गण्डकी प्रदेशसभाको बैठक भोलिसम्म स्थगित

१४ वैशाख, पोखरा । सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछिमात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्तासँगै सोमबार सुरु भएको विशेष अधिवेशनमा कोरोना परीक्षण बिना बैठक चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले मंगलकार संसद बैठक अवरुद्ध गरेको थियो ।सरकारका प्रवक्ता र मन्त्री नै सहभागी भएर कार्यसूची तयार गरिएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठकमा बस्न सांसदहरुलाई आग्रह गरेका थिए । तर, एमालेका सांसदले विरोध कायम राखेपछि २० मिनेटका लागि सभामुख अधिकारीले संसद बैठक स्थगित गरे ।बैठक स्थगितपछि कार्य व्यवस्था परामर्श समितिमा छलफल थालेका दलहरुले कोरोना परीक्षणको रिपोर्ट आएपछि बुधबार दिउँसो १ बजे बस्ने गरी सहमति जुटाएका हुन् । ‘१ बजेभन्दा अगाडि नै कोरोना परीक्षण सकिसक्ने र बैठक बस्ने गरी स्थगित भएको छ,’ सभामुख अधिकारीले बताएका छन् ।

Comments are closed.