामान्य साइकल पन्चर टाल्ने पेशाबाट शुरु भएको व्यवसाय अहिले हार्डवयरसम्म आइपुग्दा करोडौं रुपैयाको कारोबारका साथ अगाडी बढेको छ । साईकल, मोटरसाइकल वर्कसप, मोटर पार्टस हुँदै उनी अहिले हार्डवयर व्यवसायमा संलग्न छन् । लेखनाथ हार्डवयर एशोसियशन र तालचोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भण्डारीसँग नवराज सापकोटाले गरेको कुराकानी ।

व्यवसाय र संस्थाको कामका लागि समय कसरी समायोजन गर्नु भएको छ ?

व्यवसाय एउटा नियमित दैनिकी हो, यसका लागि दिनभरीको समय त रहन्छ नै, तर पनि हामीविच समूह कार्यमा विश्वास गर्ने साथीहरुको टिम छ । म भईन भने पनि त्यो ग्रुपका सदस्यहरुबीचबाट अगाडी बढ्छ । अनि परिवारका सदस्यले पनि समय व्यवस्थापन गरिदिएका कारण सहज नै हुन्छ । अर्को कुरा संस्थाको कार्य क्षेत्र पनि नगर भित्रै नै भएका कारण र त्यहाँपनि सवै साथीहरु सहयोगी नै छन् । टिम वर्कमा विश्वास गर्ने भएकाले पनि समय समायोजन गर्न गाह्रो हुँदैन भन्ने लाग्छ ।

हार्डवयर एशोसियशनमा सबै साथीहरु समेटिएका छन् त ?

यो साझा संस्था हो, हामी लेखनाथमा क्रियाशिल ५ दर्जन व्यवसायीको छाता पनि हो । यसमा व्यवसायिक एकता र समस्याका विषयमा छलफल हुन्छन् । र त्यहीं बीचबाट समाधान समेत खोज्ने प्रयत्न गरिन्छ । विकासका हुन वा नीजि आवास तथा भौतिक संरचना निर्माणका काममा सामान सप्लाइ गर्दा समेत सहज वातावरणमा हुन्छ । संस्थाप्रति सवै साथीहरु उत्तरदायी भएको अवस्था छ । र भविश्यका समस्यालाई ख्याल गरी साथीहरुले संस्थाको मर्म बुझिदिनुभएको छ र त सबै साथीहरु समेटिएका छन् । साथै भोलिका दिनमा एशोसियशनले मजदुरका दुर्घटना बिमा, व्यवसायको विमा र साथीहरुका आर्थिक समस्यालाई कुनै न कुनै रुपमा सम्बोधन गर्न सकियो भने अझ यसको क्षेत्र विस्तार हुनेछ र सबै साथीहरु समेटिनु हुनेछ भन्ने आशा गरेको छु ।

एशोसियशनको भावि योजना के छ ?

व्यवसायिक एकता, मूल्य र मान्यतालाई स्थापित गर्दै, नयाँ ज्ञान र शिपको प्रयोगका लागि उत्प्रेरणा दिने खालका तालिम, गोष्ठी र कार्यशालाको आयोजना, नयाँ व्यवसायीलाई प्रशिक्षण, लगानीका अवसर जोखिम न्यूनीकरणमा छलफल, ज्ञान तथा अनुभव आदान प्रदान, व्यवस्थित सचिवालयको स्थापना, एशोसियशनको भवन निर्माण, करका विषयमा प्रशिक्षण र नेतृत्व एंव क्षमता विकासका लागि विभिन्न गतिविधिहरु संचालन गर्ने योजना बनाईनेछ ।

दुई दुई वटा संस्थाको नेतृत्व गर्दा समस्या रहँदैन ?

मैले अघि नै उल्लेख गरेँ नी, कार्यक्षेत्र नगरपालिका भित्र, अर्को कुरा टिम वर्क हो, मैले एक्लेलै नेतृत्व गर्ने पनि हैन, कुनै काम गर्नुपर्यो भने साथीहरुबीचमा सल्लाह गरेर अघि बढ्ने हो । त्यसमा पनि दुवै संस्थामा सल्लाहकारहरु हुनुहुन्छ उहाँहरुको पनि सहयोगी भूमिका छ । सामुहिक कार्ययोजना निर्माण हुँदा सवै साथीहरुको अपनत्व हुन्छ, कार्यान्वयमा समस्या पनि रहँदैन, सबैको सहयोगले अघि बढ्दा सफल भइएला भन्ने लाग्छ ।

शहरीकरण बढ्दै छ, हार्डवयरको बजार कस्तो देख्नु भएको छ ?

