पोखरा १५ बैशाख/ गोरखाका विभिन्न गाउँमा उद्धार टोली पुग्नै सकेको छैन । पोखराबाट गोरखाका विभिन्न ठाउँमा उद्धारका लागि जान आइपुगेको हेलिकप्टर वातावरणको समस्या तथा अवतरण गर्ने ठाउँ नहुँदा सोमबार पटकपटक फर्कनुपरेको छ । बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पले ठुलो धनजनको क्षति भएको आंशका गरिएका गाविसहरुमा उद्धार टोली पुग्न नसक्दा झनै समस्या छाएको छ । ‘भयावहको स्थिती भएका ठाँउमा उद्धार हुन सकेको छैन । हामीले उद्धार गर्ने र राहत पठाउने जमर्को गरेका छौं’ पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय अधिकृत रामजीप्रसाद कोइरालाले भने, ‘ती गाविसमा थुप्रै लाशहरु र घाईते रहेको खबर आएको छ । तर, हामी पनि विवस छौं ।’ अाज पनि उद्धार गर्ने क्रम जारी छ । पञ्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलिया गाेरखाकाे पारपाक लगायतका क्षेत्रमा उद्धारका लागि हेलिकप्टरमा गएकाे बताइएकाे छ ।
बारपाकसँग सिमाना जोडिएका लाप्राक, घ्याल्चोक, सिम्जुङ, गुम्दा, केरौंजा, मान्वु, स्वाँरा, लापु, सौरपानी, काशीगाँउ गाविसमा उद्धार कार्य हुन नसकेको हो । लाप्राकमा उद्धारका लागि गएको भारतिय बायु सेनाको हेलिकप्टर अवतरण गर्न नसकेर फर्केको छ । बारपाकबाट अहिलेसम्म एक सय ११ जना घाईतेको उद्धार गरिएको थियो ।
पोखराबाट बारपाक, लाप्राक लगायतका ठाउँमा राहत सामाग्री लिएर गएको हेलिकप्टर अवतरण गर्ने ठाउँ र वातावरण ठिक नहुँदा पोखरा नै फर्किएको छ । सिम्ला र सौर्यपानीबाट लगायतका ठाउँबाट भने घाइतेलाई पोखरा ल्याइएको छ । पारपाकका लागि लगिएको राहत सामाग्री मान्द्रेमै छोडेर आउनु परेको कोइरालाले जानकारी दिए । आजपनि उद्धार कार्य जारी रहने उनले जनाए ।
१२ सय घरधुरी रहेको बारपाकमा त्यहाँ अधिकांश घर भत्केका छन् ।
कालो कुहिरो लागेको र बषार्तका कारण मौसम विग्रिएकाले हेलिकप्टरबाट उद्धारमा असहज भएको हो । हिडेर उद्धार टोली पुग्न असम्भव भएका कारण हेलिकप्टर उडाउने प्रयास भई रहेको उनले बताए । पहिरोले बाटो भत्किएकाले पैदलबाट उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न नसकेको हो । उद्धारमा भएको ढिलाई प्रति सभासद कमला पन्त र हितराज पाण्डेले पनि असन्तुष्टि जनाएका छन् । ‘पिडितहरुलाई उद्धार र राहत दिन राज्यको उपस्थिति नै हुन सकेन’, पन्तले भनिन् । ती गाविसमा सयौं मानिस घाईते र मृत्यु भएको अनुमान गरिएको छ । जिल्लाको दुई नगरपालिका र ६० वटै गाविसमा भूकम्पको असर देखिएको छ ।
गाउँको अवस्था भनिसाध्य छैन
गोरखाका अधिकांश गाउँको अवस्था भनिसाध्य छैन । धेरै जसो गाउँमा हाहाकार छ । उद्धार र घाइतेको उपचार कहिले हुन्छ भन्ने थाहा छैन । गाउँलेहरु त्राहीत्राही छन् । गाउँमा घाइतेहरुले उपचार पाएका छैनन् । विरामी हुँदै गएका छन् । सबै घरहरु भत्केपछि बारी तथा डाडाँमा पाल टाँगेर बसेका छन् । पानी पर्न थालेपछि अरु समस्या बद्दै गएको छ ।
पोखराबाट गोरखा पुगेका पत्रकार प्रकाश ढकालले भने,‘अब गाउँका मान्छेले मोटो ओपर्नुपर्ने अवस्था आइसकेको छ ।’ भएका पसल पनि भूमक्पले भत्किएपछि किनेर खाने कुरा पनि केही छैन । गोरखाको घैरुन घर भएका ढकालले भने,‘पीडितहरु बाँच्न चाहन्छन् । अझै पनि राहत र बैलैमा उद्धार भएन भने बाँचेकाको पनि ज्यान जान सक्छ ।’ मानविय क्षति नभएपनि गोरखाका धेरै गाउँको अवस्था दयनीय छ । घटना भएको तिन दिन वितिसक्यो । सरकारी अधिकारीहरुलाई खबर गर्दा सँधै बैठकमा बस्त रहेको मात्रै बताउने उनले बताए । उनले भने,‘गाउँमा कुनै पनि खाने कुरा, खानेपानी छैन । पशु चौपाया मरे । मरेका चौपायाँ कुहिन थालेपछि गन्हाउन थालेको छ । अब महामारी बढ्छ की भन्ने चिन्ता बढेको छ ।’
Comments are closed.