कास्कीमा १० घाईते, दर्जन बढी घर भत्किए, विद्यालयमा भागदाैड, अब २ गते विद्यालय बन्द

पाेखरा ३० बैशाख/ पछिल्लो पटकको भूकम्पले कास्कीमा १० जना घाइते भएका छन् । अहिलेसम्म प्राप्त सूचनाका अनुसार पोखरा ६ लेकसाईड बस्ने २४ वर्षीय दीपक सुनार, पोखरा सिर्जनाचोकका २६ वर्षीय रविन शेरचन, चिप्लेढुंगाकी ४१ वर्षीया यशोदा पराजुली, नयाँगाउँका ५७ वर्षीय हरिदेवी छन्त्याल घाइते भएका छन् । सुनार घरको २ तला माथीबाट हामफाल्दा घाइते भएका हुन् । उनको बायाँ खुट्टाको नली खुट्टामा चोट लागेको छ ।

शेरचन र पराजुलीको भूकम्प आइरहेको समयमा भाग्ने क्रममा खुट्टामा चोट लागेको छ । पोखरा ६ लेकसाईडका ३८ वर्षीय राजु थापा, पोखरा रामघाटकी १४ वर्षीया तिर्सना तिवारी, सिर्जनाचोककी कमला जोशी, छोरेपाटनका २४ वर्षीय सन्दीप सुवेदी, गलेश्वरचोककी २९ वर्षीया दिलमाया सुनार, लेखनाथ १८ भरतपोखरीका २२ वर्षीया चेतना आचार्य पनि घाइते भएकी छन् ।

घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, मंगलबारको भूकम्पले कास्कीका दर्जनभन्दा बढी घर भत्किएका छन् । अघिल्लो भूकम्पका कारण चर्किएका घरहरुमा मंगलबारको भूकम्पले बढी क्षति पुगेको छ । सबै क्षेत्रको विवरण आईनसकेकाले भत्किएका घरहरुको संख्या निकै बढि हुनसक्ने अनुमान गरिएको छ ।

IMG_0084

मङ्गलबार गएकाे भूकम्पले पाेखरामा अधिकाँस विद्यालयमा भागदाैड मच्चिएकाे थियाे । विद्यालय समयमा भूकम्प अाएका कारण विद्यार्थीहरु त्राशले भाैगदाैड गर्दा धेरै विद्यार्थी घाइते भएका छन् । पाेखराकाे छाेरेपाटन उच्च माविमा भूकम्प अाएपछि विद्यार्थीहरु माथिल्लाे तलाबाट समेत हाम फालेका थिए । यस्तै अमरसि‌ँह उच्च माविमा विद्यार्थी घाइते भए । भूकम्प गएसँगै अभिभावकहरु विद्यालय पुगेका थिए । भूकम्पले विद्यार्थीहरुमा ठूलाे त्राश रहेकाे शिक्षकहरुले बताएका छन् । IMG_0059

कास्कीका शैक्षिक संस्था जेठ २ गतेसम्म बन्द

मंगलबारको भूकम्पपछि, कास्कीका शैक्षिक संस्था जेठ २ गतेसम्मका लागि बन्द हुने भएका छन् । शिक्षा मन्त्रालयले जेठ १५ गतेसम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि कास्कीमा भने २ गतेसम्म बन्द गरी ३ गतेदेखि सुचारु गराउने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिएका छन् ।
पटक पटक भएको भूकम्प पछि विद्यार्थी र शिक्षकहरुमा समेत त्रास बढेकोले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको आचार्यले बताए ।
मंगलबारको भूकम्पले कास्कीको सिद्ध र थुमाकोडाँडामा रहेका ए, एक विद्यालयमा क्षति पुगेर र अन्य विवरण आईनसकेको उनले जानकारी दिए । यसअघि बैशाख १२ गते गएको भूकम्पले ९० भन्दा बढी स्कूलमा क्षति पुगेको थियो ।

शिक्षा मन्त्रालयले भने भूकम्पबाट अति प्रभावित बाग्मती अञ्चलका ८ सहित गोर्खा, दोलखा र रामेछापका सबै शैक्षिक संस्था १५ गतेसम्मै बन्द गर्ने निर्णय गरेको छ । बाँकि जिल्लाको हकमा जिल्ला शिक्षा समिति र जिल्ला दैवि प्रकोप उद्धार समितिले आवश्यकता हेरी निर्णय गर्न सक्ने मन्त्रालयको भनाई छ ।

भूकम्पले सेतीले खियाएको भाग पनि भत्कियो

मंगलबारको भूकम्पका कारण पोखराको सेती नदी किनारको डिल भत्किएको छ । बगरस्थित पृथ्वीनारायण क्याम्पस पारीको डिल भूकम्पको कम्पनका कारण भत्किएको हो । त्यस ठाउँमा सेतीले खियाएर निकै गहिरो बनेको थियो ।सेती ले खियाएको भाग भत्किएपछि सेती थुनिनसक्ने खतरा रहेको भन्दै पोखरेलीहरु त्रसित बनेका छन् ।
यद्यपी सेती नदीमा अहिले पानीको सतह र वहाव निकै थोरै रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ । तर सतर्क रहन प्रहरीको सुझाव छ । सेतीको डिल भत्किएपनि सेती नदी आफ्नै धारमा बगिरहेको छ ।

 

Comments are closed.