‘विद्यालयभित्रको चमेना गृहको खाजाले बारम्बार पेट दुखाउदै आएको छ, स्वास्थ्यवद्र्धक नै छैन, मिठो पनि हुँदैन ।’ सामुदायिक शिक्षा सुधारका लागि फेदीखोला गाउँपालिकाले आयोजना गर्दै आएको विद्यार्थीसँग अध्यक्ष कार्यक्रमको चौथो संस्करणमा अधिकाँश विद्यार्थीको समस्या विद्यालयको चमेना गृह र स्वच्छ पिउने पानीको अभाव सम्बन्धि थियो ।
गाउँपालिकालको वडा नं. ३ मा रहेका जनप्रिय मावि, देउराली आधारभुत विद्यालय, जनमुखी आधारभुत विद्यालय, शारदा रमणीयडाँडा आधारभुत विद्यालयका विद्यार्थी र शिक्षकलाई लक्षित गरि बुधबार जनप्रिय माविमा कार्यक्रम आयोजना गरिएको थियो ।
जनप्रिय माविमा अध्ययनरत कक्षा १२ कि सृजना रानाभाट, कक्षा १० का अर्पन लामिछाने, कक्षा १० का पृथ्वी क्षेत्री, कक्षा १२ कि शर्मिला रानाभाटले चमेनागृहको व्यवस्थापन तथा गुणस्तरीयता निकै कमजोर रहेको बताए । कक्षा ९ कि छात्रा सर्मिला रानाभाटले कक्षाकोठामा डस्बिनको आवश्यकता भएको र शौचालय नजिकै भएको हुनाले अध्ययन गर्दा नाक थुनेर पढ्नुपर्ने अवस्था रहेको समस्या व्यक्त गरिन् ।
कक्षा १२ कि छात्रा रानाभाटले विद्यालयमा पर्याप्त शौचालयको व्यवस्था नहुँदा अध्ययन अध्यापनमा समस्या पैदा भएको बताइन । त्यसैगरि कक्षा ९ का छात्र विजय अधिकारीले तहगत शौचालय नहुँदा व्यवस्थापनमा समस्या आएको बताए । ‘साना कक्षा र ठूला कक्षाको शौचालय एउटै हुँदा साना विद्यार्थीले बढि फोहोर गर्दछन्, जसले गर्दा हामीलाई समस्या हुँदै आएको छ । ’ अधिकारीले भने ‘कम्तिमा आधारभुत तहको लागि छुट्टै शौचालय आवश्यक छ ।’ त्यसैगरि शिक्षक अभावले तल्लो दरबन्दीका शिक्षकले माथिल्लो कक्षालाई पढाइरहेको अवस्था उनले सुनाए ।
कक्षा ११ कि संजिता अधिकारीले इन्टरनेट भएतापनि प्रयोगमा कमी भएको र कक्षामा प्रोजेक्टरको व्यवस्था भएमा अध्ययन प्रभावकारी हुने बताइन् । कक्षा १० को अर्पन लामिछानेले नेपाली र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीलाई शिक्षकबाट समान व्यवहार नभएको बताए । अंग्रेजी माध्यमको लागि शिक्षकले बढि प्राथमिकता दिइएको उनको गुनासो रहेको थियो ।
कक्षा १० अप्सरा पोख्रेल सेनेटरी प्याडको व्यवस्थापन र वितरणमा कमजोर भएको बताइन् । कक्षा ८ का समिर रानाभाटले शिक्षकले सामान्य कुरामा कपाल लुछ्ने गरेकोले बाल मैत्री अध्यापन हुनुपर्ने माग गरे । बेञ्चमा बस्दा काँटी निस्केर कपडा च्यातिएको भन्दै फर्निचर व्यवस्थित गर्नुपर्ने उनको माग थियो ।
कक्षा ९ सृषा शर्माले छात्राहरुलाई पनि भलिबलको व्यवस्था गर्नुपर्ने, खेलको ट्रयाक सुट (ड्रेस)को माग गरिन् । विद्यालयमा लाइब्रेरी भएतापनि पाठ्यक्रमलाई सहायता पुर्याउने किताबहरु नभएको उनको भनाई थियो । देउराली आ.विमा कक्षा ३ मा अध्ययनरत सोमबहादुर मिजारले शिशु कक्षालाई पिङ, चिप्लेटीको व्यवस्था गरिदिन आग्रह गरे । जनमुखी आधारभुत विद्यालयका छात्र प्रतिक सुनारले विद्यालयमा घेराबार नहुँदा दुर्घटना हुने गरेको बताए । संगम रानाभाट कक्षा ३ शारदा रमणीय डाँडा आधारभुत विद्यालयका संगम रानाभाटले शिक्षकको उपस्थितीमा अनियमितता हुने गरेको बताए । विद्यार्थीहरुको समस्या सुनिसकेपछि गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले १४ दिनभित्र चमेना गृहमा उल्लेख्य सुधार हुन नसके उक्त चमेना गृह बन्द गर्न वडा शिक्षा समितिलाई निर्देशन दिए । साथै खानेपानीका लागि गाउँपालिकाले तत्काल बजेट विनियोजिन गरि युरोगार्ड सहितको पिउने पानी व्यवस्था गर्ने अध्यक्षले प्रतिबद्धता व्यक्त गरे । वडा नं. ३ का वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक कृष्णबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । जनप्रिय माविका प्रधानाध्यापक रामप्रसाद शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार सुनाम, मानवअधिकार निगरानी समुहका संयोजक लेखनाथ पराजुली लगायतले बोलेका थिए ।
Comments are closed.