महाभूकम्पको आठौं दिन शनिबार गएको भूकम्पले गोरखा जिल्लामा २५ जना पुरिएको भनेर बाहिर आएको समाचार झुठो रहेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले दावी गरेका छन् । शनिबार बिहान ११ बजेर ४० मिनेटमा गएको ४ दशमलव ९ रेक्टर स्केलको भूकम्पले गोरखाको लाप्राकमा उद्धारमा खटिएका करिब २५ जना पुरिएको खबर विभिन्न सञ्चारमाध्यममा आएको थियो । केही समूहले नचाहिँदो हल्ला फैलाउँदै मिडियाहरुमा खबर दिएको थपलियाको भनाई छ ।

“त्यो समाचार झूठो रहेछ”, थपलियाले  भने- “उद्धार टोली नै पुरिएको भन्ने खबरले झन् तनाव भयो । भूकम्पपछि भागदौड मच्चिएपनि कसैलाई केही भएको छैन ।” यसबारेमा आफुले सम्बन्धित क्षेत्रमै सम्पर्क गरेर घटना सत्य नभएको पुष्टी गरेको उनले बताएका छन् ।

खबर आए लगत्तै त्यसको पुष्टी गर्न र उद्धारका लागि पोखराबाट हेलिकोप्टर पठाउने तयारी भैरहेपनि पोखरा र आसपासमा असिनासहितको मुसलधारे बर्षा भएकाले कठिनाई भएको थियो । उनले विपदका बेला यस्ता नचाहिँदो हल्ला फैलाउनेहरुलाई भेटे तत्काल कार्वाही गर्ने चेतावनी पनि दिएका छन् ।