मंगलबार बिहानैदेखि साथीहरुसँग पोखराको लेकसाईडमा थिएँ । खाना खाएर सबैजना कोठामा आराम गरिरहेका थियौं । केही साथीहरु मोबाईलमा फेसबुक चलाउँदै थिए । म खाटमा बसिरहेको थिएँ ।एक्कासी भित्तामा झुण्ड्याईएका सामान हल्लिए जस्तो लाग्यो । हल्लिएको महसुस हुने बित्तिकै ज¥याकजुरुक्क उठिहालेँ । म आत्तिएर उठेपछि, अरु साथीहरु पनि चिच्याउँदै बाहिर निस्किन खोजे ।
हामी घरको तेश्रो तलामा थियौं । हत्तपत्त बाहिर निस्किहाल्न मिल्ने ठाउँ थिएन । घर हल्लिन थालेपछि मैले केही सोच्नै सकिन । दुई तला मुनीको आँगनलाई निकै सानो दूरी जस्तो देख्न थालेँ ।फ्याट्ट बाहिर निस्किहाल्न सक्ने अरु कुनै विकल्प पनि थिएन । बाहिर निस्कन दुईवटा भ¥याङ्ग पार गरेर आँगनसम्म पुग्नुपथ्र्यो । त्यो एकदमै गाह्रो काम लाग्यो मलाई । मन एकदमै आत्तिएकाले कोठाबाट निस्किनेबित्तिकै दुई तला मुनीको दूरीलाई आँगन र पिँढीको खड्केरीजस्तै सम्झेँ ।
साथीहरु तल दगुर्दै थिए । म भने रेलिङ्गमा चढेर ह्वात्तै हाम फाल्न पुगेछु । माथीबाट हेर्दा आँगन निकै नजिकै जस्तो लागेको थियो । भुईंमा बेस्सरी बजारिएँ । त्यसअघि मैले के गर्दैछु, भन्ने केही थाहा पाएको थिईन, मनमा धेरै डर भएपछि त्यस्तो हुँदो रहेछ ।भुईंमा पछारिएपछि मात्रै म खसेँ जस्तो लाग्यो । हत्तपत्त उठ्न खोजेँ । ढाड र खुट्टा दुख्न थालिसकेको थियो । बल्लतल्ल उभिएर यसो पाईला चाल्न खोजेको खुट्टाले धानेन, थचक्क भुईंमा बसेँ । त्यतिन्जेलसम्म माथी भएका साथीहरु तल झरिसकेका थिए ।
सबैलाई आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्ता थियो । उनीहरु घरको आँगन कटेर बाहिर गएपछि पछाडी फर्किए । देब्रे खुट्टामा एकदमै पीडा भैरहेको थियो । दुई हातले च्याप्प समातेर केहीबेर रन्थनिँदै त्यही बसिरहेँ । वरपरका मानिसहरु पनि सबै चिच्याउँदै बाहिर निस्किसकेका थिए ।भुईंचालोले हल्लाउन छाडिसकेको थियो । एकजना दाईले मलाई बोकेर बाटोसम्म ल्याउनुभयो । मैले हिँड्न नसक्ने बताएपछि उहाँले नै ट्याक्सी खोजेर मेट्रोसिटी अस्पताल पुर्याउनुभयो । त्यहाँ घाईते भन्दा नर्स र डाक्टर नै बढी आत्तिएका थिए । बिरामी भएकालाई भित्रै छाडेर उनीहरु बाहिर बाहिर दौडिरहेका थिए ।
त्यहाँ उपचार हुने छाँटकाँट देखेपछि दाईले मलाई यहाँ (गण्डकी मेडिकल कलेज) मा ल्याउनुभयो । जाँच गरेपछि थाहा भयो, देब्रे खुट्टा भाँचिएको रहेछ । उपचारपछि अहिले अलि दुख्न छाडेको छ । बरु बैशाख १२ गतेको भूकम्पमा बाहिर हिँडिरहेको थिएँ, केही जस्तो लागेको थिएन । फेसबुक र टिभीमा समाचार हेर्दा मात्रै मन एकदमै अमिलो भएर आयो ।
देशेभैर भूकम्पले तहसनहस पारेको सुनेपछि, सानातिना धक्का आउँदा पनि एकदमै डर लाग्न थाल्यो । यत्तिकै बसिरहेको बेलामा पनि भुईं हल्लिएजस्तो लाग्न थाल्थ्यो । त्यही डर मनमा बाँकी नै थियो, मंगलबार ठूलो भूकम्पले एक्कासी हल्लिएपछि छतबाट हामफाल्दा खुट्टा भाँचियो । हुन त हाम नफालेको भए पनि केही हुने रहेनछ । आत्तिएर हाम फाल्दा यस्तो हुन पुग्यो ।
(बैशाख २९ गते मङ्गलबार गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि दुई तला माथीबाट हामफाल्दा घाईते भएका पर्वतको चित्रे गाविसका २४ बर्षीय दिपक सुनारसँग गरिएको कुराकानीमा आधारित ।) प्रस्तुतीः नवराज ढुङ्गाना
Comments are closed.