बाह्र वटा कामै नलाग्ने
पुर्ननिर्माणका लागि जुट्दै दाता
पोखरा, २५ बैशाख
गत बैशाख १२ गते गएको महाभूकम्पले कास्कीका ९० वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ । ती मध्ये १२ वटा पूर्ण क्षतिग्रस्त भएका छन् । भूकम्पले कास्कीका १८ हजार भन्दा बढी विद्यार्थी प्रभावित भएका जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । भूकम्पले क्षति पुर्याएका विद्यालयको लगत र यथार्थ विवरण संकलनका लागि कास्कीका चारवटै निर्वाचन क्षेत्रमा टोली खटाईएकाले टोली फर्किएपछि मात्रै यथार्थ जानकारी प्राप्त हुने जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।
प्रारम्भिक अनुगमनका क्रममा भूकम्पले क्षेत्र नम्बर एक अन्तर्गतका विद्यालयहरुमा बढी क्षति पुर्याएको पाईएको उनले बताए । थुम्की, सिद्ध, देउराली, हंसपुरसहित सार्दिखोला, दाङ्गसिङ्ग, चापाकोट लगायत गाविसका विद्यालय भूकम्पका कारण भत्किएका छन् । अनुगमनका लागि खटाईएको टोली अझै पनि विवरण संकलनकै क्रममा रहेकाले क्षति भएका विद्यालयको संख्या बढ्न सक्ने आचार्यको भनाई छ । विद्यालय भवनमा भूकम्पले क्षति पुगेपनि अधिकांश विद्यालयले भने यही आइतबारदेखि नै पठनपाठन सुरु गरिसकेका छन् ।
“भूकम्पले कम क्षति पुर्याएका विद्यालयले भवनभित्रै विद्यार्थी राखेर पठनपाठन सुरु गरेका छन् ।” जिल्ला शिक्षा अधिकारी आचार्यले भने– “बढी क्षति भएका विद्यालयले भने खुल्ला चौरमा राखेर पढाईरहेका छन् । त्यस्ता विद्यालयमा तत्काल अस्थायी कक्षाकोठा निर्माणका लागि प्रक्रिया सुरु भैसकेको छ ।”
विद्यार्थी बस्नै नमिल्ने गरी भत्किएका विद्यालयहरुमा शुक्रबारदेखि नै विभिन्न संघसंस्थाहरुको सहयोगमा अस्थायी कक्षाकोठा निर्माण सुरु गरिने उनले बताए । शुक्रबार चापाकोटमा रहेको पञ्चकोशी निमाविमा स्थानीय बासिन्दा, सामाजिक संघसंस्था र सरोकारवालाहरुको सहयोगमा अस्थाई भवन निर्माण गर्ने कार्यक्रम रहेको र त्यही विद्यालयको नमुना हेरेर अन्य विद्यालयहरुमा पनि अस्थायी कक्षाकोठा सुरु गरिने उनको भनाई छ ।
बढी क्षति भएका अरु चारवटा विद्यालयमा अस्थायी कक्षाकोठा निर्माणका लागि पनि चारवटा संघसंस्थाले जिम्मा लिईसकेका छन् । सिद्धार्थ क्लवले कृष्तीमा रहेको बक्रेक प्रावि, नागरिक समाज कास्कीले हेम्जामा रहेको हिमालय प्रावि, पोखरा जेसिजले भलाममा रहेको जनचेतन प्रावि र यूवा जागरण क्लवले चापाकोटमा रहेको पिपलडाली प्राविमा विद्यार्थी बस्न मिल्ने गरी अस्थायी संरचना निर्माणको जिम्मा लिएका हुन् । केही दिनभित्रै ती विद्यालयको संरचना निर्माण थालिने सम्बन्धित संस्थाहरुले बताएका छन् ।
लगत संकलनका लागि खटिएको टोली अझै फर्किनसकेकाले जिल्ला शिक्षा कार्यालयले पुर्ननिर्माणका लागि के गर्ने भन्ने योजना बनाउन नसकेको जिल्ला शिक्षा अधिकारी आचार्यले बताए । सबै विवरण प्राप्त भैसकेपछि, क्षति भएका विद्यालयहरुमा के कति रकम उपलब्ध गराउने भन्ने निर्णय हुने उनको भनाई छ । सरकारले पनि क्षति भएका विद्यालयहरुका लागि तत्काल राहतका कार्यक्रम घोषणा नगरेकाले स्थानीयस्तरमै विद्यालय पुर्ननिर्माण गर्नुपर्ने आवश्यकता देखिएको आचार्यले बताए । कास्कीमा ६ सय ३३ वटा सामुदायिक विद्यालय छन् ।
भर्ना अभियान पनि प्रभावित
भूकम्पका कारण बैशाख २ गतेदेखि सुरु भएको भर्ना अभियान पनि कास्कीमा प्रभावित भएको छ । बैशाख १४ गतेसम्म अभियानको मिति बाँकी नै रहेपनि १२ गते भूकम्प गएपछि, भर्ना हुन नसकेका सबै बालबालिकाहरु माझ पुग्न नसकिएको जिल्ला शिक्षा अधिकारी आचार्यले बताए । विद्यालयहरु खुल्ने क्रम सुरु भैसकेकाले यो अभियानले फेरी निरन्तरता पाउने उनको भनाई छ । कास्कीमा करिब १ हजार विद्यार्थी अझैपनि विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । उमेर पुगेका ९८ प्रतिशत बालबालिका विद्यालय जाने आउने गरेपनि अझै २ प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गरी पढाउनुपर्ने चुनौती छ ।
-नवराज ढुङ्गाना
Comments are closed.