को हुन्छ नयाँ राष्ट्रपति ? कहिलेसम्ममा बन्लान् नयाँ राष्ट्रपति ? यो प्रश्नको जवाफ राजनीतिक पण्डितहरुलाई समेत थाहा छैन । तर राजनीतिक बजारमा राष्ट्रपतिका उम्मेदवारहरु एक्स्पोज हुन थालेका छन् । नयाँ संविधान बनेसँगै नयाँ राष्ट्रपतिको खोजी हुने पक्का छ ।
“कांग्रेस–एमालेले राष्ट्रपतिको प्रस्ताव राखेका छन् ।” एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साता आफ्नै पार्टीका नेताहरु समक्ष यस्तो रिपोर्टिङ गरे । उनको रिपोटिङको कसैले खण्डन गरेको छैन । तर पार्टी नेतृत्व हस्तान्तरण गर्ने संकेत गरेका प्रचण्डले राष्ट्रपतिको इच्छा प्रदर्शन गरेको समेत आरोप छ । प्रचण्डलाई कांग्रेस–एमालेका शीर्ष नेताहरुले नै यस्तो प्रस्ताव गरेको स्रोत बताउँछ ।
यसअघि नै कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीवीच राष्ट्रपति र प्रधानमन्त्रीबारे गोप्य भागवण्डा भैसकेको बजार हल्ला चल्यो । संविधानका विवादीत विषयमा कांग्रेसका एजेण्डामा एमाले सहमत हुनुको मुल कारण यसैलाई ठानियो । कांग्रेस सभापति कोइरालालाई राष्ट्रपतिमा मनाउनसक्दा आफू प्रधानमन्त्री बन्न सक्ने ओलीको बुझाई गलत लाग्दैन ।
राष्ट्रपति बन्ने सपना पालेर बस्नेमा एमाले निवर्तमान अध्यक्ष झलनाथ खनाल अगाडि छन् । उनले पार्टी अध्यक्ष केपी ओलीवाट महाधिबेशनताका नै यस्तो प्रस्ताव पाएको वताईन्छ । राष्ट्रपति कै ललिपप ख्वाएर खनाललाई नेपाल क्याम्पवाट अलग्याएको एमाले नेताहरु नै वताउँछन् । तर राजनीतिक अवस्था बक्ररेखामा घस्रिदैगर्दा केपी ओलीले अध्यक्षको उम्मेदवार नै परिवर्तन गरेको पनि अर्कोथरीको बुझाई रहेको छ ।
स्रोतका अनुसार अव ओली माधव नेपाललाई राष्ट्रपतिकोलागी अघि सार्ने मनस्थितिमा पुगेका छन् । पार्टी सञ्चालनकोलागी नेपाललाई राष्ट्रपतिमा थन्क्याउन सक्दा सजिलो पर्ने उनको बुझाई रहेको छ । माघ ८ मा संविधान नबनेपनि सुशील कोइराला सरकार ढल्छ भन्ने नेता खनालको भर्खरैको अभिब्यक्तिलाई पनि जानकारहरु बार्गेनिङको संज्ञा दिन्छन् । भनिन्छ – “खनालमा राष्ट्रपतिको भूत सवैभन्दा धेरै चढेको छ ।”
तर, पछिल्लो समय एमाले अध्यक्ष ओली राष्ट्रपतिमा पार्टीले दावी गर्न नहुने विश्लेषणमा पुगेको वताईन्छ । राष्ट्रपतिमा दावी गर्दा आफ्नो भागमा आउने संभावित प्रधानमन्त्री पद उम्कने ओलीपक्षको बुझाई रहेको छ । राष्ट्रपति पाउने भए खनाल–नेपाललाई होइन, आफ्नै पोल्टामा पार्ने पनि ओलीको मनोकांक्षा बुझ्न गार्हो छैन ।
Comments are closed.