गजल प्रतिभा पुरस्कार दाहाललाई, सम्मान रावललाई

पोखरा, ५ भदौ
गजल प्रतिभा पुरस्कारबाट गजलकार जनार्दन दाहाल र गजल प्रतिभा सम्मानबाट गजलकार ललिजन रावल सम्मानित भएका छन् । गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको पुरस्कार यस पटक दाहाललाई र सम्मान रावललाई प्रदान गरेको हो । सम्मानित वरिष्ठ गजलकार रावलले पुरस्कृत गजलकार दाहाललाई पुरस्कार हस्तान्तरण गरे ।
झापामा जन्मेर डेढ दशकदेखि तनहुँमा रही नेपाली गजलको विकास र लेखनमा योगदान पु¥याएको भन्दै दाहाललाई पुरस्कार प्रदान गरिएको हो । यस्तै, नेपाली गजलको पुनर्जागरण कालका एक अभियन्ताका रुपमा स्थापित गजलकार रावल पुनर्जागरण कालको पहिलो गजलसङ्ग्रह ‘केही गीत, केही गजल’ प्रकाशन गर्ने गजलकार समेत हुन् । उनका ‘विरानो यो ठाउँमा’, ‘सिरानीमा आँसु’, ‘एउटा बन्द खाम’लगायत गजलसङ्ग्रह तथा ‘यस पटक पनि’ कवितासङ्ग्रह प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार लगायतबाट सम्मानित अछामका गजलकार रावल हाल रेडियो नेपालमा कार्यरत हन् ।11231201_866491360098835_4545713359902221908_n

पश्चिमाञ्चलबाट नेपाली गजलमा पु¥याएको योगदानको कदर गर्दै प्रत्येक बर्ष प्रतिभा पुरस्कार र नेपाली गजलको विकासमा महत्वपूर्ण योगदान पु¥याएका मध्यबाट प्रतिभा सम्मान प्रदान गरिँदै आएको सन्ध्याका सल्लाहकार तथा श्रष्टा छनोट समिति संयोजक दीपक समिपले जानकारी दिए ।

पुरस्कार ग्रहणपछि बोल्दै गजलकार दाहालले पुरस्कारले आफुलाई नेपाली गजलमा अझ क्रियाशिल भएर लाग्न र स्तरियता बढाउनका लागि हौशला बढाएको बताए ।

सम्मानित गजलकार रावलले नेपाली कुनैपनि विधामा सबै रचना उत्कृष्ठ नहुने भन्दै नेपाली गजलमा पनि एउटा भेल आएको र त्यो भेलमा नराम्रो पनि आएको बताए । भेलमा जस्ता गजल पनि आउनसक्ने भन्दै उत्कृष्ट गजल चाँही बाँचिरहने उनको भनाई छ । परिमार्जित नेपाली गजल भन्दै नियमलाई भने तोड्न नहुने उनले बताए ।

पुरस्कृत गजलकारको परिचय दिँदै सन्ध्याका सल्लाहकार रुपिन्द्र प्रभावीले दाहाल यस क्षेत्रबाट गजलको विकासमा महत्वपूर्ण योगदान पु¥याएका तर चर्चामा कम आएका गजलकार भएको बताए । हाल शुक्ला साहित्य सङ्गम, दुलेगौँडा, तनहुँका अध्यक्ष रहेका गजलकार दाहालका ‘मधुरिमा’ गजलसङ्ग्रह र ‘कविको मृत्यु’ कवितासङ्ग्रह प्रकाशित रहेको उनले जानकारी दिए ।

यसैगरी सम्मानित गजलको परिचय दिँदै सन्ध्याका सल्लाहकार ईश्वरमणी अधिकारीले गजलकार रावलको नाम नै परिचय बनिसकेको बताए । नेपाली गजलको पूनर्जागरणका एक अभियान्ता रावलहरुले नै खनेको राजमार्गमा अहिले अन्य गजलकारहरु हिडिरहेको उनले बताए । ‘विरानो यो ठाउँमा’, ‘सिरानीमा आँसु’, ‘एउटा बन्द खाम’लगायत गजलसङ्ग्रह तथा ‘यस पटक पनि’ कवितासङ्ग्रह प्रकाशित रहेको उनले जानकारी दिए ।

सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार शेषमणी आचार्य, आनन्द श्रेष्ठ, मन क्षेत्री, लक्ष्मण थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । उपाध्यक्ष अमृत सुवेदीले स्वागत र सहसचिव मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा १० जनालाई आजीवन सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

Comments are closed.