बढ्दो शहरीकरणले निर्माण सामाग्रीको कारोबार गर्ने व्यवसायको संभावना त पक्कै रहन्छ नै, त्यसमा पनि ठूला भौतिक पूर्वाधारका परियोजनाहरु संचालन भएपनि बजार विस्तारित हुने थियो । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणसँगै त्यसले थुप्रै सम्भावनाहरु बोकेर आएको हुन्छ र ति सम्भावना भित्र हाम्रा पनि सम्भावना जोडिएका हुन्छन् । अर्को कुरा लेखनाथ विस्तारै शहरोन्मुख नगर हो यहाँ भित्र भौतिक विकास निर्माणका कामहरु प्रसस्त हुने अनुमान गर्न सकिन्छ, जबसम्म निर्माणको क्रम रहिरहन्छ तवसम्म त्यसको सामाग्री सप्लायर्सको बजार रहनु स्वभाविक हो । तर त्यसलाई स्वस्थ ढंगले प्रतिस्पर्धामा लगि दिगो गराउनुपर्छ ।

विकृती कत्तिको देख्नु हुन्छ, यो व्यवसायमा ?

व्यवसाय गरीसकेपछि थोर वहुत नाफाको कुरा त आउँछ नै, घाटा नै हुनेगरी व्यवसाय त कसैले पनि संचालन गर्दैन । तर सबै व्यवसायमा जस्तै यसमा पनि प्रतिस्पर्धा केही अस्वस्थ छ भन्ने गुनासो स्वयं व्यवसायी बीचमा छ । साथै ग्राहकले पनि नजानिँदो किसिमले महसुस गरेको अवस्था छ । परेको मूल्य भन्दा कममा सामान बेच्ने, एउटा साथीले कारोबार गरेको ठाउँमा अर्को साथीले अस्वस्थ प्रतिस्पर्धा गर्ने, नकरात्मक कुरा गरिदिने, मुल्यमा उतारचढावका कुरा हुने यस्ता कुराले कहिलेकाही व्यवसायीहरुमा अत्यन्त विकृती भित्र्याएको छ, त्यसलाई विस्तारै संस्थागत छलफलबाट न्यूनिकरण गर्दै जानुपर्छ ।

मुल्यमा त निकै अस्वस्थ प्रतिस्पर्धा छ हैन ?

यो पनि जायज कुरा हो । खरिद मुल्य भन्दा विक्री मुल्य कम भइरहेको अवस्था पनि छ केही सामानमा । जस्तो रड, सिमेन्टमा । कुनै ग्राहकले घर निर्माणको कार्य अघि बढाउँदा सामान बुकिङका लागि आउँदा रड र सिमेन्टमा केही मुल्य घटाएर दिने होडवाजी छ साथीहरुमा, ताकी त्यो ग्राहक अर्कोमा नजाओस भनेर । यस्ता कार्यले अस्वस्थता त बढाएको छ नै साथै कुनै समयमा व्यवसायीलाई समस्यामा पार्न सक्छ । यसका लागि एशोसियशन सचेत रहँदै उपभोक्ता सचेतनाका कार्यक्रम ल्याउनु जरुरी छ र त्यसका लागि छलफल भैरहेको छ । निर्माणस्थलमै पुगेर सामानको गुणस्तरियता र मुल्य समानताका विषयमा सचेतना जरुरी छ । यसमा उपभोक्ता पनि जागरुक हुनु जरुरी छ, परेको मुल्य भन्दा कममा सामान माग्दा त्यसको पूर्ति कहिकतैबाट त हुँदैन भन्नेमा । व्यवसायीले पनि तोकिएको मुल्यमा सामान बेच्ने र उपभोक्ता पनि सचेत हुने हो भने यो समस्याको समाधान हुन्छ भन्ने लाग्छ ।

करले दुःख दियो भन्छन् व्यवसायीहरु, तपाईं के भन्नुहुन्छ ?

