कुखुराको मासु खाँदा सातजना बिरामी

पोखरा, ५ असोज
घरमा पालेको कुखुराको मासु खाएका पोखरा– १७ घारीपाटनका सातजना बिरामी परेका छन् । खड्गकुमारी गुरुङको घरमा कुखुरा काटेर खाएपछि उनका परिवार र पाहुनाहरू बिरामी परेका हुन् ।

बिरामी पर्नेहरूमा खड्गकुमारीका दुई भतिजी शीतल गुरुङ र शीला गुरुङ, दुई भाइ सन्तोष गुरुङ र सन्तोष मल्ल, दुई छोरा कुशल गुरुङ र सुनिल गुरुङ र गाउँले मामा पर्ने रनबहादुर विक छन् ।

बिरामीहरूको अहिले पोखराको सिर्जनाचोकस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको छ । गएको शनिबार राति मासु खाएपछि पेट दुख्ने, झाडापखाला र बान्ता हुने लक्षण देखिएको थियो ।

लक्षण सामान्य भएको ठानेर स्वास्थ्यकर्मीको सल्लाह लिएर औषधि खाएकामा झन् चाप्दै गएपछि भोलिपल्ट अस्पताल भर्ना भएका बिरामी परेकी शीतल गुरुङले बताइन् । उपचारपछि उनीहरूको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

Comments are closed.