गठबन्धनको हुकुमी चुनावी तालमेल , निरास छन् तलका कार्यकर्ता


राम बहादुर जि.सी.
स्थानीय निर्वाचनको समय नजिकिदै छ, दलहरु उमेदवार छनोटमा व्यस्त छन् । उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दवाव सिर्जना गर्दैछन् । यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरु सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरु हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुमा नैरास्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरु भित्र भित्र मुर्मिरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावना भन्दा पनि मुख्य तीन ठुला नेताको जुंगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।
२०७४ को निर्वाचनबाट थला परेको कांगेसका सभापति शेर बहादुर देउवाले सोच्दै नसोचेको प्रधानमन्त्री पद परमादेशबाट किस्तीमा उपहार पाए, त्यो उपहारलाई थप ६ महिना लम्ब्याउन र यही बलमा आगामी संघीय निर्वाचन जितेर पुन प्रधानमन्त्री बन्ने गुलियो आशामा छन् र उनले जस्तो सुकै तालमेल गर्न तयार छन् । पार्टीका नेता कार्यकर्ताले गलत भयो है भन्नै हुदैन, उनले झपारी हाल्छन्, एक्लै लडेर चुनाव जितिन्छ, ओलीका अगाडि टिकिन्छ ? तिम्रो अवस्था मलाई थाहा छैन भन्छन् । २०७४ को निर्वाचनको हिसाव किताव देखाइ हाल्छन् । उनका अगाडि कसैले प्रतिवाद गर्ने अवस्था देखिदैन । आज हैन भोलीलाई उनी गठबन्धन जोगाउने ध्याउन्नमा छन् । पार्टी के हुन्छ, कार्यकर्ता के हुन्छन्, आफु के हुन्छु भन्ने पनि उनलाई चिन्ता छैन, उनी ६ महिने प्रधानमन्त्रीका लागि अरु जे सुकै त्याग्न तयार छन् ।
दोस्रो पात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो गठबन्धन जरी पनि जोगाउन उद्दत छन् । उनी अवस्था अनुसार रंग फेर्न सक्ने नेता हुन्, निर्वाचनमा र सत्ता साझेदारीमा कहाँ कसरी को संग मिल्दा फाइदा हुन्छ त्यो राम्ररी ख्याल गर्न सक्ने नेतामा गणना गर्न सकिन्छ प्रचण्डलाई । संविधान निर्माण पछि सुशिल कोइरालाको सरकार ढलाएर एमालेसंग सहकार्य गरे, एमाले सरकार ढलाएर देउवासंग सहकार्य गरे, देउवासंगै सहकार्य भैरहेको समयमा एमालेसग चुनावी तालमेल गरेर एउटै घोषणापत्रमा चुनाव लडे, पार्टी एकता गरे, एमाले कब्जा गर्न खोजे, ओलीले उनको चाल बुझेर थप चाल चलेपछि उनी फेरी गठबन्धनका नाममा आफ्नो रोटी सेक्दैछन् । राजनीतिक रुपमा उनी यतिबेला संकटमा छन् । शान्तिपूर्ण राजनीति अर्थात खुल्ला राजनीतिमा आउदाको बाघ प्रचण्ड यतिबेला बार्गेनर स्यालको भूमिकामा छन् । आफ्नै कारण दिन प्रतिदिन खुम्चिएका उनी यतिबेला गठबन्धनको नाममा आफ्नो प्रभाव बढाउने योजनामा छन् । धाक धम्की, घुर्कि के लगाएर हुन्छ उनी आफु पावरमा बसी रहने, किङ मेकर बनि रहने ध्याउन्नमा छन् । पार्टी के होला ? भोली संगठन कसरी चल्ला ? के गर्दा आगामी दिनमा सिंगो पार्टीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ भन्दा पनि उनी जहिले पनि किङ मेकर बनि रहने, यता कि उता आड लाएरै भए पनि प्रचण्ड बिना सत्ता गारो छ ? भन्ने सन्देश दिन चाहन्छन् । भलै नेकपा माओवादीको तल्लो पंक्ति बामपन्थीसंगको सहकार्यमा जोड दिन्छ तर प्रचण्ड तलको कुरा सुन्न तयार छैनन, कम्तिमा यो स्थानीय निर्वाचन उनले गठबन्धन बाहेकसंग सहकार्य गर्नै नपाउने नीति नै पास गराएका छन् ।
