कास्कीमा मासिक २० लाखको माछाको कारोबार

दैनिक पाँच हजार किलो उत्पादन

7102एकराज गिरी। पोखरा, २५ फागुन  ।
पोखरामा मासिक २० लाख रुपैयाँको माछाको कारोबार हुने गरेको छ । पोखरामा एक महिनामा पाँच हजार किलो माछा उत्पादन हुने गरेको कास्की मत्स्य व्यवसायी समिति पोखराका अध्यक्ष दयाराम तिवारीले जानकारी दिए । कास्कीमा मात्रै दैनिक पाँच सय किलो माछा उत्पादन हुने गरेको तथ्यांक छ । कास्कीमा तीन सय जनाले व्यवसायीक रुपमा माछापालन गर्दै आएका छन् भने लेखनाथ क्षेत्रबाट मात्रै दैनिक तीन सय किलो माछा उत्पादन हुने गरेको छ । कास्कीको बेगनासतालमा मात्रै ६० जलारी परिवार माछापालमा प्रत्यक्ष संलग्न छन् । त्यस क्षेत्रमा ५० पोखरीमा माछापालन हुने गरेको छ । सात तालको बाटिका शहरका रुपमा परिचित लेखनाथमा पछिल्लो क्रम सहकारी स्थापना गरेर माछापालन गर्ने क्रम पनि उत्तिकै बढेको छ ।

लेखनाथकै अर्को ताल रुपातालमा सहकारी मार्पmत सात सय जना माछा पालनमा लागेको अध्यक्ष तिवारीले बताए । विशेष गरि कास्कीमा रधु, नैनी, भाकुर, विगहेड, कमन, सिल्भर र तिलेपीया जातका माछा उत्पादन हुने गरेको छ । भने कास्कीको लेखनाथमा मात्रै माधुर माछा दैनिक २ सय उत्पादन हुने गरेको पनि उनले जानकारी दिए । उत्पादित माछा पोखरामा अपुग हुने र दैनिक ४५ सय माछा अन्यत्रबाट पोखरा भित्रिने गरेको छ । चितवन, हेटौडा, कपिलवस्तु र जनकपुर लगायतका ठाँउबाट आएको माछाले पोखराको मागलाई थेग्ने गरेको पनि अध्यक्ष तिवारीले बताए । कास्कीमा माछा उत्पादन विगत केही वर्ष यता बढ्दो छ । गत वर्ष प्रत्येक दिन २ सय ७५ किलो उत्पादन भएपनि यस वर्ष बढेर तिन सय पुगेको उनले बताए । कात्तिक देखि माघ महिनालाई माछाको सिजन मानिन्छ ।

Comments are closed.