गाेरखामा अधिकृतकै किर्ते सही गरी नक्सापास

बुधबार ११ चैत्र, गोरखा-गोरखा नगरपालिकाका कर्मचारीले कार्यकारी अधिकृतको किर्ते सही प्रयोग गरी सडक क्षेत्राधिकार नाघेर बनाइएको घरको नक्सापास गरिदिएको खुलेको छ। कार्यकारी अधिकृत चन्दा थापामगर स्वयंले मंगलबार आफ्नो किर्ते सही प्रयोग गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि कर्मचारीको बदमासी बाहिर आएको हो।

गोरखा नगरपालिका–११ की सुन्तलीमाया थापाको सडकभन्दा २५ मिटरभित्रको घरको नक्सापास गर्न किर्ते इजाजत दिइएको भेटिएको उजुरीमा उल्लेख  छ। बैंक धितोका लागि घर कायमको सिफारिस लिन सुन्तलीमाया नगरपालिका पुग्दा नक्सापास प्रमाणपत्र नक्कली फेला परेको कार्यकारी अधिकृतले थापाले बताइन्। उनले भनिन्, ‘कार्यालयको छाप, फाँटवाला र अमिनको हस्ताक्षर देखिन्छ। मेरो समेत किर्ते हस्ताक्षर गरिएको छ। छानबिनका लागि उजुरी गरेकी हुँ।’ नगरपालिकाले सडकबाट २५ मिटरभित्रको घर नक्सापास गर्न मिल्दैन।

घरधनी थापाले वर्ल्ड क्यापिटल इन्जिनियरिङ कन्सल्टेन्सीबाट घरको नक्सा बनाएको र इन्जिनियर सनोद श्रेष्ठले १५ हजार रुपैयाँ लिएर प्रमाणपत्र बनाइदिएको बताएकी छन्। ‘सनोद सरले चियापानी खाने पैसा दिए मिल्छ भनेकाले नक्सापास गराएकी हुँ,’ उनले भनिन्, ‘उहाँले सुरुमा ३० हजार रुपैयाँ मागे पनि पछि १५ हजारमा राजी हुनुभयो।’ इन्जिनियर श्रेष्ठलाई नगरपालिका कार्यालय परिसरबाहिरको चौतारामा पैसा दिएको उनले खुलाइन्। इन्जिनियर श्रेष्ठ डेढ वर्षअघि नगरपालिकाको एलजिसिडिपी कार्यक्रमअन्तर्गत काम गर्थे। श्रेष्ठले आफूले थापासँग १५ हजार लिएर नगरपालिकाका ओभरसियरलाई दिएको दाबी गरेका छन्।

गाेरखाका पत्रकार नरहरि सापकोटाले नागरिकमा लेखेका छन् -थापाको प्रमाणपत्र किर्ते फेला परेपछि खोजी गर्दा कार्यालयमा उनले पहिले पेस गरेका निवेदन, अस्थायी घरको प्रमाणपत्रसमेत नभेटिएको नगरपालिकाले जनाएको छ। कार्यालयमा रेकर्ड फाइल नै नभेटिएपछि यसमा कर्मचारीकै मिलेमतो हुन सक्ने नगरपालिका स्रोत बताउँछ। ‘कुन कर्मचारीको मिलेमतो हो भन्ने खुलेको छैन, छानबिनपछि थाहा होला,’ एक कर्मचारीले भने, ‘मिलेमतो नभए दराजभित्रको फाइल कसरी हराउँछ?’ कार्यकारी थापाले मंगलबार बिहान प्रहरीमा उजुरी हालेपछि नगरपालिकामा दिनभर यसै विषयमा बहस चलेको थियो।
प्रहरी नायब उपरीक्षक अर्जुन चन्द ठकुरीले किर्ते नक्सापाससम्बन्धी उजुरीमाथि छानबिन भइरहेको बताएका छन्। ‘छानबिन गर्दै छौँ, बुधबार कर्मचारी र घरधनी झिकाएर अनुसन्धान गछर्ौं, केही दिनमै पत्तो लाग्छ।’ घरधनी थापाले सडकक्षेत्र मिचेर बनाइएको दुईतले घर बैंकमा धितो राखेर ऋण लिन इजाजतपत्र बनाउन खोज्दा नगरपालिका कर्मचारीको किर्ते धन्दाबारे खुलासा भएको उनले बताए।

Comments are closed.