कास्कीका पाँच विद्यालयको एसएलसी नतिजा शून्य

तीनवटा नील, दुईवटाको प्राक्टिकल नम्बर छुट्यो


नवराज ढुङ्गाना/पोखरा, ९  असार
यसपटकको एसएलसी परीक्षामा कास्कीका पाँचवटा विद्यालयको नतिजा शून्य आएको छ । तीन वटा विद्यालयले एकजना पनि विद्यार्थी उत्तिर्ण गराउन सकेनन् भने प्राक्टिकल नम्बर छुट्दा विद्यार्थीहरुको उत्तिर्ण अंक आएपनि एउटा सामुदायिक र एउटा निजी विद्यालयको नतिजा शून्य आएको छ ।
जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार सँस्कृत मावि बगर, गाउँफर्क मावि सिद्ध र दत्तेश्वर मावि थुम्कीले एकजना पनि विद्यार्थी उत्तिर्ण गराउन नसकी नील भएका हुन् । चिसाखोला वेद विद्याश्रम सरांगकोट र विज्डम बोर्डिङ्ग स्कूलको प्राक्टिकल नम्बर छुट्दा विद्यार्थीहरुले उत्तिर्ण हुने अंक ल्याएपनि नतिजा शून्य आएको कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्द पोखरेलले जानकारी दिए ।
यीमध्ये सँस्कृत माविको नतिजा अघिल्लो एसएलसी परीक्षामा पनि शून्य थियो । पछि, पुर्नजाँचका क्रममा एकजना विद्यार्थी उत्तिर्ण भएको पाईएको थियो । यसपटक यो विद्यालयबाट ११ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागि थिए । यसैगरी, गाउँफर्क माविबाट १९ जना र दत्तेश्वर माविबाट २३ जना विद्यार्थीले एसएलसी परीक्षा दिएका थिए । प्राक्टिकल नम्बर छुटेका सरांगकोट वेद विद्याश्रममा ८ जना र विज्डम बोर्डिङ्गबाट भने २५ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागि थिए ।
कास्कीबाट यसपटकको एसएलसी परीक्षामा १ सय १७ सामुदायिक र १ सय ४९ वटा निजी विद्यालयले विद्यार्थी सहभागि गराएका थिए । सामुदायिकतर्फ ४९.२५ प्रतिशत र निजीतर्फ ९२.२४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका सहायक जिल्ला शिक्षा अधिकारी पोखरेलले जानकारी दिए । यसपटक कास्कीबाट कूल ७१.९० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।
“कास्कीमा अन्य जिल्लाको तुलनामा सामुदायिक विद्यालयको नतिजा राम्रो छ ।” उनले भने– “तर केही विद्यालयको नतिजा शून्य आउँदा समग्र जिल्लाकै नतिजामा प्रभाव परेको छ । ती विद्यालयले पनि केही विद्यार्थी उत्तिर्ण गराउन सकेका भए कास्कीको नतिजा अझै राम्रो आउने थियो ।”
अघिल्लो एसएलसी परीक्षामा पनि कास्कीका दुई सामुदायिक विद्यालय नील भएका थिए । अघिल्लो एसएलसीमा दूधपोखरी मावि सोदा र अन्नपूर्ण मावि अर्मलाको नतिजा शून्य आएको थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरी यसपटक २ सय १९ विद्यालयको नतिजा शून्य आएको छ । तीमध्ये २६ वटा निजी विद्यालय रहेका छन् ।
लगातार ३ बर्षसम्म ३० प्रतिशतभन्दा कम विद्यार्थी नतिजा ल्याउने विद्यालयहरुमा शिक्षा विभागबाट प्राप्त हुने सरकारी अनुदान कटौती हुने व्यवस्था छ ।

Comments are closed.