पशु र बालीको पनि बिमा हुने
पोखरा, ११ चैत / साना किसान सहकारी संस्था लिमिटेड माझठाना कास्कीको अनुशरणमा सल्यान गाउँमा स्थापित त्यस्तै प्रकारको सहकारीको व्यवस्थापन स्थानीयलाई हस्तान्तरण गरिएको छ । ३ वर्षअघिदेखि माझठानाले व्यवस्थापन गर्दै सुरु भएको सहकारीको व्यवस्थापन बुधबार सल्यानमै आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
कृषि क्षेत्रमा सरकारले दिने अनुदान लगायत सहुलियतपूर्ण ब्याजका ऋणहरु साना किसान सहकारी संस्थाका माध्यमबाट उपलब्ध गराउँदै आएको छ । अब कास्कीको सल्यान गाविसका किसानले सरकारबाट तरकारी र मासुजन्य उत्पादन लगायत कृषिकर्मका लागि सस्तो ब्याददरको ऋण पाउनेछन् । सल्यानको सहकारीमा ४ सय सदस्य छन् । व्यवस्थापन हस्तान्तरण हुनुअघि तिनै ४ सय सदस्यबाट सेयर र बचतका रुपमा संकलित रकम गाउँमा परिचालन गरिएको थियो । त्यस्तो रकम ३७ लाख रुपैयाँ थियो । व्यवस्थापन स्थानीयले नै सम्हालेपछि सरकारले उक्त सहकारीलाई पनि सहुलियतको ऋणका लागि योग्य मान्छ । सरकारले दिने सहुलियतको ऋण साना किसान विकास बैंकमार्फत लिन सल्यानको सहकारीलाई बुधबारबाट बाटो खुलेको छ ।
उक्त सहकारीको व्यवस्थापन हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि बनेर गएका अर्थमन्त्री रामशरण महतले साना किसान सहकारीमार्फत अहिले किसानलाई दिन भनेर छुट्याएको बजेट अझै बढाउन सरकार तयार गरेको बताए । ‘सहुलियतको ऋण किसानले पाउन् भनेर छुट्याएको पैसा सदुपयोग भयो भने हामी अझैं बढाएर दिन्छौं,’ उनले भने ।
साना किसान सहकारीमार्फत किसानलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छ । माझठानामा साना किसानले ल्याएको परिवर्तनलाई देखेर सल्यानका बासिन्दाले माग गरेपछि साना किसान बैंकमार्फत त्यहाँ पनि सहकारी स्थापना गरिएको माझठानाको सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछानेले संवाददाताहरुलाई बताए ।
‘अब सल्यानका किसानले पशु तथा बालीको समेत बिमा पाउँछन् । साना किसान सहकारीबाट ऋण लिएर पालेको पशु र लगाएको बालीको बिमा हुन्छ,’ लामिछानेले भने, ‘बिमाबापत बुझाउनुपर्ने रकमका लागि सरकारले पनि केही पैसा हालेर सहयोग गर्दै आएको छ । पशु तथा बालीमा कुनै क्षति भएन भने बिमाबापत जम्मा भएको रकमबाट आर्जित नाफा त्यही बिमित किसानले लाभांशका रुपमा पाउँछन् ।’
साना किसान सहकारी संस्था माझठानाका अध्यक्ष पदमप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्थमन्त्री महतसहित कांग्रेस नेता शुक्रराज शर्मा, साना किसान सहकारी संस्था माझठानाका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक रुद्र भट्टराई, साना किसान बैंकका प्रमुख कार्यकारी अधिकृत जलनप्रसाद शर्मा, कास्की कांग्रेसका नेता पोषनाथ शर्मा, सल्यानको सहकारीका अध्यक्ष लोकनाथ पौडेलले मन्तव्य व्यक्त गरेका थिए । साना किसान विकास बैंक इलाका पोखराका प्रमुख विशालकुमार तुलाधरले संस्थाको प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा गायिका डाल्डा भुजेलले सहकारीसम्बन्धी गीत प्रस्तुत गरेकी थिइन् । सल्यानका बासिन्दाले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री महतसहितका पाहुनाहरुलाई बाजागाजा र फूलमालाले भव्य स्वागत गरेका थिए ।
Comments are closed.