पोखरा ३ पुस
पोखराको गण्डकी मेडीकल कलेज ग्रुपले लेखनाथमा अत्याधुनिक दन्त अस्पतालमार्फत सेवा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ४० शैयाको अत्याधुनिक र सुविधासम्पन्न अस्पतालको सेवा प्रारम्भ गरेको हो । भविष्यमा १ सय ५० शैया पु¥याउने लक्ष्यसहितको अस्पताल गण्डकी र धौलागिरीकै सबैभन्दा स्तरिय र ठूलो भएको संञ्चालक समुहले दावी गरेको छ ।
अस्पतालको विधिवत उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले नेपालमा लिएको शैक्षिक प्रमाणपत्र विदेश जाने लाईसेन्स मात्रै बन्ने गरेकोमा चिन्ता व्यक्त गरे । “विशेष गरी नर्सिङ र डेण्टल विषयको पढाईलाई बिदेश जाने हतियारमा रुपमा लिने मानशिकता नेपाली विद्यार्थीमा परेको छ । यस किसिमको मानसिकताबाट टाढा रहन सम्पूर्ण विद्यार्थीमा मेरो आग्रह छ,” थपलियाले भने ।
सात तालको शहरमा यस क्षेत्रकै उत्कृष्ट दन्त अस्पाल सुरु हुनु गौरवको विषय भएको बताउँदै उनले समग्र पोखरालाई अबको केही वर्षभित्र दक्षिण एसियामै उत्कृष्ट शहर बनाउनका लागि खुड्कीलो सावित हुने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा बढीरहेको निजी लगानीकर्ताको उपस्थितीलाई राज्यले उपलब्धीका रुपमा लिनुपर्ने उल्लेख गर्दै थपलियाले भने, ‘निजी क्षेत्र राज्यको रणनितीक साझेदार बनेको छ ।’
गण्डकी मेडीकल कलेजका सञ्चालकहरुप्रति लक्षित गर्दै थपलियाले अस्पताल र मेडीकल शिक्षा सञ्चालनकर्ताहरु व्याबसायिक र नाफामुखी भए भनेर लाग्दै आएको आरोपलाई कलेजले गलत सावित गर्न चुनौती दिए । उनले भने, “व्यावसाय गरेर कङ्गाल हुनुहोस् भन्ने मेरो मनसाय होईन तर एकैपटक करोडपति हुन नखोजी सर्वसाधारणको हितमा पनि लागेर देखाउनुहोस् ।”
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर कालु शर्माले हाल सञ्चालन भईरहेका अधिकांश अस्पतालहरु नाममा मात्रै गुणस्तरिय भएको आरोप लगाउँदै काममा पनि गुणस्तरिय सेवा प्रदान गर्ने अस्पतालका रुपमा विकसित गर्न गण्डकी मेडीकल कलेजलाई सुझाव दिए । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले लेखनाथमा अत्याधुनिक दन्त अस्पतालले सेवा सुरु गर्नु गौरवको विषय भएको उल्लेख गर्दै लेखनाथ क्षेत्रमा हुने सबै विकासका गतिविधिसँग नगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
नेपालकै उत्कृष्ट अस्पताल बन्न शुभकामना दिँदै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले एउटा मात्रै सामुदायिक अस्पताल त्यो पनि दक्ष चिकित्सक र उपकरणको अभाव झेलेको लेखनाथमा सुविधासम्पन्न अस्पताल सुरु गर्न लगानीकर्तालाई आग्रह गरे ।
कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य माधव शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली , गण्डकी मेडीकल कलेजका सञ्चालक प्रकाश लामिछाने, मणिपाल शिक्षण अस्पतालका डिन बिएम नागपाल, गण्डकी मेडीकल कलेजका प्रशासनका विएस तुली, लक्ष्मण शर्मा, डेण्टल विभाग प्रमुख डाक्टर उमेश पराजुली, मानव संसाधन विभाग प्रमुख जितेन्द्र भण्डारी लगायतले लेखनाथमा सुरु दन्त अस्पताल र विकासका अन्य गतिविधि बारे चर्चा गरेका थिए ।
Comments are closed.