केन्द्रीय समितिको बैठक बोलाउने तयारीमा एमाले

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार नेताहरुबीच चैत १ गते बैठक बोलाउँदा उपयुक्त हुने सुझावहरु आएपनि अध्यक्ष र महासचिवबीच छलफल गरेर समय र मिति टुङ्गो लगाउने तयारी भएको छ ।
त्यसका लागि छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ११ बजे महासचिव ईश्वर पोखरेल लगायतका आफु पक्षीय नेताहरुलाई बालुुवाटार बोलाएका छन् ।उपमहासचिव विष्णु पौडेलले शुक्रबार शीर्ष नेताबीच छलफल भएपछि बैठकको टुङ्गो लाग्ने बताए । ‘आज छलफल हुँदैछ । त्यसपछि थाहा होला’, पौडेलको भनाइ छ ।गत २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएसँगै विकसित राजनीतिक घट्नाक्रमहरुका बारेमा छलफल गर्न एमालेको माधव नेपाल पक्षले अविलम्ब बैठकको माग गरेपनि अध्यक्ष ओलीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थियो ।बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले ब्युँतिएपछि पनि ओली र नेपाल पक्षका नेताहरुबीच संवाद हुन सकेको छैन । नेपाल पक्षले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरी अध्यक्ष ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

Comments are closed.