कालोबजारी बढ्दै, थाहा पाए ? यसो गर्नुहोस्

पाेखरा २४ कार्तिक/तराई आन्दोलन र भारतको नाकाबन्दीले अभावसँगै कालोबजारी बढेको छ । जसोतसो दसैँ टारेका नागरिकलाई तिहार पनि उसैगरी मनाउनु पर्ने भएको छ । इन्धन लगायत अत्यावश्यक सामग्री सहज नहुँदा सास्ती थपिएको छ । तिहारमा अरु बेला भन्दा खाने तेल बढी आवश्यक पर्छ । तर बजारमा खानेतेल सहजै पाउने अवस्था छैन ।

रोटी लगायतका तिहारका अरु परिकार बनाउन भाँडोभरी तेल खन्याउनुपर्छ । तर हिजोआज मोटरमा हाल्ने तेल जस्तै रोटी पकाउने भाँडोमा हाल्ने तेल पाउन पनि मुश्किल छ । बल्लतल्ल पाइहालेमा पनि दोब्बर तेब्बर मूल्य तिर्नुपर्छ । सामान्य अवस्थामा बजारमा भटमासको तेल प्रतिलिटर १ सय २० रुपैयाँ, सनफ्लावरको प्रतिलिटर १ सय ४० र तोरीको तेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्छ । तर अहिले २ सय ५० रुपैयाँ भन्दा कममा कुनै पनि खानेतेल पाईदैन ।

खाने तेलको मूल्य आकाशिएको छ भने कालोबजारी पनि बढ्दै गएको छ । तर अनुमगन गर्ने निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले भने अनुगमन भैरहेपनि बजार सामान्य अवस्थामा नभएकाले समस्या भएको बताउँदै आएको छ । बाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागका निर्देशक हरीनारायण बेल्वासे भन्छन्, ‘कच्चा पदार्थ आयातमा परनिर्भर हुँदा समस्या देखिन सुरु भएको छ ।

अझै यस्तै रहे समस्या थप बढ्ने छ ।’ रोटी पकाउने तेल पनि पाइएन भने तिहार झन् खल्लो हुन्छ । बजारमा खाने तेल नपाइने पनि होइन । कालोबजारी गर्न पल्केका व्यापारीले लुकाएर बेच्ने गर्दा समस्या भएको हो । सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गरी कम्तीमा व्यापारीले लुकाएर बेच्न नसक्ने वातावरण बनाउन सकेपनि उपभोक्तालाई केही राहत मिल्ने थियो ।

कालोबजारी गरेको थाहा पाउनुभयो ? यसो गर्नुहोस्

तपाई ठगिनु भयो ? कुनै वस्तुको अनुचित मूल्य तिर्नुप¥यो कि ? पेट्रोलियम पदार्थ अभाव भएको वहाना बनाउदै तपाईलाई ठग्ने व्यापारीहरु प्रशस्त हुनसक्छन् । त्यसो हो भने तपाई नडराई उजुरी गर्नुहोस् ।

यसका लागि वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, नजिकको जिल्ला प्रहरी कार्यालय र बाणिज्य कार्यालयहरुमा उजुरी दिन सकिने वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । सही प्रमाण सहित उजुरी गरिदिएमा सम्बद्ध निकायहरु तत्काल कावारहीका लागि अगाडि बढने र कालोबजार नियन्त्रणमा सघाउ पुग्नेछ ।

कालोबजार, केही सामाजिक अपराध तथा सजाय ऐनमा ‘नेपाल सरकारले मोल निर्धा्रित गरिदिएकोमा त्यही मोलमा र नेपाल सरकारले मोल निर्धारित नगरेकोमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धा्रित गरेको मोल भन्दा बढी मोल लिई कसैले कुनै वस्तु विक्री गरेमा त्यो वस्तुको लिएको मोल फिर्ता गराई त्यो वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद हुने व्यवस्था छ ।

यस्तै मोल निर्धारिध भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया २० प्रतिशत भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई विक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ । यस्तै प्रत्येक थोक वा खुद्रा विक्रेताले नेपाल सरकारले तोकिदिएको वस्तुको मूल्यसूची सबैले देखिने गरी विक्री स्थलमा टाँग्नु पर्ने र सो नगर्नेलाई १ वर्षसम्म कैद वा जरिवाना वा दुबै हुन सक्ने प्रावधान छ ।

यस्तै बजारमा कुनै वस्तुको कृत्रिम अभाव हुने गरी त्यो सामानको मूल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले त्यस्तो माल वस्तु बिक्री नगरी जम्मा गरी राखेको भेटिएमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

सामान किन्दा ख्याल गर्नुपर्ने कुृरा

आफूले किन्ने वस्तुमा उपभोग्य मिति हेर्न नभुल्नुहोस् । त्यहाँ अधिकतम मूल्य लेखिएको हुन्छ र त्यो भन्दा बढी मूल्य लियो भने सम्झिनुहोस् तपाई ठगिदै हुनुहुन्छ । त्यसपछि सामान किनेको बिल माग्नुहोस्, यदि तपाई ठगि विरुद्ध उजुरी दिन जादै हुनुहुन्छ भने यो भरपर्दो र बलियो प्रमाण हो ।

यदि तपाईले ठगिएको महसुस मात्र गर्नुभयो र विगतमा किनेको मूल्य भन्दा अस्वाभाविक मूल्य तिर्नुपरमा पनि सकेसम्म बील र बील सम्भव नभएमा पसलको ठाउँ, आफूले किनेको वस्तु र त्यस्ता कुराको विवरण सहित सम्बन्धित निकायमा उजुरी गर्नुहोस् । यदि यी प्रमाणहरु र्पुयाएर उजुरी दिनुभएमा नियमक निकायलाई कार्वाही गर्न सजिलो हुन्छ ।

Comments are closed.