गठबन्धनका लागि अर्का मरिहत्ते गर्ने पात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हुन् । हेर्दा सालिन, बोल्दा सरल तर व्यवहारमा अत्यन्तै कुण्ठाग्रस्त मानसिकताका शिकारी नेपालकै कारण आज मुलुकमा अस्थिरता पैदा भएको छ । प्रचण्डलाई उनले केपी ओलीको विरुद्धमा नउचालेको भए, आफ्नै पार्टीको सरकारका विरुद्ध परमादेश गराउने योजना नबनाएको भए आज उनी हाइ हाइ हुन्थे, तर उनको कुण्ठाले त्यो सम्झेन, उनी आफु कहाँ जान्छु, के हुन्छु भन्दा पनि केपी ओली र एमालेको पत्तासाफ भएको हेर्न चाहन्छन् । जसका कारण उनले माओवादी र कांग्रेसको बीचमा पुलको काम गरीरहेका छन् । देउवा सरकार निर्माणको मुख्य सारथी भएको भन्दै धम्की, घुर्की लाएरै भए पनि विगतमा एमालेले जितेको ठाउँमा आफ्नो दावी प्रस्तुत गर्दैछन् । हाम्रो सबैभन्दा ठुलो शक्ति विद्रोह हो भन्दै उनी हैसियत नखोज्न चेतावनी दिदै हिडेका छन् । उनलाई देश, पार्टी, स्थिरता केहीसंग चासो छैन, केवल एमालेलाई साइजमा ल्याउने र खुच्चिङ गर्ने चाहना छ ।
मुख्यत यि तीन पात्रका स्वार्थले यतिबेला मुलुक अन्यौलतामा छ, अहिले जति अन्यौलता छ यिनले निर्वाचन जितेर आउदा झन अन्यौलता बढ्ने निश्चित छ । यि तीन पात्र २०५९ सालमा स्थानीय निकायलाई विघटन गर्ने कार्यका पनि प्रत्यक्ष अप्रत्यक्ष सहभागी हुन । यिनीहरुकै कारण स्थानीय निकाय भंग भएर २० वर्ष भागवण्डामा स्थानीय निकाय चल्यो, सर्वदलीय नाममा गाविस चलाउने भूमिका पनि यिनकै हो । देउवा स्थानीय निकाय भंग गरेर केन्द्रबाट शासन गर्न चाहने, प्रचण्ड स्थानीय निकाय भंग गरेर गाउँ जनसरकार चलाउने, नेपाल स्थानीय तह भंग हुदा पनि विपक्षी दलको हिसावले आन्दोलित हुन नसक्ने, सर्वदलीय संरचनामा रमाउने प्रवृतिका कारण हिजो जुन अन्यौलता सिर्जना भयो । आज फेरी यिनै तिन पात्रका कारण मुलुक अस्थिरतातर्फ जादैछ ।
वर्तमान राजनीतिका यि तीन खेलाडि हुकुमी चुनावी तालमेल गरेर फेरी अस्थिरता मच्याउने योजनामा छन् । स्थानीय स्तरमा जनताको भावनाको त कुरै नगरौ कार्यकर्ताको भावनामा समेत यिनीहरुले ध्यान दिएका छैनन् । माथिबाट निर्णय भएपछि सकियो भन्ने सन्देश यिनका आसेपासेले गर्दैछन् । गठबन्धनका नाममा स्थानीय स्वायत्ततालाई यिनीहरुले निचोर्दैछन । स्थानीय स्वायत्तता यिनको हुकुमको गुलामी बन्दैछ ।
यिनीहरुसंग मुलुक निर्माणको कुनै योजना छैन, कार्यक्रम छैन, दृष्टिकोण छैन, कसरी मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने कुरा यिनको डायरीमा छैन, यिनको डायरीमा त ७५३ पालिकामा भागवण्डा कसरी गर्ने भन्ने मात्रै छ । सरकार कसरी चलिरहेको छ, मुलुकको आर्थिक अवस्था कहाँ पुगेको छ, तरलताका कारण बैंक तथा वित्तीय संस्था र सहकारी कस्तो अवस्थामा छन्, जनतालाई महंगीले कसरी ढाड सकेको छ, यातायातमा मूल्य बढेर यात्रा कति असहज भएको छ, शिक्षामा शुल्क बढेर विद्यार्थी र अभिभावकलाई कति मर्का परेको छ यि विषयमा हुकुमी गठबन्धन बेखर छ ।
