पोखरा, ५ चैत । बिहिवारदेखि सुरु भएको एसएलसी परिक्षाकाे पहिलो दिनकाे अनिवार्य अग्रेजी बिषयको परिक्षामा कास्की सहित पश्चिमाञ्चलका जिल्लामा शान्तिपूर्ण रुपमा सकिएकाे छ । शुक्रवार दोश्रो दिन अनिवार्य नेपाली बिषयको परीक्षा हुँदैछ ।
पहिलो दिनको परिक्षामा कास्कीमा १ सय १३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । कास्कीमा नियमिततर्फ चार छात्र र चार छात्रा गरी ८ जना तथा एक्जाम्टेड तर्फ १ सय ५ जना बिद्यार्थीले अँग्रेजी बिषयको परीक्षा नदिएकाे जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएकाे छ ।
कास्कीमा पहिलो दिन चार हजार ८ सय ८५ छात्र र चार हजार ६ सय ६५ छात्रा गरी ९ हजार ५ सय ५० परिक्षार्थी सहभागि भए । कास्कीमा १० जना दृष्टिविहीन र १२ सुस्तश्रवण गरी अपाङ्गता भएका २२ परीक्षार्थीले परीक्षा दिएका छन् । त्यस्तै वाल सुधार गृहमा रहेका ५ तथा जिल्ला कारागारमा रहेका ५ कैदीबन्दीको साथै एक जनाले प्रहरी हिरासतबाटै परिक्षामा सहभागिता जनाएका छन् ।
परिक्षाको पहिलो दिन पश्चिमाञ्चलमा एक हजार तीन सय ७८ बिद्यार्थी अनुपस्थित भएका छन् । क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका शाखा अधिकृत बद्री सुवेदीका अनुसार पश्चिमाञ्चलको सबैभन्दा बढी बिद्यार्थी रहेको रुपन्देहीमा पहिलो दिन एक सय ८४ बिद्यार्थी अनुपस्थित भए ।
देशकै सबैभन्दा कम ७४ परिक्षार्थी रहेको मनाङमा पहिलो दिन ६७ परिक्षार्थी मात्रै उपस्थित भए । त्यस्तै एक मात्रै परिक्षा केन्द्र रहेको मुस्ताङमा सबै (एक सय १७ ) परिक्षार्थीले सहभागिता जनाए । तनहुमा एक सय ६२ , लम्जुङमा एक सय ८, गोरखामा ६२, स्याङजामा एक सय ४ परिक्षार्थी पहिलो दिनको परिक्षामा अनुपस्थित भएको उपस्थित नभएको निर्देशनालयले जनाएको छ ।
यसैगरी पर्वतमा ७९ , बाग्लुङमा एक सय ५७, म्याग्दीमा २२, अर्घखाचीमा एक सय २३ परिक्षार्थी अनुपस्थित रहे । पहिलो दिन पश्चिमाञ्चलको पाल्पामा ४२, कपिलबस्तुमा एक सय ७ र गुल्मीमा एक सय ८ परिक्षार्थी उपस्थित भएनन् ।
Comments are closed.