काठमाडौं, ८ भदौ : सोमबार भएको प्रहरी उच्च अधिकारीको हत्याको घटनाबाट आक्रोशित भएका टिकापुरका पहाडी समुदायका स्थानीयले कैलाली क्षेत्र नम्बर १ का सभासद् जनक चौधरीको घरमा आगजनी गरेका छन् ।
चौधरीको घरमा आन्दोलनकारीले लगाएको आगो सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । चौधरीको घरमा कर्फ्यूको उल्लंभन गर्दै प्रदर्शनकारीले आगजनी गरेका हुन् । यस्तै थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि आगजनी गरेका छन् । यस्तै धनसिंहपुर ४ र टीकापुरको बनगाउँका केही घरहरुमा पनि प्रदर्शनकारीहरुले आगजनि गरेका छन् । आगजनीमा संलग्न प्रदर्शनकारीको समूहलाई तितरवितर पार्न प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।
कैलालीमा कफ्र्यू, टिकापुरमा कर्फयू उल्लंघन
स्थानीय प्रशासनले कैलालीका ३ वटा नगरपालिका क्षेत्रमा मंगलबार बिहानदेखि कर्फयू आदेश जारी गरेको छ । हिंसात्मक प्रदर्शनमा उत्रेका थरुहट आन्दोलनकारीहरुले प्रहरीहरुको हत्या गरेपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन जिल्ल प्रशासन कार्यालयले कर्फयू आदेश जारी गरेको हो । सोमबार टिकापुरमा भएको हिंसापछि कैलालीको जनजीवन त्रसित बनेको छ ।
धनगढी र अत्तरिया नगरपालिकामा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कर्फयू आदेश जारी भएको हो । टिकापुरमा भने सोमबार साँझदेखि अनिश्चितकालका लागि कर्फयू आदेश जारी भएको छ । कैलालीलाई दंगाग्रस्त जिल्ला घोषणा गरी टिकापुरमा सेना परिचालन गरिएको छ ।
टिकापुरमा जारी कर्फयू आदेश स्थानीयले उल्लंघन गर्दै टिकापुरमा मंगलबार बिहान जुलुस र नाराबाजी गरेका छन् । आन्दोलनमा थरुहट कार्यकर्ता भने देखिएका छैनन् । स्थानीयहरुले हिंसामा संलग्नहरुमाथि कारवाही गर्नुपर्ने मागगर्दै प्रदर्शन गरेका हुन् ।
चारजना पक्राऊ
कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै चार जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले चारजना पक्राउ परेको पुष्टि गरे पनि परिचय भने खुलाएको छैन ।
टीकापुर प्रहरीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेकाले परिचय गोप्य राखिएको जनाएको छ । सोमबार टीकापुरमा भएको झडपमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । झडपमा ५० भन्दा बढी घाइते भएका छन् । झडपमा मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउने क्रम जारी छ ।
टीकापुर घटनापछि सुरक्षा प्रमुख हेरफेर
कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालयले सेती अञ्चल प्रहरी प्रमुखमा एसएसपी दिनेश अमात्यलाई पठाएको छ । सोमबार कैलालीको टीकापुरमा भएको घटनामा ज्यान गुमाएका एसएसपी लक्षमण न्यौपानको ठाउँमा अमात्यलाई पठाइएको हो । उनी मंगलबार नै हेलिकप्टर मार्फत कार्यस्थल पुगिसकेका छन् ।
यसैगरी कार्यालयले सुदुरपश्चिम प्रहरी प्रमुखमा डिआइजी माधव नेपाललाई पठाएको छ । उनलाई रामकुमार खनालको ठाउँमा सुदुरपश्चिम खटाइएको प्रहरीले जनाएको छ । खनाललाई हेडक्वाटर तानिएको छ ।
यस्तै सशस्त्रको क्षेत्रीय कार्यालय प्रमुख डिआइजी खडानन्द चौधरीको ठाउँमा डिआइजी सुरज श्रेष्ठलाई पठाइएको छ।
सोमबार वरिष्ठ प्रहरी उपरीक्षकसहितका सात सुरक्षाकर्मी र एक बालक आन्दोलनकारीको आक्रमणमा मारिएका थिए ।
गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई काठमाडौं फिर्ता बोलाइएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट सोमबार कैलालीको टीकापुरमा भएको घटनामा शान्ति, सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाइएको हो।
उनको ठाउँमा क्षेत्रीय प्रशासन कार्यालय, मध्यामाञ्चल विकास क्षेत्र, हेटौंडाका सह-सचिव मोहन चापागाईंलाई पठाइँदै छ ।
सोमबार कैलाली र कञ्चनपुर सहितको बेग्लै थरुहट/थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालीका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच दिउँसो झडप भएको थियो । झडपमा प्रहरी वरिष्ठ उपरीक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो ।
प्रदर्शनकारीले वरिष्ठ प्रहरी उपरीक्षक सहितको टोलीलाई खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका थिए ।
कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिका-२ मनुवा गाउ नजिकै दिउँसो अढाइ बजे तिर भएको घटनामा परि मृत्यु हुने हुनेहरुमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेका छन ।
यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षीय बालक टेकबहादुर साउद समेत छन् ।
Comments are closed.