पोखरामा खाना पकाउने ग्याँस अभाव,

पोखरा, ३ पुस। जिल्ला बजार अनुगमन समिति कास्कीले बिहीबार पोखराका केही एलपी ग्याँस डिपो र खुद्रा पसलमा अनुगमन गरेको छ। बजारमा ग्याँसको कृत्रिम अभाव भएको र बढी मूल्य तिर्नु परेको सर्वसाधारणको गुनासो बढेपछि अनुगमन गरिएको हो। समितिले बजारमा ग्याँसको स्टक हेर्न, कृत्रिम अभावको वास्तविकता बुझ्न र बिक्री–वितरणमा कालोबजारी हुन नदिन अनुगमन गरिएको जनाएको छ।

k2.items.cache.2c1370609f1db866006ccaaeebc03e55_Lnsp_310अनुगमनका क्रममा सर्वसाधारणलाई ग्याँस सिलिण्डरसहित किन्न बाध्य बनाइएको, बढी मूल्य लिइएको, खाद्यान्न वा अन्य सामग्री किने मात्र ग्याँस दिइएको पाइएको छ। केही स्थानीयले बढी मूल्य तिर्नु परेको बिलसहित समितिमा उजुरी गरेका थिए।

समितिले बिहीबार अनुगमनका क्रममा न्यू दीप निशान गिफ्ट एण्ड किचन कर्नर, चिप्लेढुंगालाई तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीका उपस्थित हुने व्यहोराको पुर्जी काटेको छ। यस्तै, स्याङ्जा सापकोटा किराना पसल, पृथ्वीचोकलाई दर्तासम्बन्धी कागजातसहित उपस्थित हुन पुर्जी काटिएको छ।

अनुगमनमा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, घरेलु तथा साना उद्योग कार्यालय, कास्कीका अधिकृत रामप्रसाद गौतम, नापतौल तथा गुणस्तर कार्यालयका शाखा अधिकृत भुवन दवाडी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि खाद्य निरीक्षक शिवजी बराल सहभागी थिए। उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कोइरालाले बिहीबारबाट एलपी ग्याँसको अनुगमन सुरु भएको र यसलाई निरन्तरता दिइने जानकारी दिए।

Comments are closed.