कास्कीमा चार सामुदायिक अध्ययन केन्द्र थपिँदै

साक्षरता दर र आयआर्जनमूलक कार्यक्रममा जोड


पोखरा, ३२ जेठ
कास्कीमा यसबर्ष थप चारवटा नयाँ सामुदायिक अध्ययन केन्द्र स्थापना हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय कास्कीले धिताल, ढिकुरपोखरी, दाङ्गसिङ्ग र पोखरा उप–महानगरपालिका वडा नं. १५ रामबजारमा सामुदायिक अध्ययन केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु भैसकेको जनाएको छ ।DEO_Kaski_Office
“केन्द्र स्थापनाका लागि माग भएका ठाउँबाट आवश्यक तथ्यांक र सूचना संकलनको काम भैरहेको छ ।” कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगन सिंह थापाले भने– “छिट्टै शिक्षा कार्यालयमा बैठक बसेर आवश्यक प्रक्रिया पूरा हुनेछ ।” यी सामुदायिक अध्ययन केन्द्रहरुबाट साक्षरता दर बढाउनुका साथै बचत तथा आयआर्जनका कार्यक्रम समेत प्रभावकारीरुपमा स्थानीयस्तरसम्म पुर्याउन सहयोग पुग्ने उनले बताए ।
कार्यालयले बिशेषगरी होमस्टेको सुविधा भएका कास्कीका पर्यटकीय ग्रामिण क्षेत्रमा पर्यटकलाई समेत सहज तरिकाले सूचना उपलब्ध गराउने उद्देश्यले सामुदायिक अध्ययन केन्द्र स्थापनामा जोड दिएको छ । कास्कीमा अहिले २७ वटा सामुदायिक अध्ययन केन्द्र संचालित छन् । अब ४ वटा थपिएपछि सामुदायिक अध्ययन केन्द्रको संख्या ३१ पुग्नेछ । सामुदायिक अध्ययन केन्द्रका लागि सरकारले पहिलो चरणमा ५० हजार रुपैयाँ बजेट र एकजना कर्मचारीको व्यवस्था गर्ने गरेको छ ।


केही केन्द्रहरु सम्बन्धित गाविस तथा सरकारी विद्यालयहरुसँग कोठा मागेर सञ्चालित छन् भने केहीलाई विभिन्न दाताहरुले सहयोग गरिदिएका छन् ।


तर सरकारले अध्ययन केन्द्रका लागि छुट्याएको बजेट निकै कम भएकाले व्यवस्थापनमा समस्या पर्ने गरेको सहायक जिल्ला शिक्षा अधिकारी थापाले बताए । “सरकारी रकम केन्द्र स्थापनाका लागि अपर्याप्त छ ।” उनले भने– “रकम अभावकै कारण भौतिक पूर्वाधार निर्माण गर्न तथा प्रधावकारी कार्यक्रमहरु संचालन गर्न सकिएको छैन । केही केन्द्रहरु सम्बन्धित गाविस तथा सरकारी विद्यालयहरुसँग कोठा मागेर सञ्चालित छन् भने केहीलाई विभिन्न दाताहरुले सहयोग गरिदिएका छन् ।”

कास्कीको हेम्जा, भण्डारढिक, रिभान लगायतका ठाउँमा स्थापना भएका सामुदायिक अध्ययन केन्द्रहरु बढी प्रभावकारी पाईएको उनले बताए । कास्की जिल्लालाई छिट्टै पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भैरहेकाले यी केन्द्रहरुले अभियानलाई थप सहयोग पुग्ने उनको भनाई छ ।
कास्कीमा संचालित सामुदायिक अध्ययन केन्द्रबाट ग्रामिण क्षेत्रका साक्षर व्यक्तिहरुले आर्थिक उर्पाजनमा सहयोग पुग्नेगरी अनौपचारिक शिक्षा लिईरहेका छन् । नेपाल मानवअधिकार बर्षपुस्तक सन् २०१२ को तथ्याङ्क अनुसार कास्कीको साक्षरता दर ९१ प्रतिशत रहेको छ । अघिल्लो बर्ष कास्कीमा ६ वटा सामुदायिक अध्ययन केन्द्र स्थापना भएका थिए । कार्यालयले कास्कीका सबै गाविस र नगरपालिकाका वडाहरुमा केन्द्र स्थापना गरी साक्षरता दर बढाउने तथा समूह गठन गरी बचत र आयआर्जनका क्रियाकलापहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

Comments are closed.