केपी ओली पार्टीमा गुटबन्दीका सुरुवातकर्ता हुन् ः खनाल

काठमाडौँ—नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेर पार्टीमा गुटबन्दीको सुरुवातकर्ता भएको बताएका छन् । बुधबार खनाल–नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले मदन भण्डारी फाउण्डेशन गठन गरेर ओलीले गुटको सुरुवात गरेको बताएका हुन् । एमालेको खनाल–नेपाल समूहले बुधबार आयोजना गरेको आफू पक्षीय कार्यकर्ता भेलाका सहभागी । ओलीका कारण पार्टीभित्र विधि,पद्धति मिचिनुका साथै पार्टीमा वैचारिक र सैद्धान्तिक काम शून्य भएको उनको भनाइ छ । ’ओलीले पार्टीमा निरंकुशता,पार्टीलाई बेवास्ता गर्ने, विधि पद्धति मिच्ने काम गरे,’ नेता खनालले भने,’ ओली सरकार गठन भएको यत्रो ३ वर्षसम्म पार्टीका कुनै सरसल्लाह र नीतिहरु प्रतिविम्बित हुन सकेनन् । ’
३ वटा बजेटहरु ल्याउँदा पनि पार्टीका नीति र स्रोतहरु प्रतिविम्बित हुन नसकेको नेता खनालले दाबी गरे । उनले भने,’ ओली जी एकलौटी ढंगले अघि बढ्नुभयो । कृषि र भूमि क्रान्ति गर्नुपर्ने कुराहरु हामीले निर्वाचन घोषणा पत्रहरुमा प्रतिबद्धता जनाएका थियौं तर बजेटमा आएनन्,घोषणा भएका कुराहरु लागू भएनन् ।’ओली सरकारले पार्टीका विचार र धारणा लागू गराउन नसकेको उनले दाबी गरे । भ्रष्टाचारलाई संरक्षण र देशलाई अग्रगतिसँग ओली सरकारले लैजान नसकेको उनले बताए ।दक्षिणपन्थी अवसरावदीतर्फ ओलीको सरकार गएको उनको भनाइ छ । ।

Comments are closed.