पोखरा, २७ फागुन
पोखराको गण्डकी मेडिकल कलेज टिचि· हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लिले सातौ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । बार्षिकोत्सवका अवसरमा मूल समारोह, सम्मान, दौड, मैत्रीपूर्ण खेल र सरसफाई जस्ता कार्यक्रम गर्न लागेको हो । प्रालिले फागुन २८ बुधबार विहान म्याराथन दौड प्रतियोगिता गर्ने छ । स्वास्थ्यका लागि दौड भन्ने मूल नाराका साथ पोखरा पृथ्वीचोकस्थित अस्पतालबाट शुरु हुने दौड लेखनाथ – २ रिट्ठेपानीस्थित गण्डकी मेडिकल कलेजको साइन्स ब्लकमा पुगेर टुङ्गिने छ । म्याराथनमा प्रथम हुनेलाई १५ हजार, द्वितियलाई १०, तृतियलाई पाँच हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यसैगरी, बुधबार नै बार्षिकोत्सवको मूल समारोह पनि आयोजना गरिनेछ । मूल समारोहमा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता र उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत गरिनुको साथै उत्कृष्ट काम गर्ने स्टाफ तथा चिकित्सकलाई सम्मान गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले बताए ।मेडिकल कलेजले आफ्नो वार्षिकोत्सवका अवसरमा माघ १ गतेदेखि ओपिडि सेवा, जनरल बेड चार्ज, स्त्री तथा महिला सम्वन्धी रोग, विभिन्न रोगको अपरेशन निःशुल्क प्रदान गर्दै आएको छ । सन् २००९ मा स्थापित मेडिकल कलेजले तत्कालिन समयमा तीन सय शैयाबाट उपचार सेवा संचालन गरेको थियो ।
हाल पाँच सय ४२ शैयामा संचालनहुदै आएको मेडिकल कलेजले यसैवर्षदेखि विस शैयाको आइसियू, २१ शैयाको एनआईसियू र पाँच शैयाको एसआईसियू सेवा, अत्याधुनिक ल्याब, डायालासिस, सिटि स्क्यान, भिडियो एक्सरे लगायतका सेवा प्रदान गर्दै आइरहेको अस्पताल प्रशासक कृष्णराज घिमिरेले जानकारी दिए । त्यसैगरी, मेडिकल कलेजले छिट्टै एमआरआई सेवा संचालन गर्ने पनि तयारी गरेको छ । हाल सो मेडिकल कलेजले दैनिक ६ सयभन्दा बढि विरामीलाई उपचार सेवा प्रदानगर्दै आइरहेको दावी गरिएको छ । मेडिकल कलेजले सन् २०१० देखि एम.वि.वि.एसको पठनपाठन सुरु गरेको हो । प्रत्येक बर्ष ७५ जना विद्यार्थीले एम.वि.वि.एस अध्ययन गर्दै आइरहेका छन् ।
Comments are closed.