नवराज ढुङ्गाना| पोखरा, ४ पुस
पर्वत चित्रेकी १७ बर्षीय कमला (नाम परिवर्तन) जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालबालिका सेवा केन्द्रमा भेटिईन् । १५ बर्षकै कलिलो उमेरमा कास्कीको धम्पुसका एक युवकसँग बसेको प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेको अहिले डेढ बर्ष बितिसकेको छ । विवाहपूर्व सँगै जिउने र सँगै मर्ने कसम खाएर घर भित्र्याएका श्रीमानले विभिन्न वहाना बनाएर उनलाई कुटपिट गर्न थालेपछि, गतबर्ष नै कमलाले जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी थिईन् । त्यही उजुरीको छिनोफानो भैनसकेकाले बेला बेलामा उनी प्रहरी कार्यालय आएर समस्या कसरी समाधान गर्ने भनेर महिला प्रहरीसित छलफल गरिरहन्छिन् ।
प्रेमबाट झाँगिएको सम्बन्ध विवाहमा परिणत भएपनि जसका लागि भनेर अर्काको घर गएको हो उसैले दिनहुँ कुटपिट गर्न थालेपछि, उनलाई त्यस घरमा हिंसा सहेर बसिरहनु उचित लागेन । “श्रीमान र सासुले साह्रै नै गरेपछि, घर छाड्न त सक्थेँ होला ।” उनी भन्छिन् –“तर पेटमा भएको बच्चाका कारण उतिबेलै घर छाडेर कहिँ हिँडिहाल्ने आँट नै आएन ।”
कहिले दाईजो नल्याएको त कहिले काम नगरेको भन्दै कुटपिट गर्ने श्रीमान र सासुले उनको गर्भपतन गराउन समेत दवाव दिएका थिए । “बरु सडकमा बसेर पालिन्छु तर बच्चा फाल्दिन” भनेर माईतीमा गएर बस्न थालेकी उनले गाउँकै केही व्यक्तिको सल्लाहमा न्याय पाउने आशमा पोखरासम्म आएर उजुरी दिईन् । सम्बन्ध बिच्छेदका लागि उजुरी दिएपनि श्रीमान विदेश गएकाले उनको मुद्धा लम्बिरहेको छ ।
महिलाको समस्या महिलाले नै बुझ्नुपर्ने भएपनि सासुले नै बुहारीको समस्या नबुझिदिँदा झनै हिंसाको शिकार बन्नुपरेको उनी बताउँछिन् । बरु प्रहरी कार्यालयमा स्थापना भएको महिला तथा बालबालिका सेवा केन्द्रका महिलाहरुले समस्या समाधानका लागि धेरै सहयोग गरेको उनको भनाई छ ।
“घर परिवारकै महिलाले म माथी परेको समस्या बुझिदिएनन्, बरु उल्टै कुटपिट गरे ।” उनले भनिन् –“प्रहरी कार्यालयमा आएपछि, यहाँका महिला प्रहरीहरु आफ्नै दिदि बहिनी जस्तै लाग्यो ।” पुरुष प्रहरीसँग महिलाका सानातिना समस्या खुलेर गर्न नसकिने भएपनि सेलमा सबै महिला नै भएकाले आफ्ना कुरा राख्न हिच्किचाउनु नपरेको उनको भनाई छ ।
महिलामाथी हुने हिंसा र उनीहरुलाई परेको समस्याका बारेमा खुलेर भन्न सकुन् भन्ने उद्देश्यले कास्कीमा २०५६ सालमै महिला प्रहरी मात्रै रहनेगरी महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरिएको थियो । अहिले यहि केन्द्रमार्फत् घरेलु हिंसामा परेका महिलाहरुले कमलाले जस्तै गरी महिला प्रहरीलाई खुलेर आफ्ना समस्या बताउने गरेका छन् । यसले गर्दा प्रहरीलाई अनुसन्धान गर्न र उजुरी सम्बोधन गर्न सहज भएको छ । महिलाका समस्या पुरुषले भन्दा महिलाले छिटो बुझ्ने भएकाले परामर्श र बयानका लागि सादा पोशाकमै महिला प्रहरी खटाईने गरिएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ्ग बताउँछिन् ।
कास्की प्रहरीको महिला तथा बालबालिका केन्द्रमा अहिले सबैभन्दा बढी महिलामाथी हुने घरेलु हिंसाका उजुरी पर्ने गरेका छन् । दाईजो, कुटपिट, मानाचामल, मानसिक तनाव, घर निकाला, विनाकारण श्रीमानले सम्बन्ध बिच्छेद माग्ने लगायतका उजुरी लिएर महिला मैत्री प्रहरी सेलमा पुग्ने महिलाहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।
कास्की प्रहरीको महिला मैत्री प्रहरी केन्द्रमा अहिले सबैखाले गरि दैनिक ३ देखि ९÷१० वटासम्म उजुरी पर्ने गरेका छन् । यीमध्ये सबैभन्दा बढी उजुरी महिलामाथी हुने घरेलु हिंसाका नै छन् । महिला मैत्री प्रहरी सेलमा परेका करिब ९५ प्रतिशत उजुरी महिला प्रहरीकै सक्रियतामा छलफलबाटै छिनोफानो गरिन्छ भने जटिल प्रकृतिका उजुरी छलफलबाट मिल्न नसकेमा अदालती प्रक्रियामा जान सुझाव दिने गरिएको प्रहरी नायव उपरीक्षक गिता रानाभाटले बताईन् । यो केन्द्रमा उजुरी दर्ता देखि लिएर छिनोफानो गर्ने प्रक्रियासम्मको सबै काम महिला प्रहरीले नै गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७०÷७१ मा मात्रै महिला मैत्री प्रहरी सेलमा करिब ६ सय ५० वटा उजुरी परेका छन् भने चालु आर्थिक बर्षको साउनदेखि यता ९० वटा उजुरी परिसकेका छन् । घरेलु हिंसामा परेका महिलाहरु खुल्ने क्रम बढेसँगै उनीहरुले दिने उजुरीको संख्या पनि बढ्दै गएको छ । तर महिलाहरुको समस्या समाधानका लागि पर्याप्त जनशक्ति भने छैन । महिला मैत्री प्रहरी सेलमा १० जनाको दरबन्दी भएपनि ४ जना मात्रै कार्यरत छन् ।
बढ्दो उजुरी र हिंसामा परेका महिलाहरु खुल्ने क्रम बढेसँगै महिला मैत्री प्रहरी सेललाई थप व्यवस्थित गरि जनशक्ति थप गर्न सकिए पीडितले पनि छोटो समयमा न्याय पाउन महिला प्रहरी बताउँछन् ।
Comments are closed.