‘कारोना कहर र सहकारी व्यवस्थापन’ गोष्ठी

पोखरा हटलाईन

स्याङ्जा, २० असार

स्याङ्जा सदरमुकाममा रहेको सहकारीले कोरोना कहर र सहकारी व्यवस्थापन सम्बन्धि एक दिने गोष्ठी सम्पन्न गरेको छ । जिल्लाकै उत्कृष्ट रोयल को–अपरेटिभ सोसाईटी लि. को आयोजनामा गोष्ठी सम्पन्न गरेको हो ।गोष्ठीमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र रोयल सहकारीका सचिव केशवराज लम्सालले सहजीकरण गरेका थिए । सहजकर्ताहरुले कोरोनाको कहर सकिएसँगै सहकारी मार्फत कृषि, स्वास्थ्य र शिक्षामा लगानी गर्न सके आम नागरिकले सहजै रोजगारी पाउने बताए ।

“हाम्रो देश कृषिमा प्रचुर सम्भावना भएको देश हो ।” सहजकर्ता मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष समेत रहेका ढकालले भने, “अब हामी लगानीलाई कृषिमा केन्द्रित गर्दै आयातमुखि प्रचलनलाई रोकेर निर्यातमुखि बनाउनुपर्छ ।” सहकारी मार्फत आर्थिक परिवर्तन गर्न सकिने भाषण गर्न छाडेर परिणाममुखि काममा उन्मुख बन्न ढकालले सहकारीकर्मीलाई आग्रह गरे ।गोष्ठीमा अर्का सहजकर्ता जिल्ला सहकारी संघका पूर्व अध्यक्ष लम्सालले सहकारीहरुलाई ठूला शेयर लगानीकर्ता सदस्यका नाममा कमाउने धन्दामा प्रयोग गरेको बताए । सहकारीको सम्पत्ति मुलउद्देश्यमा केन्द्रित गर्न सके सहकारीले प्राप्त गर्ने भनिएको उद्देश्य प्राप्त हुने बताए । लम्सालले कोरोनाको कहरलाई सहकारी क्षेत्रले अवसरमा परिणत गर्नुपर्ने बताए ।

गोष्ठीमा राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी संस्थाका उपाध्यक्ष शेरबहादुर राना, संचालक सदस्य कुलानन्द लम्सालले पछिल्लो समय सहकारीहरु आफ्नो उद्देश्य प्राप्तीको तुलनामा मुनाफामा केन्द्रित बन्दै गएको चिन्ता व्यक्त गरे । उनीहरुले सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक रहेको बताए ।सहकारीको शिक्षा उप–समितिका संयोजक भवानी शंकर पोख्रेलको अध्यक्षतामा भएको गोष्ठीमा स्वागत समितिका सदस्य गंगादेबी पोख्रेलले गरेकी थिईन भने धन्यवाद र संचालन समितिका सदस्य पृथ्वीप्रसाद पोख्रेल र प्रकाश डोटेलले गरेका थिए । गोष्ठीमा सहकारीका प्रबन्धक शान्ति अर्याल ढकालले रोयलको वस्तु्स्थितीका बारेमा जानकारी गराएकी थिईन् ।

Comments are closed.