अमी पाैडेलका दुर्इ गजल
१)
हो छोडेर जानुअघि रिसाउनु जरुरी थियो
किनकि दिललाई सम्झाउनु जरुरी थियो
माया को बदलामा मैले मुटु झिकेर दिए ,
हिसाब बराबर गरी मिलाउनु जरुरी थियो
यहि सोचेर तस्बिर आँखामा राखेकी हु ,
उसका यादहरु सब भुलाउनु जरुरी थियो
छाती भित्रैबाट यो मन चोरी भएको छ,
दुनियाँ भन्छ राम्ररी लुकाउनु जरुरी थियो
मेरो भए, एकदिन पक्का फर्केर आउनेछ,
यहि सोचेर उसलाई पठाउनु जरुरी थियो
२)
जुनदिन यी ओठबाट मौनता सकिनेछ
सम्झन्छु दुइ दिलको निकटता सकिनेछ
तस्बिरसंगै यादहरु आँशु बनेर भरियसी
आँखालाई तिम्रो आवश्यकता सकिनेछ
कहिल्यै यी आँखाहरु रोएर थाक्नेछैनन्,
बरु तिम्रो पिडा दिने क्षमता सकिनेछ
म सोच्छु याद गरिरहूँ हरेकपल तिमीलाई,
अनि बल्ल त बिर्सिने बाध्यता सकिनेछ
पखेटा काटेर पन्छी स्वतन्त्र छोडीदिएछौ
पिंजडा र आकाशमा भिन्नता सकिनेछ
-बाग्लुङ, हाल काठमाडाै
Comments are closed.