अमृत सुवेदी/ पोखरा १३ साउन
कुनै व्यक्तिले सम्वन्धित क्षेत्रमा मरिमरि काम गर्ने तर त्यसको आम्दानी कामै नगरिकन अर्को व्यक्तिले पनि लिन्छ भने त्यसलाई के भन्ने ? पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा त्यस्तै भएको छ । ल्याव तथा भिडियो एक्स–रे मा काम गर्ने व्यक्तिले पाउने जोखिम भत्तामासमेत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले हक जमाउँदै आएका छन् । सरकारले अस्पतालको जोखिमयुक्त क्षेत्रमा काम गर्ने कर्मचारी तथा त्यो टिमलाई जोखिम भत्ताको रुपमा आम्दानीको साँढे १२ प्रतिशत लिन पाउने व्यवस्था गरेको छ । तर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने त्यसभन्दा बाहिरका व्यक्तिले पनि उक्त भत्ता लिने गरेको पाइएको हो ।
‘जसले काम गर्छ, उ र उसको टिमले उक्त भत्ता पाउने हो’ नाम नबताउने सर्तमा अस्पतालका एक डाक्टरले भने ‘तर मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठ लगायतले कामै नगरि कमिसन खाइरहेका छन् । श्रेष्ठको कार्यकाल भन्दा पहिले यो भत्ता अरुले लिएका थिएनन् । उनैले आफ्नो कार्यकालदेखि मेडिकल सुपरिटेन्डेन्टले पनि उक्त भत्ता पाउने नियम बसालेका हुन् । नाम नबताउने सर्तमा एक कर्मचारीले भने ‘जोखिम मोलेर काम गर्ने एउटा र कमिसनको हिस्सा दाबी गर्ने अर्को, यो कसरी न्याय हुन्छ ?’ यससम्वन्धि कताकती गुनासो आएको भएपनि त्यससम्वन्धि आफुलाई डिटेल जानकारी नभएको प्याथोलोजिष्ट डुक बहादुर क्षेत्रीले बताए । ‘कहाँ कहाँ कसरी जान्छ भन्ने मलाई डिटेल जानकारी छैन’ क्षेत्रीले भने ‘लेखामा पहिलेदेखि नै कमिसन जान्थ्यो, ल्याव तथा भिडियो एक्से–रे गर्नेले पनि पाउँथे, अरुको व्यवस्था के छ मलाई थाहा भएन ।’
क्षेत्रीय अस्पताल, पोखरामा एकपछि अर्को कमिसनका खेलहरु सार्वजनिक भैरहेका छन् । अस्पतालले हरेक क्षेत्रमा दिने सेवा वापत आएको शुल्कबाट धेरैले कमिसन लिने गरेको कर्मचारीहरु नै बताउँछन् । कमिसनकै कारण अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नुपर्ने निर्णयलाईसमेत आलेटाले गरिरहेको क्षेत्रीय अस्पतालमा साना कर्मचारीदेखि मेडिकल सुपरिटेन्डेन्टसम्मले कमिसन खाइरहेका छन् ।
‘नन प्राक्टिसिङ भत्ता तथा विस्तारित अस्पताल सेवा कार्यक्रमसम्बन्धी कार्यविधि २०७१’ मा उनीहरूको अतिरिक्त आम्दानीका लागि अस्पतालभित्रै विस्तारित सेवा सञ्चालन गर्न दिने सुविधा दिएर निजीमा काम गर्न नदिने व्यवस्था छ । तर, क्षेत्रीय अस्पताल पोखरामा भने निजी अस्पताल खालेका तथा आफैं नियम बसालेर पनि कमिसन खाईरहेका छन् । अस्पताल विकास समिति र प्रशासनले वैठक नै बसेर दिनको २ बजेसम्म एक्स–रे गर्ने, त्यस समयमा ८० जना सम्मको भिडियो एक्स–रे बाट उठेको रकम अस्पताललाई प्रदान गर्ने र २ बजे पछाडी उठेको रकम अस्पताल प्रशासन र डाक्टरहरुले मिलेर कमिसन खाने नियम बनाएका हुन् ।
प्याथोलोजी र रेडियोलोजीको विस्तारित सेवा कै नाममा कुल आम्दानीको शुल्क वापतको रकमबाट कमिसन लिन पाउने भएपनि दुई बजेसम्म सेवा दिनुपर्छ । सुपरिटेन्डेन्ट श्रेष्ठ भन्छन् ‘हामीले २ बजे भन्दा पछाडी दिएको सेवा बापतको शुल्कबाट कमिशन खाने हो । त्यसलाई सरकारले नै व्यवस्था गरेको छ ।’ तर, उनीहरुले कमिसन धेरै आउने भएपछि १ बजे भित्रै ८० जनाको संख्या सकेर त्यसपछि कमाउने धन्दामा लाग्ने गरेका छन् । खासमा दुई बजेसम्म सेवा दिनुपर्छ यति जना भन्ने तोक्न नपाईने एक डाक्टरले बताए । एभरेजमा यतिजनासम्म गर्न सकिन्छ भन्ने सल्लाह गरेर बढीमा ८० जनाको एक्स–रे गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
क्षेत्रीय अस्पतालमा व्यापक कमिसन तथा भष्ट्राचारसमेत हुनसक्ने समाचार बाहिर आउन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराले पनि निगरानी बढाएको छ । ‘हामीले अस्पतालमा धेरै गुनासाहरु आउन थालेपछि निगरानी बढाएका छौं’ प्रवक्ता नरेन्द्र भट्टराईले भने ‘हामीले यस सम्वन्धि पनि अनुसन्धान थाल्नेछौं ।’
Comments are closed.