गोरखामा मरेको मान्छेको नाउँमा पनि राहत

गोरखाबजार, २९ जेठ
भूकम्पपीडितका लागि अस्थायी बसोबासको प्रबन्धका लागि सरकारले उपलब्ध गराएको रु १५ हजार राहत रकम पनि गोरखामा व्यापक दुरूपयोग भएको पाइएको छ । गाउँ छाडेर अन्यत्रै बसाइँ सराइ गएकाहरूको नाउँमा र मरेका मानिसको नाउँमा पनि राहत रकम बाँडेको पाइएको हो ।
महाभूकम्पको केन्द्रविन्दू बारपाक गाविसको छिमेकी घ्याच्चोक गाविस–३ का रूपसे गुरुङको भूकम्प आउनुअघि नै मृत्यु भइसकेकोमा उनको नाउँमा पनि गाउँलेले राहत सामग्री बुझेका छन् । रूपसेका आफन्त घ्याच्चोकमा बस्दैनन् ।unnamed-12
त्यस्तै, रु १५ हजार राहत वितरणमा पनि अनियमितता भएको पाइएको छ । हार्भी गाविस–९ का हीराबहादुर सापकोटा र खड्कबहादुर सापकोटाले आफूहरू छुट्टिई भिन्न भइसकेको भनी झुठो बोलेर रु १५÷१५ हजार राहत रकम बुझेका हुन् । हंशपुर, खरिबोट, छोप्राक, देउराली, मिरकोट, धुवाँकोटलगायत गाविसमा पनि राहत वितरणमा अनियमितता भएको पाइएको छ ।
घरमा एकभन्दा धेरै दाजुभाइ हुनेले छुट्टिई भिन्न भएको भन्दै राहत रकम दाबी गर्दै आएका छन् । गाविस कार्यालयमा ‘राहत पाऊँ’ भन्दै नक्कली भूकम्पपीडितले बुझाएको निवेदनको चाङ् रहेको गाविस सचिवहरू बताउँछन् । सचिवहरूका अनुसार वडास्तरीय संयोजकहरूले नक्कली भूकम्पपीडितलाई सहयोग गरेका छन् । घर नभएकालाई पनि वडा संयोजकले सिफारिस दिएर राहत लिन योग्य बनाएको पाइएको छ ।
साथै, केही गाविसमा भने जिम्मेवारी पाएका कर्मचारीले चौतारामा बसेर ध्वस्त घरधुरी सङ्ख्या अनुमान गर्ने र प्रतिवेदन जिल्ला दैवी प्रकोप उद्धार समितिमा बुझाउने गरेको भूकम्पपीडितले गुनासो गरेका छन् । गाविसका विभिन्न वडामा रहेका ध्वस्त घर प्रतिवेदनमा छुटेको पाइएको छ ।
घ्याच्चोकका वीरबहादुर घलेका अनुसार गाउँमा राहत वितरण प्रक्रिया भद्रगोल छ । “वास्तविक भूकम्पपीडितले राहत रकम पाएकै छैनन्” उनले भने “पहुँचवालाले अनेक बहाना बनाएर रकम बुझे ।” राहत वितरणको जिम्मेवारी पाएर घ्याच्चोक गएका गोरखा नगरपालिकाका कर्मचारी धु्रव घिमिरे घ्याच्चोक गाउँ पुग्नु भएको छैन । उहाँ मातहतका अन्य कर्मचारी घ्याच्चोक पुगेर राहत वितरण गरिसके । बिरामी भएकाले आफू घ्याच्चोक जान नसकेको घिमिरेले प्रतिक्रिया दिए ।
जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले नक्कली भूकम्पपीडितले राहत बुझेको प्रमाणित भए पैसा फिर्ता ल्याउने र कारबाही गर्ने बताए । “नक्कली भूकम्पपीडितले रकम बुझेको भन्ने विभिन्न ठाउँबाट गुनासो आएको छ”, उनले भने, “पुष्टि भयो भने पैसा फिर्ता लिएर कानुनअनुसार आवश्यक कारबाही गर्छौं ।”

Comments are closed.