अमृत सुवेदी/पाेखरा ६ साउन ।
हालसालै मात्र पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष नियुक्त भएर कार्यभार सम्हालेका प्रकाश मोहन खनालले सबैको समन्वयमा पोखराको विकास र सुधारमा लाग्ने बताएका छन् । गत असार २८ गते पोखरा उपत्यका नगरविकास समितिको अध्यक्षमा नियुक्त भएका खनालले समितिको कार्यालय तथा कर्मचारी सयन्त्र सुधारदेखि पोखरामा बसपार्क निर्माण लगायत समितिले गर्नुपर्ने कामलाई प्राथमिकता दिने बताएका हुन् ।
कार्यालय सुधारलाई प्रमुख एजेन्डा बनाएका अध्यक्ष खनालले बसपार्क निर्माण, भवन मापदण्ड कार्यान्वयनमा विकल्प खोज्ने, सुकुम्बासी समस्या समाधानका लागि काम थाल्ने, समितिको आर्थिक स्रोत बढाउने, भाडाका सटरहरुको फेरि टेण्डर आह्वान गरि व्यवस्थित रुपमा लैजाने, प्राकृतिक स्रोतको संरक्षण र पोखराको विकासमा गुरुयोजना बनाएर अघि बढ्ने सोंच बनाएका छन् ।
‘पोखरामा समितिले गर्नुपर्ने थुप्रै कामहरु छन्’ खनालले भने ‘यो एक्लो प्रयासले हुने कुरा होइन । सबैको समन्वयमा कार्यकाल भरी निस्वार्थ भावनाले पोखराको विकासमा लागि पर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’ उनले उपत्यका नगरविकास समितिप्रति परेको नकारात्मक धारणालाई अन्त्य गर्ने आफु लागी पर्ने बताएका छन् । पहिलो एजेण्डा कार्यालय सुधारलाई बनाएका खनालले पोखराको विकासका लागि दीर्घकालिन गुरुयोजना बनाउने सोच बनाएको बताएका छन् ।
‘सबैको सहयोगमा सबै संघ संस्थाको अस्तित्व पनि जोगाउँदै साझा धारणाको विकास गर्नु जरुरी छ’ अध्यक्ष खनालले भने ‘अहिलेसम्म पोखरामा योजनाबिनै काम भैरहेको छ । पोखरा उपत्यका नगर विकास समिति स्थापना भएको दशकौं वितिसक्यो तर अहिलेसम्म कुनै योजना बनाउन सकेको छैन । अब म योजना बनाएर लाग्छु ।’
५० बर्ष पहिलेको योजना अहिले कार्यान्वयन सुरु भएको बताउँदै अबको ५० बर्ष पछिको योजनामा काम गर्नुपर्ने उनको धारणा छ । बसपार्क निर्माण, मापदण्ड कार्यान्वयन, प्राकृतिक श्रोतको संरक्षण जस्ता कुराहरुमा योजनाको खाँचो उनले बताए । ‘पोखरामा व्यवस्थित बसपार्क निर्माण गर्नुपर्ने अहिले प्रमुख आवश्यकता पनि हो’ उनले भने ‘बसपार्क बनाउन जग्गा पनि छ । पैसा पनि छ । अहिलेसम्म ब्यवस्थापन र समन्वय गर्न नसकेको मात्रै हो । अब सबै दल र प्रशासनसँग समन्वय गर्नुपर्छ । बसपार्क निर्माण हुनैपर्छ ।’ मुख्य अहिलेको चुनौति भनेको समन्वयको अभाव रहेको भन्दै खनालले सुकुम्बासी ब्यवस्थापन पनि समन्वयमै सल्टाउनुपर्ने धारणा राखेका छन् । ‘अहिले रहेका सुकुम्बासीहरुलाई विकल्पसहित ब्यवस्थापन गर्ने हो भने यसको आधा काम सकिन्छ’ उनको धारणा छ ‘बसपार्क निर्माणको विरोधी सुकुम्बासी होईनन् । अहिले विरोध गरिरहेकाले पनि कि बसपार्क आवश्यक छैन भन्नुप¥यो, नत्र सबैले सहयोग गर्नुपर्छ ।’
उनले तत्कालै भवन मापदण्ड लागु गरि बनिसकेको संरचना हटाउन समस्या भएपनि त्यसको विकल्प खोप्नुपर्ने बताएका छन् । कानुन भन्दा माथि कोही नरहेको भन्दै खनालले सबैले कानुनलाई मान्ने र नमान्नेलाई कारवाही गर्न सबै प्रतिवद्ध हुने हो भने समस्या नरहेको बताए ।
अहिले नगर विकास समितिले जति रकम उठाएको छ, यो पर्याप्त नभएको भन्दै खनालले भने ‘यो बर्ष यसअघिको तुलनामा बढी रकम उठाउने प्रतिवद्धता जनाउँछु । परदर्शिता हुने हो भने समस्या छैन ।’ समितिको मातहतमा रहेका भाडाका सटरहरुको टेण्डर निकाल्ने उनले बताए । साथै उनले २ बर्षभित्र पोखराको दीर्घकालिन विकासको खाका कोर्ने गरी जतिसक्दो छिट्टो योजना सार्वजनिक गर्ने बताएका छन् ।
खनाल नेपाली काँग्रेस कास्कीका महाधिवेशन प्रतिनिधी हुन् । खनाल पोखरा उपत्यका नगर विकास समितिका १८ औं अध्यक्ष हुन । यसअघि नेपाली काँग्रेसकै कास्की जिल्ला उपसभापति बिष्णु बास्तोला अध्यक्ष थिए । समितिको अन्य सदस्य भने छनौट हुन बाँकी नै छ । ५ जना सदस्य मनोनयन गर्नेछ भने अन्य सदस्य समितिले नै थप गर्नेछ ।
समितिमा ५ जना मनोनित सदस्य सहित जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, वन कार्यालय र खानेपानी सुपरीवेक्षण तथा ढल निकास कार्यालय सदस्यको रुपमा रहनेछन् । जिल्लाका राजनीतिक दलका १÷१ जना प्रतिनिधि पनि सदस्यका रुपमा रहनेछन । यस्तै सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले सदस्य सचिवको रुपमा काम गर्नेछ ।
Comments are closed.