
अमृत सुवेदी/पोखरा २३ कार्तिक
कास्कीमा झनै खाद्य असुरक्षा बढ्दै गएको छ । युवा शक्ति पलायन, खेतियोग्य जमिन बाँझिदै जानु र यो बर्ष प्राकृतिक विपतका कारणसमेत गएको बर्षमा भन्दा यस बर्ष थप खाद्य असुरक्षा बढेको हो । कास्कीमा गएको बर्ष भन्दा ४ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ ।
गएको बर्ष १४ हजार मेट्रिटन मात्रै खाद्यान्न अपुग भएकोमो यो बर्ष बढेर १७ हजार मेट्रिकटन अपुग हुने भएको हो । कास्कीमा यो बर्ष किसानले समयमै मल पाउन सकेनन् भने बाढी पहिरोले पामे, हेमजा, भदौरे, चापाकोट लगायतका ठाउँमा क्षति पुर्याएपछि धान उत्पादनमा पनि झण्डै १० प्रतिशत कमी आउने कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले जानकारी दिए ।
कार्यालयले बर्षेनी व्यावसायिक कृषिमा आकर्षण बढ्दै गएको बताएपनि उत्पादन भने बढ्न सकेको छैन । खेतियोग्य जमिन बाँझिदै जाने क्रम बढ्दै गएको छ । कास्कीमा गएको बर्ष भन्दा यो बर्ष ५ देखि सात प्रतिशत बढी खेतियोग्य जमिन बाँझिएका छन् ।
जसका कारण सर्वसाधरण अझै बाहिरवाट आयतित खाद्यन्न, तरकारी तथा फलफुलमै निर्भर छन् । ‘सरकारले कृषि लगानी बढाउने भन्दै अनुदानका कार्यक्रम ल्याइरहेको छ तरपनि कृषिको विकास हुन सकिरहेको छ’ अधिकृत कोइरालाले भने, ‘सुरु गरेकाले पनि निरन्तरता दिन सकेनन् । धेरै जना शहर केन्द्रित भए ।’
गएको बर्षमा झण्डै २६ हजार हेक्टर जमिनमा खेति हुने भएपनि यो बर्ष घटेर २५ हजारमा पुगेको कार्यालयको तथ्याङ्क छ । खेतियोग्य जमिन रहेकोकास्कीमा दाल पनि केही मात्रै यहाँ उत्पादन हुने भएपनि धेरैजसो बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ । मकै, गहुँ, गेडागुडी उत्पादनमा पनि कास्की आयातमै निर्भर हुनुपरेको छ ।
यहाँको माग धान्नका लागि १ लाख १ हजार ६ सय मेट्रिकटन बढी खाद्यन्नको आवश्यकता पर्छ तर गत बर्षको आँकडा अनुसार ८५ हजार ५ सय मेट्रिकटन मात्र खाद्यन्न उत्पादन हुने गरेको छ । यस बर्ष मकै, कोदो, भट्टमासमास पनि झण्डै ७० प्रतिशत बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको छ ।
खाद्यान्यमा असुरक्षित पोखरा तरकारीमा भने निर्भरता बढ्दै गएको छ । सरकारले व्यावसायिक तरकारी खेतिमा विभिन्न कार्यक्रम ल्याएपछि यस कार्यक्रमवाट व्यावसायिक रुपमा तरकारी खेति गर्नेहरु थपिएको अधिकृत कोइराला बताउँछन्। कास्कीमा २५ सय ९० हेक्टरमा तरकारी खेति हुने गरेको छ ।
यसमा व्यावसायिक तरकारी खेति कार्यक्रम मार्फत कम्तीमा पाँच रोपनीका दरले १ सय ९० जना थपिएका छन् । गत बर्षको तत्थ्याङ्क अनुसार कास्कीमा ४५ हजार ५ सय १९ मेट्रिकटन तरकारी उत्पादन भएको थियो । तरपनि अझै ९ हजार ५ सय ७८ मेट्रिकटन तरकारी बाहिरवाट ल्याउनुपर्ने अवस्था छ ।
खाद्य सुरक्षामा कास्की न्यून रहेता पनि पहुँचको आधारमा भने सुरक्षित रहेको कृषि कार्यालय बताउँछ । अपुग भएपनि सजिलै खाद्यान्न उपलब्ध हुन सक्ने भएका कारण पनि कास्कीका किसान पलायन हुने क्रम बढेको कोइराला बताउँछन् । ‘यहाँ उत्पादन नभएपनि बाहिरबाट सजिल्यै ल्याउन सकिन्छ’ कोइरालाले भने, ‘यहाँ उत्पादन नगरेपनि सजिलै माग पूर्ति हुने भएपछि धेरैले कृषि कर्म गर्नै छाडे ।’
खाद्यान्यको परनिर्भरदाले अहिले भारतीय नाकावन्दीका कारण परेको समस्याबाट पाठ सिक्नुपर्ने देखिएको छ । नयाँ प्रविधिको प्रयोग गर्दै व्यावसाियक कृषि कर्म गरेर पनि मनज्ञ आम्दानी र सफल हुन सकिन्छ भन्ने ज्ञान सबैले राखिदिए परनिर्भरदा घट्दै जाने कोइराला बताउँछन् ।
विश्व खाद्य दिवस कार्यक्रम
कास्कीमा आज ३५ औं विश्व खाद्य दिवस मनाइदैछ । ‘कृषि र सामाजिक सुरक्षा। गरिबी घटाउने प्रतिवद्धता’ भन्ने नाराका साथ आज दिवस मनाउन लागिएको हो । खासगरी विश्व खाद्य दिवस अक्टोवर १६ मा पर्ने भएपनि त्यबेला चाडपर्वहरु परेका कारण त्यसको एक महिनासम्म दिवसलाई मनाउने निर्णय अनुसार कास्कीमा आज यो दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरका आज प्रभातफेरी किसान सम्मान, अन्तक्र्रिया, गोष्ठी गरी दिवस मनाउन लागिएको जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ । यसैगरी कृषि सम्वन्धि भएको निवन्ध प्रतियोगितामा विजेता विद्यार्थीलाई पनि पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत कोइरालाले जानकारी दिए ।
सन्दर्भः विश्व खाद्य दिवस
Comments are closed.