गोरखामा कोरोना संक्रमित गाउँ घुमे

गोरखा, २९ जेठ ।  कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर
परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुखले नतिजा
नेगेटिभ आएको बताएपछि गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका
नागरिकहरुलाई  मंगलबार घर पठाएको थियो । घर पुगेपछि उनीहरुलाई भेट्न
गाउँलेहरु उनको घर पुगे, उनीहरु आफन्त साथी भाई भेट्न भन्दै गाउँ डुल्दै
हिँडे । मंगलबार नेगेटिभ देखिएको नतिजा बुधबार पत्रकार सम्मेलनमा पोजेटिभ
देखिएपछि गाउँलेहरु ससंकित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखा नेपाल सरकार मातहतकै कार्यालय भएपनि
यसका कार्यालय प्रमुख विद्या तामाङले आफूखुशी गर्दा रोग गाउँ गाउँ पुग्न
थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । कोरोना भाइरस
संक्रमितहरुले गाउँ परिभ्रमण गरेपछि भीमसेन थापा गाउँपालिका वडा नंं १ र
५ का नागरिकहरुमा आफूहरु पनि संक्रमित हुन सक्ने भन्दै चिन्तित भएका छन्
। संक्रामक रोगसँग सम्बन्धित गोरखाका सरोकारवाला निकायहरु बजेट
व्यवस्थापनका लागि एकजुट हुनेगरे पनि रोग नियन्त्रणका लागि जिम्मेवार
बन्न भने सकेका छैनन् । जिल्लामा यस अघि १० जना आइसोलेसनमा रही उपचार
गराईरहेका छन् । थप संक्रमित चार जना मध्ये गाउँ घुम्ने २ जनालाई पनि
गोरखा अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र
पौडेलले बताए ।

Comments are closed.