मुलुक आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुग्दा पनि यिनलाई मुलुकको चिन्ता छैन, केवल भागवण्डा यिनको मानसपटलमा छ, कसरी ओलीलाई समाप्त पार्ने भन्दा यिनको अर्को सोच नै छैन । हिजो केपी ओलीलाई सफल हुन नदिने पात्रहरु आज देउवालाई रमिते बनाउदैछन्, ओलीसंग भागवण्डा नमिलेपछि देउवा समातेकाहरु आज कांग्रेसलाई नै अनिर्णयको बन्दी बनाउदै छन् ।
चुनावमा दलहरुबीच तालमेल हुनुु नौलो कुरा होइन । तर स्थानीय आवश्कता के हो ? स्थानीय जनताको भावना के हो ? कार्यकर्ता के भन्छन् भन्ने सोचेर सम्झेर तालमेल हुने कुरा राम्रो हो । केन्द्रले के निर्देशन दिन्छ, त्यही अन्तिम हो भन्ने दलहरुको व्यवहारले अन्ततः स्थानीय तहलाई स्वतन्त्र हुन नदिने पक्का छ ।
हुकुमी चुनावी तालमेलले विशेष गरी कांग्रेस कार्यकर्तामा ठुलो असर पर्ने वाला छ, एक्लै जित्न सकिने स्थानमा समेत कांग्रेसले गठबन्धनका नाममा अरुलाई सहयोग गर्नु पर्ने वाध्यता छ । जीवनभर कांग्रेसलाई मत दिएका कार्यकर्ताहरु अमिलो मन बनाएर अन्य चिन्हमा मतदान गर्न जानु पर्ने वाध्यतामा छन् । कांग्रेस दुविधाग्रस्त मनस्थितिमा चुनावमा होमिदैछ । कांग्रेसका नेता कार्यकर्तामा चुनावप्रति खास चासो देखिएको छैन । हिजो आफैलाई सामन्तको उपाधी दिएर गाउँ निकाला गरेकाहरुको प्रचारमा गाउँमा हिड्न कांग्रेस कार्यकर्तालाई कम्ता कठिन छ, फेरी पनि वाध्यता छ, माथिबाट हुकुम बक्स भएको छ, यता उता नगर्नु हिजोको कुरा बिर्सनु ।
यो निर्वाचन गठबन्धनका लागि सजिलो छैन, गठबन्धनका नेताहरु ७५३ पालिकामा भागवण्डा गरिरहदा एमाले अध्यक्ष ओली प्राय सबै जिल्ला पुगेर नेता कार्यकर्ता र आमसमुदायसंग साक्षात्कार गरिरहेका छन् । जिल्ला जिल्लामा गठबन्धनमा रहेका दलहरु कुन पालिका कुन पार्टीलाई भनेर भाग मिलाउन व्यस्त रहदा एमालेका नेता कार्यकर्ता गाउँमा जनताका बीचमा मत माग्न पुगिसकेका छन् । हिजो ओलीको विरोध गर्ने नागरिक समाज, बौद्धिक व्यक्तित्वहरु यतिबेला हिजो ओलाीलाई गाली गरेर गलत गरेछौ भन्दै एमालेको समर्थनमा माहोल बनाउन जुटिसकेका छन् । जनतालाई छिटो आकर्षित गर्ने कलाकारहरु परमादेशको गठबन्धन फालौ, यसपाली त सूर्यमा भोट हालौ भनेर कुर्लन थालिसकेका छन् । युवा विद्यार्थी, महिलाहरु आफ्नो काम धन्दा थाँती राखेर एमाले जिताउ अभियानमा जुटी सकेका छन् । गाउँ गाउँमा बुद्धिजिवी, समाजसेवीहरु समृद्धिको सपना देख्ने ओलाीको खोजि गरीरहेका छन्, युवा विद्यार्थी र महिलाहरु एमाले जनताको साथी भन्दै टिकटकमा जुटेका छन् ।
। यस्तो अवस्थामा गठबन्धनको हुकुमी चुनावी तालमेलको खासै अर्थ छैन । स्थानीय तहको आवश्यकता भन्दा पनि माथिको ठाडो निर्देशनले अन्तत गठबन्धनलाई नै क्षति पुग्ने निश्चित छ । गठबन्ध

Comments are closed.