व्यवसाय मुल्य र मान्यता एवं राज्यले बनाएका नीति नियम भित्र रहेर संचालन गर्ने हो । घरेलु, आन्तरिक राजश्व, नगरपालिका कहाँ कुन निकायमा दर्ता गरी संचालन गर्ने भन्ने व्यवसायका प्रकृति अनुसार पनि हुन्छ र त्यसलाई फलो गर्न सकियो भने समस्या नरहला । व्यवसाय गरेपछि मुनाफाको केही अंश राज्यलाई कर तिर्नुपर्छ । व्यवसायीमा पनि समस्या रहन सक्छ, कारोबारको अवस्था अपडेट नहुँदा कहिलेकाही केही समस्या आएको हुन सक्छ । र राज्यले पनि करको दायरालाई फराकिलो बनाउन नयाँ दर र नीति ल्याएको हुन्छ त्यो नबुझ्दा पनि व्यवसायीलाई समस्यामा परेका छन् । यसका लागि कर सम्बन्धि तालिम, जानकारी हुनु जरुरी छ । न्यूनतम बिलका सामान बाट देखिने नाफाको दूरीलाई पुरा बिलमा कसरी लैजाने, कर बिजक नभएका सामान खरिद नगर्ने, स्टक र कारोबारको अभिलेख दुरुस्त राख्ने हो भने करले दुःख हैन पुरस्कृत गरेको अवस्था पनि छ । मुख्य कुरा हामी असल करदाता बन्ने तर्फ पनि ध्यान दिनु जरुरी छ । राज्यको कर नीतिका कारण पनि कहिलेकाही कर्मचारीहरुको चलखेल बढ्ने गरेको छ । व्यवसायीले नियतबस नभै भएका गल्तीलाई समेत चलखेल गर्ने मौकाका रुपमा हेरको अवस्था पनि छ । व्यवसायीबाट हुने साना गल्तीका कारण उनिहरु कर सहयोगी मार्फत अघि बढ्नुपरेको अवस्था पनि छ । बरु त्यसका लागि व्यवसायीलाई सचेत गराउने, कर प्रणालीका विषयमा जागरुक गराउने कार्य अघि वढ्यो भने व्यवसायी पनि राज्य निर्माणमा करको माध्यमबाट समाहिकरण हुनेमा दुईमत रहँदैन ।

कहिलेकाहीँ कुरा आउने गर्छ व्यवसायीहरु मुनाफा मात्रै खोज्छन् सामाजिक उत्तरदायित्व बिर्सन्छन भनेर तपाई के भन्नु हुन्छ ?

लगानी गरेपछि मुनाफा खोज्नु जुनसुकै व्यवसायीको पनि धर्म हो । जब मुनाफा नै हुँदैन भने पारिवारिक उत्तरदायित्व पनि पुरा हुँदैन । लाखौं रुपैयाँ लगानी भएको हुन्छ, पहिला त्यो लगानी जोखिममुक्त भयो भने ढुक्क भएर व्यवसाय गर्ने वातावरण सिर्जना हुन्छ । र त्यसले एक खालको शान्ति पनि हुन्छ र सामाजिक उत्तरदायित्व तर्फ आकर्षण गर्छ । हरेक व्यवसायीले गरेको मुनाफाबाट केही अंश भएपनि सामाजिक उत्तरदायित्व अन्र्तगतका गतिविधिमा खर्च गर्दा आनन्द पनि हुन्छ । त्यही भएर पछिल्ला समयमा मुनाफाको निश्चित प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने परम्परा चलेको छ । व्यक्तिगत कार्य होस् वा संस्थागत हिसावबाट यस्ता गतिविधि बढेको छ । हामीले पनि वृद्धाश्रम, अनाथालय, अपाङ्ग बालबालिका लगायत विभिन्न सामाजिक संरचनाहरुमा थोरबहुत् रकम विनियोजन गर्दै आएका छौं । व्यक्तिगत रुपमा पनि हाम्रो संस्था डि गु्रपले पनि विशेष कोष बनाएर आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने छौं साथै संस्थागत हिसाबले पनि । चाहे ति रक्तदान, बजार सरसफाई, नयाँ व्यवसायीलाई प्रशिक्षणका काम किन नहुन आगामी दिनमा यसलाई निरन्तरता दिईनेछ ।

अन्तमा ?

म फेरी पनि के कुरामा स्पष्ट छु भने टिम वर्कमा हिडियो भने हरेक क्रियाकलाप सफल हुन्छन । त्यसैले तालचोक बजार व्यवस्थापन समिति र हार्डवयर एशोसियशनको अध्यक्षको नाताले म यो कुरामा प्रतिवद्ध पनि छु । सबैको साथ र सहयोगको अपेक्षा समेत गर्दछु । अग्रजहरुको सल्लाह र अनुजहरुलाई प्रेम गरेर अघि बढाउनुपर्दछ । हामीलाई हरेक तरहले सहयोग र सल्लाह दिनेलाई म धन्यवाद दिन चाहान्छु ।

Comments are closed.