कास्की क्षेत्र नम्बर–२ का लागि साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले कुसंस्कृत राजनीतिले मजदुर र किसानलाई दास बनाएको बताएकी छन् । उनले दासको मानसिकताबाट मुक्त भएर आफ्नो अमूल्य मत खसाल्न मतदातालाई आग्रह गरेकी छन् ।
चुनावी घरदैलोअन्तर्गत मंगलबार रानीपौवामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले सो भनाइ राखेकी हुन् । निजी स्वार्थका लागि अहिले आम जनतालाई त्रासमय अवस्थामा बाँच्न बाध्य बनाइएको बताउँदै उनले स्वतन्त्र भएर मत खसाल्न आग्रह गरिन् ।
उनले भनिन्, ‘अब जनताले कुसंस्कार र असत्यको विरुद्धमा आवाज उठाउने समय आयो, स्वतन्त्र भएर मत खसाल्न म आग्रह गर्दछु ।’ जनताको आवाज सदनसम्म पु¥याउन उम्मेदवारी दिएको उनले बताइन् । परिवर्तन र विकासका लागि जनताले आफ्नो अधिकारको सहि सदु¥योग गर्नुपर्नेमा उनको जोड थियो ।
सरकार नागरिकप्रतिको दायित्वबाट टाढा हुन खोजिरहेको भन्दै उनले देशले विकल्प खोजेको बताइन् । आर्थिक अपचलन गरेर सबैको भोट संकलन गर्ने काम नगर्ने प्रतिबद्धता उम्मेदवार केसीले जनाइन् । सरुवा, बढुवाको चलखेलमा लाग्नेहरुका कारणले देश पछाडि परिरहेको भन्दै उम्मेदवार केसीले ढिलो चाँडो त्यसको नतिजा आउने स्पष्ट पारिन् ।
यस्तै कार्यक्रममा बोल्दै साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले साझालीहरु व्यक्तिगत स्वार्थका लागि नभइ देशको समृद्धिका लागि राजनीतिमा होमिएको बताए । भविष्य खोज्दै परिवार छोडेर खाडी जानुपर्ने बाध्यता विद्यमान रहेको भन्दै उनले अब मन र मत बदलेर अगाडि बढ्ने समय आएको बताए ।
पार्टीले मंगलबार रानीपौवासँगै फूलबारीमा पनि कोणसभा आयोजना गरिएको थियो । उम्मेदवार केसी सहितको टोली मंगलबार पोखरा–११ अन्तर्गत काहूँ, फूलबारी, रानीपौवालगायतका ठाउँका मतदाता भेट्न पुगेको थियो । बुधबार पोखरा–१५ मा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ ।
Comments are closed.