कोरोनाको कहरको बिचमा जिफानले तमु लघु चलचित्रहरु निर्माण गर्ने

पोखरा हटलाईन

पोखरा, १८ असार

कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व नै संकटमा रहेको बेला गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले तमु लघु चलचित्रहरु निर्माण गर्ने भएको छ। सबैको मनभित्र गुरुङका साथ क्रियाशील एवम रजत जयन्ती वर्ष मनाईरहेको अवस्थामा कोरोनाको महामारीले अत्यन्तै प्रभावित पारेको बिषम परिस्थितीमा पनि गुरुङ चलचित्र क्षेत्रलाई चलायमान गर्न कोरोना भाईरस पछि अन्य देशको अभ्यासहरुलाई अध्ययन गरी विकल्पका रुपमा तमु लघु चलचित्रहरु निर्माण गर्ने भएको हो।

जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र महासचिव मनोज गुरुङले प्रेस विज्ञप्ति जारी गर्नुहुदै गुरुङ चलचित्र क्षेत्रलाई क्रियाशिल बनाई राख्ने प्रयासका निम्ती लघु चलचित्र निर्माणको पहल शुरुवात गरेको भन्दै व्यक्ति व्यक्तित्व र संघ संस्थाहरुलाई आर्थिक सहयोगको निम्ति आग्रह गर्नुभएको छ।

तमु (गुरुङ) लघु चलचित्र निर्माणले गुरुङ समुदायको सभ्यता,सौन्दर्य शास्त्र,मुर्त अमुर्त सँस्कृति,आफ्नै प्रथाजानिक कानुन,मुल्य,मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै तमु(गुरुङ) संघ संस्थाहरुको मर्मलाई प्रस्तुत गरिने, गुरुङ श्रमजिवी चलचित्रकर्मीहरुलाई कोरोनाको कारणले दैनिकी जीविकोपार्जनमा समस्या परेकाहरुलाई लघु चलचित्र निर्माणको माध्यमबाट सक्रिय गराई सहजीकरण गर्ने तथा यसै क्षेत्रमा निरन्तर क्रियाशिल रहन प्रेरित गर्ने, गुरुङ चलचित्रको २५ वर्र्षे इतिहासभित्र बनेका गुरुङ चलचित्रहरुको पुनरावलोकन गर्दै अब बन्ने चलचित्रहरुको शैली तथा कथा लेखनमा रचनात्मक सुधार गरि मौलिकता खोज्ने,समुदायमा मात्र सिमित गुरुङ चलचित्रको दायरा फराकिलो पार्न स्वदेश तथा बिदेशमा तमु चलचित्रहरुको महोत्सब गर्ने उद्धेश्य रहेको जिफानका अध्यक्ष भोजबहादुर गुरुङले बताउनुभयो।

गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान) २०६५ सालमा पोखरामा स्थापना भएको हो भने २०५२ सालमा रोधी साँस्कृतिक समुहबाट निर्माण गरिएको चलचित्र पातें पहिलो गुरुङ चलचित्र भएको आधारमा रजत जयन्ती वर्ष अर्थात २०७७ सालसम्म आईपुग्दा १४४ वटा चलचित्रहरु निर्माण भएको जिफानले जनाएको छ।

रजत जयन्ती वर्षमा चलचित्रकर्मीहरु उत्साहित भईरहेको अवस्थामा कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व फिल्मी बक्स अफिस नै शुन्य बनाईदिदा गुरुङ चलचित्र पनि अत्यन्तै प्रभावित बनेको महासचिव मनोज गुरुङले बताउनुभयो।

नेपालमा २०७६ साल चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा पश्चात गुरुङ चलचित्र क्षेत्रका लगानीकर्तालाई करिब १ करोड ५० लाखको व्यापार प्रभावित बनाएको र ३ सय जना गुरुङ चलचित्रकर्मीहरु बेरोजगार बन्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यसैेले सामान्य अवस्थासम्म आइपुग्ने अवस्थासम्म गुरुङ चलचित्रकर्मीहरु पनि केही न केही रोजगारीको अवस्था सिर्जनाका साथै गुरुङ चलचित्रलाई चलायामान बनाउन जिफान क्रियाशील रहेको कास्की आवाजलाई अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

Comments are closed.