खत्रीले पाए शिरोमणि पुरस्कार

पोखरा, २२ कार्तिक
पोखरेली युवा साँस्कृतिक परिवारद्धारा स्थापित शिरोमणि पुरस्कार २०७२ बाट मूर्तिकार ओम खत्री शनिबार पोखरामा सम्मानित भएका छन् । कलाकार दुर्गा बरालले नगद रु १५ हजारसहित ताम्रपत्र, कवि तीर्थ श्रेष्ठले दोसल्ला र परिवारका अध्यक्ष सुरेश रानाभाटले माला लगाई पुरस्कृत व्यक्तित्व खत्रीलाई सम्मान गरेका थिए ।

12208759_475466785958682_1760742941153850855_n
वरिष्ठ कलाकार दुर्गा बरालले ललितकलाको मूर्तिकला विधा अरु कलाभन्दा लामो समयसम्म टिक्ने भएकाले पनि यसको रचनाविधान जटिल भएको बताए । खत्रीकै पहलमा पोखराको कोमागाने पार्कमा बनाइएका मूर्तिकलालाई राज्यले समयमै संरक्षण गर्न पनि आग्रह गरे ।
कवि तीर्थ श्रेष्ठले मूर्तिकार ओम खत्रीको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै बाग्लुङमा जन्मेर काठमाडौ, दिल्ली हुँदै अन्तर्राष्ट्रिय तहमा नेपाली मूर्तिकलालाई स्थापित गराएकोमा सरहाना गरे । जापानको नोयोगा शहरको केन्द्रमा रहेको २४ फिट अग्लो मूर्ति खत्रीले २ महिनामा बनाइ आफ्नो प्रतिभाको आलोक विश्वस्तरमा पुया¥उनुले नै उनको परिचय बनेको बताए ।

पुरस्कार अर्पण तथा सम्मान समारोहमा वरिष्ठ कलाकार बुद्धि गुरुङ, सिर्जनशील कलाकार समूहका अध्यक्ष विश्वराज पराजुली, सुरेश रानाभाट, दीपक समीप र अर्जुन अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।  राष्ट्रकवि माधव घिमिरेको गीति नाटक मालती मंगले पोखरामा प्रदर्शन गरेर उठेको रकमबाट अक्षयकोष स्थापना गरी ४० को दशकदेखि शिरोमणि पुरस्कार संस्थाले प्रदान गर्दै आएको छ ।

यस अघि शिरोमणि पुरस्कारबाट वाङमयिक क्षेत्रमा क्रियाशील स्रष्टा मुक्तिनाथ शर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरुभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा र अमृत गुरुङ सम्मानित भइसकेका छन् ।

नेपाली ललितकलाको मूर्तिकलालाई विश्वस्तरसम्म फैलाउने खत्रीलाई प्रतिभाका रुपमा छनौट गर्न वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष सुरेश रानाभाट र सचिव अर्जुन अधिकारीको समिति गठन गरिएको थियो ।

क्यानडामा गठन भई इटलीमा प्रधान कार्यालयको अन्तर्राष्ट्रिय मूर्तिकारहरुको संस्था ए.आइ.इ.एस.एमका खत्री प्रबन्धक समेत रहेका छन् । गल्कोट हटिया ४ बाग्लुङमा जन्मेका खत्रीले मूर्तिकलामा त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातक र दिल्ली विश्वविद्यालयबाट भारतबाट प्रथम श्रेणीमा प्रथम भइ स्नातकोत्तर तहसम्मको औपचारिक कला शिक्षा लिएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व मूर्तिकला विभाग प्रमुख, त्रिभुवन विश्वविद्यालय मूर्तिकला विभागका विषय समति सदस्य समकालीन नेपाली मूर्तिकला संघ आरम्भका अध्यक्ष खत्रीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दर्जनौ पटक कला प्रदर्शनी गरेका छन् भने ३५ औं राष्ट्रिय कला प्रदर्शनी २०६० मा प्रथम, अरनीको युवा कला पुरस्कार स्वर्ण पदक सहित र दिल्ली विश्वविद्यालय भारतबाट मूर्तिकलामा सवोकृष्ट पदकबाट सम्मानित भइसकेका छन् ।

Comments are closed.