विसं २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा दोस्रो स्थान हासिल गरेको एमाओवादी २०७० को निर्वाचनमा आएर तेस्रोमा खुम्चिएको थियो। गत शनिबार भएको उपनिर्वाचनमा तेस्रो स्थानमै रहे पनि मत भने अस्वभाविक हिसाबले कम प्राप्त गर्योन। एमाओवादी २०६४ को संविधानसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धी मतका साथ दोस्रो स्थानमा रहेको थियो। एमाओवादीलाई पछि पार्दै उक्त निर्वाचनमा नेकपा (एमाले) विजयी बनेको थियो।
विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमाओवादीले छ हजार तीन मत ल्याएको थियो। अहिले भएको उपनिर्वाचनमा भने त्यसबाट पनि घटेर जम्मा दुई हजार ५०५ मत प्राप्त गरेको छ।
एमाओवादीका पकड भनिने गाविसबाटै उसलाई कम मत खसेको छ। एमाओवादीको प्रभाव भएको गाविस मानिने ताराखोलामै उ तेस्रो स्थानमा रहन पुगेको छ। अधिकांश गाविसमा एमाओवादीलाई कम मत खसेका छन्। सङ्गठन निर्माण र निर्वाचन परिचालनमै एमाओवादी असफल देखिएको छ। आफ्नै मतसमेत बचाउ गर्न नसकेको आरोप उसमाथि छ।
जम्मा ३८ हजार ४८ मतमध्ये जम्मा दुई हजार ५०५ मत पाएपछि एमाओवादीले जमानत जफत हुने अवस्था आएको हो। कुल खसेको मतमध्ये १० प्रतिशतभन्दा कम मत ल्याइने उम्मेदवारको जमानत जफल हुने कानुनी व्यवस्था छ। एमाओवादीको मत कम आएपछि नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारको मत बढेको छ। नेपाली कांग्रेसका उम्मेदवार चम्पादेवी खड्काले १७ हजार १५४ मत लिएर विजयी भइन्।
खड्काका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार मनकुमारी केसीले १५ हजार ६८ मत प्राप्त गरिन्। मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस र नेकपा (एमाले) बीच दुई हजार ८६ को मतान्तर देखिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार एकीकृत नेकपा (माओवादी) का उम्मदेवार कृष्णबहादुर केसीले दुई हजार ५०५ मत प्राप्त गरे।
चौथो स्थानमा आएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार नेत्रबहादुर बुढाथोकीले एक हजार ९४९ नेकपा (माले)का कुलबहादुर किसानले ४४४, राप्रपा नेपालका नवीनचन्द्र शर्वुजाले २६५, सङ्घीय समाजवादी पार्टी नेपालका रेशम थापामगरले २४४, नेपाल परिवार दलका बाबुराम शर्माले ३५, राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुनले ६०, राष्ट्रवादी एकता पार्टीका क्षेत्रप्रताप थापाले २४ मत प्राप्त गरेका छन्। विसं २०७० मा भएको निर्वाचनमा नेपाली काँग्रेसका स्व सभासद् हरिबहादुर खड्काले १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए। रासस
Comments are closed.