–जुवातास, पटका र बलजफ्ती देउसीभैलो नियन्त्रण गर्छौंः एसपी पाल
–नाका नाकामा कुकुरसहितको चेकिङ्ग
–देउसेभैलो १० बजेसम्म मात्र
पोखरा २४ कार्तिक/कास्की जिल्ला पटका निशेधित भएको छ । मंगलबार पोखरामा एक कार्यक्रम गरी कास्कीलाई पटका निशेधित जिल्ला घोषणा गरिएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त गौतमले पटका निशेधित क्षेत्रको रुपमा घोषणा गर्दै कसैले पटका पट्काउने, विक्री वितरण गर्ने गरेको पाइए नियम बमोजिम कारवाही गर्न बताए ।
यो अभियानलाई नागरिक समाज पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा नगर महिला समन्वय समिति, सामुदायिक एवं प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की र टोल विकास संस्था नगर समन्वय समितिले अगुवाई गर्दै आएका थिए ।
नेपालीहरुको दोस्रो महान पर्व तिहारमा हुनसक्ने पटाका लगायत विष्फोटक पदार्थको प्रयोगलाई निरुत्साहित गर्न कास्कीलाई पटाका निषेधित क्षेत्र घोषणा गरिएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । पटाका ओसार पोसार र विक्री वितरण गर्न कानुनले रोक लगाएको छ । कसैले अवैध रुपमा ओसार पोसार, विक्री वितरण गरेमा प्रचलित कानुन वमोजिम जिल्ला प्रशासन कार्यालयले कारवाही गर्नेछ ।
तिहारको समयमा पटाका लगायत विष्फोटक पदार्थको ओसार पोसार तथा विक्री वितरणलाई न्यूनीकरण गर्न प्रहरीले सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ । पोखरा छिर्नेे विभिन्न नाकाहरुमा तालिम प्राप्त कुकुर सहितको टोलि खटाइएको प्रहरीको भनाई छ । कसैले पटाक विक्री वितरण गरेको पाइएमा खबर गर्न प्रहरीले सबैलाई अनुरोध समेत गरेको छ । कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गौतमले चाडपर्वलाई विकृति रहित बनाउनुपर्ने बताए । उनले तिहारको मौलिक संस्कृति जगेर्ना गर्ने गरी देउसी÷भैलो खेल्न सवैलाई आग्रह गरे ।
आधुनिक आडम्बरको रुपमा रहेको पटाका संस्कृति तराई हुँदै देशका विभिन्न शहरमा भित्रिएकोभन्दै पटाका संस्कृति नेपालीको मौलिक संस्कृति नभएको उनको भनाई छ । उनले पटाका नेपालको उत्पादन नभएकोभन्दै त्यसको प्रयोगले अरबौ रुपैया विदेशिने उल्लेख गर । पटाका, भुइचम्पा र आतसवाजीलाई कानुनले छुट दिएको छैन सहायक प्रमुख जिल्ला अधिकारी गौतमले भने – ‘कानुन विपरित गरेको पाइए कारवाही गरिने छ ।’ राती दश बजे भन्दा पछाडी देउसेभैलो खेले कारवाही गरिने प्रशासनले जनाएको छ ।
विगतका बर्षहरुको आपराधिक घटनालाई विश्लेषण गरी यसपटकको तिहारमा पनि हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर थप सुरक्षा रणनीति अपनाईएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी हरिबहादुर पालले जानकारी दिए । “तिहारमा सुरक्षा व्यवस्था चुस्त बनाउन हामीले सक्दो प्रयास गरेका छौं” उनले भने– “६ सयको हाराहारीमा जनशक्ति परिचालन गरिएको छ । कहिँ कतै दुर्घटना भईहालेमा थप सुरक्षाकर्मीको व्यवस्थाका लागि क्षेत्रीय प्रहरी कार्यालयलाई समेत आग्रह गरेका छौं ।”
यसैगरी, प्रहरीले कास्कीको सुरक्षा व्यवस्था थप मजबुत बनाउन अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाउने, सादा पोशाकमा प्रहरी परिचालन गरी अपराध हुनसक्ने सम्भावित क्षेत्रहरुमा परिचालन गर्ने, विभिन्न ठाउँबाट घर फर्किनेहरुको संख्या बढि हुने हुँदा बसपार्क, विमानस्थल, राजमार्ग तथा सवारीसाधनमा बिशेष चेकजाँचको व्यवस्था गर्ने लगायतका योजना निर्माण गरी कार्यान्वयन गरिरहेको जनाएको छ ।
सामुदायिक एवं प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले नाकाहरुबाट अत्यावश्यक सामाग्री नआएको अवस्थामा समेत पटाका भित्रिएको सूचना पाएकोभन्दै प्रशासनको ध्यानाकर्षण गराए ।
Comments are closed.