कृषि विमाप्रति किसान बेखबर

‘किसानको काबुभन्दा बाहिरको परिस्थितिमा भएको नोक्सान बिमाले बेहोर्छ’ कडरियाले भने ‘असिना, पानी, बाढी, खडेरी, वर्षा, पहिरोबाट हुने क्षतिलाई यसले समेट्छ ।’ बिमा गर्ने किसानको बालीमा पूर्ण क्षति भएमा लागतको ९० प्रतिशत रकम पाउने व्यवस्था छ ।


अमृत सुवेदी

 पोखरा १० वैशाख । मंगलबार आएको असिना पानीले कास्कीका किसानलाई चौपट बनायो । लाखौंको तरकारी तथा अन्नबाली सखाप पा¥यो । भर्खरै फुल खेल्न सुरु भएको सुन्तला, लिची लगायतका फलफूलबालीमा बढी क्षति पुग्यो भने टिप्न भरेभोली भएको तरकारी पनि छियाछिया बनाइदियो । असिनापानीले तरकारी, फलफुल तथा अन्नबाली मात्र छियाछिया बनाएन धेरै किसानको मन पनि छियाछिया बनाइदियो । तर, किसानहरुले कृषि विमा गरेको भए किसानले राहत पाउने थिए । बिमाबारे पर्याप्त जानकारी नपाउँदा कास्कीका किसानले कृषि बिमा गरेका छैनन् ।

asina-pani (1)नेपाल सरकारले कृषि बिमा गर्न किसानलाई अनुदान दिन थालेको दोस्रो आर्थिक वर्ष चलिरहँदा पनि कास्कीका किसान भने बिमा गर्न अग्रसर भएका छैनन् । आर्थिक वर्ष २०७० र ७१ देखि किसानलाई उत्पादनमा हुने जोखिम कम गर्न अनुदान सहयोगको व्यवस्था गरेर बिमा योजना अघि सारिएको हो । कृषि बालीहरू तरकारी, अन्न बाली तथा फलफूल खेतीको कृषि बिमा गर्दा लागत मूल्यको पाँच प्रतिशत रकम प्रिमियमबापत बिमा कम्पनीलाई बुझाउनुपर्छ । प्रिमियम बुझाउनुपर्ने रकमको ७५ प्रतिशत अनुदान सहयोग गर्ने व्यवस्था सरकारले गरेको छ । व्यावसायिक तरकारी खेतीमा आकर्षण बढीरहेको कास्कीका किसान भने बिमाबाट टाढा छन् ।

कास्की तथा यस आसपासको क्षेत्रमा शिद्धार्थ इन्सुरेन्स् कम्पनीसँग कृषि विमा गर्ने सम्झौता भएको छ । तर, कास्कीमा अहिलेसम्म कृषि विमा नभएको जिल्ला कृषि विकास कार्यालय कास्कीका वागवानी अधिकृत मनोहर कडरियाले बताए । जिल्लामा तरकारी, फलफूल तथा अन्नबालीको व्यावसायिक खेती गर्ने कृषकले बिमा गर्ने भनेर कार्यालयमा सम्पर्क गरे पनि अहिलेसम्म कसैले बिमाको प्रक्रिया अघि नबढाएको उनी बताउँछन् ।

‘किसानको काबुभन्दा बाहिरको परिस्थितिमा भएको नोक्सान बिमाले बेहोर्छ’ कडरियाले भने ‘असिना, पानी, बाढी, खडेरी, वर्षा, पहिरोबाट हुने क्षतिलाई यसले समेट्छ ।’ बिमा गर्ने किसानको बालीमा पूर्ण क्षति भएमा लागतको ९० प्रतिशत रकम पाउने व्यवस्था गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्कीले व्यावसायिक युवा लक्षित तरकारीमा दिने अनुदानमा भने कृषि विमालाई अनिवार्य गर्ने अधिकृत कडरियाले बताए । पछिल्लो पटक लक्षित तरकारी कार्यक्रममा ६० जनाले अनुदान प्राप्त गर्दैछन् । मंगलबार परेको असिनापानीले तरकारी तथा अन्नवालीमा क्षती पु¥याएपछि भने किसानले बिमाप्रति चासो देखाएको कार्यालयले जनाएको छ ।

कर्मचारीलाई नै छैन कृषि विमा सम्वन्धि जानकारी

जिल्ला कृषि विकास कार्यालयका कर्मचारीलाई नै कृषि विमा कसरी गर्ने, यसको प्रक्रियाहरु केके हुन्छन् र यसबाट हुने फाइदाको विषयमा जानकारी छैन । किसानलाई विमा गर्नका लागि अभिप्रेरित गर्नुपर्ने कार्यालयका कर्मचारीलाई यस सम्वन्धि ज्ञान नहुँदा रनभुल्लममा छन् । कृषि विमा गर्नका लागि स्थलगत लागत अवलोकन गरी कार्यालयले सिफारिस गर्नुपर्छ । किसानलाई कर्मचारीले बुझाउन नसक्दा समस्या भएको वागवानी अधिकृत कडरियाको भनाई छ ।
‘सरकारले कृषि विमाको कार्यक्रम ल्याएको भएपनि कृषि कार्यालय तथा सेवाकेन्द्रहरुका कतिपय कर्मचारीलाई विमा सम्वन्धिको जानकारी छैन’ कडरियाले भने ‘कर्मचारीलाई नै ज्ञान छैन भने किसान विमा तर्फ कसरी आकर्षित हुन्छन् ।’ सरकारले विमा नीति ल्याएपनि सचेतनात्मक कार्यक्रम नल्याएको उनले बताए । कर्मचारीलाई सचेत गराउनका लागि छिट्टै विमा सम्वन्धि जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिने कार्यालयले जनाएको छ ।

यस्तो छ कृषि बिमाको प्रक्रिया ?

व्यावसायिक रूपमा गरेको खेतीको बिमा गर्न कृषकले जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्नुपर्छ । कास्कीका किसानले कृषि विमाका लागि आधा रोपनी जमिनमा व्यावसायिक खेती गरेको हुनुपर्छ ।  प्याष्टिक घरका गरेको तरकारीमा भने संख्याको आधारमा विमा हुने जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ । बिमा गर्न कृषि कार्यालयमा जानकारी गराएपछि जिल्ला कृषि कार्यालय र बिमा कम्पनीका प्राविधिकले कृषकको सहभागितामा बाली लगाएको क्षेत्रको अवलोकन गर्छन् ।

रोग, कीराको प्रकोप नलागेको, मेहनत र परिश्रम गरी स्वस्थ बाली उत्पादनको तयारी गरिएको पाइएमा बिमाका लागि स्वीकृति प्रदान गरिन्छ। बिमाका लागि लागत मूल्यको हिसाब गरेर प्रिमियम रकम तोकिन्छ । यसरी तोकिएको प्रिमियम रकमको ७५ प्रतिशत सरकारले तथा २५ प्रतिशत रकम किसानले बिमा कम्पनीलाई बुझाउनुपर्छ । यसरी गरिएको बिमा एक बाली उत्पादन हुने समयसम्मलाई मान्य हुन्छ ।

Comments are closed.