“गर्ने भनेर अठोट लिएपछि गरेरै छाड्ने मेरो प्रवृत्ति हो”-अध्यक्ष उमेदवार आचार्य

पोखरा, २१ बैशाख ।

खुलेको अनुहार, मिठो मुस्कान र फुर्तिलो ज्यानसहित देवराज आचार्य यतिबेला पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा चुनावी घरदैलोमा व्यस्त छन् । उनीमा केही नयाँ गरौँ भन्ने युवा जोश छ ।

‘गर्ने भनेर अठोट लिएपछि गरेरै छाड्ने मेरो प्रवृत्ति हो । म यसै थाक्ने वाला मान्छे होईन ।’ आचार्य भन्छन्–‘आफ्नो वडालाई नेपालकै नमूना वडा बनाउने मेरो सपना हो । र, म कुनैपनि हालतमा मेरो यो सपनालाई पुरा गरेरै छाड्छु ।’

एमालेको गढ मानिने पोखरा महानगरपालिका वडा नम्बर १७ मा यो पटक काँग्रेसको तर्फबाट आचार्यले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । तर उनी आफूप्रति यति धेरै विश्वस्त छन् कि, उनले भन्छन्–‘यो पटक एमालेको गढ भत्क्यो भनेर भन्दा हुन्छ ।’ वडाबासी पनि आचार्यप्रति बढि नै आशाबादी देखिन्छन् । एउटा जोश र जाँगरले भरिएको युवाले जिते वडा पनि सबल हुने वडाबासीको आश छ ।

आचार्य भन्छन्–‘एमालेबाट निर्वाचित भएर आएका जनप्रतिनीधिहरुले यो ५ बर्षमा जनअपेक्षा अनुसार काम गर्नै सकेनन् ।’ उनी यो पटक एमालेमा आस्था राख्ने मतदाताहरुले पनि आफ्नो क्षेत्रको विकास र सम्बृद्धिका लागि आफूलाई भोट हाल्ने दाबी गर्छन् । ‘स्थानीय सरकारले हेर्नुपर्ने थुप्रै क्षेत्रहरु हुन्छन् । तर यो भन्दा अगाडि निर्वाचित भएर आएको एमालेको टोलीले त्यस्तो केही काम गरेन । त्यसैले यसपालि यहाँका एमालेका मतदाताहरुले आफ्नो दललाई भन्दा पनि केही काम गर्ने जोश र जाँगर भएको म लगाएत हाम्रो टिमलाई नै जिताउने पक्का छ ।’

त्यसो त आचार्यको अध्ययनलाई मान्ने हो भने पोखरा १७ मा काँग्रेसको राम्रो पोजिशन छ । र, यसपालि गठबन्धनमा जोडिन आईपुगेका नेकपा एकिकृत र माओबादीको मत पनि आफ्नै टिमलाई आउने भएपछि लगभग जित निकाल्न गाह«ो छैन । कुल १० हजार ६ सय १३ मतदाता रहेको वडा नम्बर १७ मा साविकका थुप्रै एमाले मतदाताहरुले यो पटक नेकपा एकिकृत समाजबादीको पक्षमा भोट हाल्ने पक्कापक्की छ । ‘यी सबै तथ्याङ्क केलाउँदा नतिजा पक्कै हाम्रो पक्षमा आउनेछ ।’

हाल पोखराको सभागृहमा अन्नपूर्ण मेशिनरी एण्ड टुल्स संचालन गर्दै आएका देवराज २० वर्ष अगाडि देखि वडास्तरको राजनीतिमा सक्रिय हुँदै आएका छन् । नेपाली काँग्रेस कास्की वडा नम्बर १७ को सचिव र अध्यक्षको रुपमा उनले काम गरिसकेका छन् । त्यस्तै सामाजिक क्रियाकलापमा पनि उनी उत्तिकै सक्रिय रहँदै आएका छन् । गुप्तेश्वर गुफा संचालक समितिको सल्लाहकारको रुपमा रहेका आचार्य छोरेपाटन माध्यामिक विद्यालयको व्यवस्थापन समितिको सदस्य समेत हुन् । स्थानीय स्तरमा हुँने विभिन्न विकासे योजनामा पनि आचार्य समितिको सँयोजकको रुपमा रहेर थुप्रै काम गरिसकेका छन् ।

हाल घरदैलोमा व्यस्त आचार्यको जोश र जाँगर फिल्डमा पनि उस्तै देखिन्छ । राजमार्ग माथिको केही अग्लो भाग होस् या मुनीको भागमा रहेका घरहरु होऊ्न्, दौडिएर पुग्छन् । हात जोडेर नमस्कार गर्छन् अनि आफ्नो पक्षमा भोट माग्छन् । उनीसँगै एउटै टिममा रहेर सदस्य पदमा उम्मेदवारी दिएका विक्रम भण्डारी, शोभा विश्वकर्मा, गोबिन्द बराल र रञ्जिता सुबेदी पनि आचार्यकै पदचाप पछ्याउँछन् ।

आचार्यले त उम्मेदवारी दिएकै पोखरा १७ मा एमालेको गढ भत्काउन भएको दाबी गर्छन् । उनको जोश र उर्जा देखेपछि मतदाताहरुले पनि भन्छन्–‘यसपाली यसले साँच्चै एमालेको गढ भत्काउने नै भयो ।’

 

 

 

Comments are closed.