पोखरा, २६ साउन/ गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार यस पटक गजलकार जनार्दन दाहाललाई प्रदान गरिने भएको छ । यस्तै, गजल प्रतिभा सम्मान गजलकार ललिजन रावललाई प्रदान गरिने भएको छ ।
गजलकार दीपक समीपको संयोजकत्वमा ईश्वरमणि अधिकारी, रुपिन्द्र प्रभावी, मन क्षेत्री र उदिपराज ढुङ्गाना सदस्य तथा अध्यक्ष बिर्सना बस्नेत र सचिव आनन्द भट्टराई पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै सन्ध्याले दाहाल र रावललाई सम्मान गर्ने निर्णय गरेको हो । झापामा जन्मेर डेढ दशकदेखि तनहुँमा रही नेपाली गजलको विकास र लेखनमा योगदान पु¥याएको भन्दै दाहाललाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
हाल शुक्ला साहित्य सङ्गम, दुलेगौँडा, तनहुँका अध्यक्ष रहेका गजलकार दाहालका ‘मधुरिमा’ गजलसङ्ग्रह र ‘कविको मृत्यु’ कवितासङ्ग्रह प्रकाशित छन् । यसअघि पुरस्कारबाट रुपक वनवासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी र बाबु त्रिपाठी पुरस्कृत भैसकेका छन् ।
यस्तै, नेपाली गजलको पुनर्जागरण कालका एक अभियन्ताका रुपमा स्थापित गजलकार रावल पुनर्जागरण कालको पहिलो गजलसङ्ग्रह ‘केही गीत, केही गजल’ प्रकाशन गर्ने गजलकार समेत हुन् । उनका ‘विरानो यो ठाउँमा’, ‘सिरानीमा आँसु’, ‘एउटा बन्द खाम’लगायत गजलसङ्ग्रह तथा ‘यस पटक पनि’ कवितासङ्ग्रह प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कारलगायतबाट सम्मानित अछामका गजलकार रावल हाल रेडियो नेपालमा कार्यरत हन् ।
यो सम्मानबाट यसअघि लक्ष्मण थापा, कृष्ण उदासी, दिलिप दोषी, अनुराग अधिकारी, सरस्वती श्रेष्ठ सरु, प्रकट पगेनी शिव, आर. बी. फ्लेम, ईश्वरमणि अधिकारी र घनश्याम परिश्रमी सम्मानित भैसकेका छन् ।
पुरस्कार र सम्मान दुवै मोती जयन्तीको सन्दर्भ पारेर आगामी भदौ ५ गते शनिबार पोखरामा एक कायक्रम आयोजना गरी प्रदान गरिने सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेतले जानकारी दिईन् ।
Comments are closed.